+
+
Shares
जेनजी प्रदर्शन :

‘हामीले बच्चा गुमायौं, कुर्सीको लडाइँ किन ?’

मृतकका आफन्त समेत घटनापछि प्रधानमन्त्री कसलाई बनाउने भनेर भइरहेको विवादप्रति आक्रोशित छन् । आफ्ना प्रियजनको अन्त्येष्टि समेत नहुँदै कुर्सीको लडाइँ सुरु भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ भदौ २७ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको गोली लागेर २२ वर्षीय रसिक खतिवडाको मृत्यु भएको छ र उनका परिवारले न्याय र सहिद घोषणा माग गरेका छन्।
  • मृतकका परिवारले आफ्ना प्रियजनको अन्त्येष्टि नहुँदै प्रधानमन्त्रीको कुर्सीको लागि कुटाकुट भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
  • पीडित परिवारले आगामी दिनमा पनि शान्तिपूर्ण तरिकाले न्यायका लागि आन्दोलन जारी राख्ने र मृतकको सम्मानमा ध्यान दिन आग्रह गरेका छन्।

२७ भदौ, काठमाडौं । ‘हाम्रा बच्चाहरूको रगतमा होली खेलेर फेरि कुर्सीको लडाइँ सुरु भयो,’ एक मात्र छोरा गुमाएकी रचना खतिवडा आक्रोशित भइन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शन क्रममा प्रहरीको गोली लागेर २२ वर्षीय रसिक खतिवडाले ज्यान गुमाए । उनको शव टिचिङ अस्पतालको शवगृहमा छ । उनको शवको अन्त्येष्टी समेत गरिएको छैन ।

तर, यता प्रधानमन्त्री कसलाई बनाउने भनेर कुटाकुट नै भइरहेको छ । शोकमा रहेका मृतकका परिवारलाई सान्त्वना दिनुको सट्टा कुर्सीका लागि कुटाकुट गर्न थालेको भन्दै उनी आक्रोशित बनेकी हुन् ।

उनी जस्तै अन्य मृतकका आफन्त समेत घटनापछि प्रधानमन्त्री कसलाई बनाउने भनेर भइरहेको विवादप्रति आक्रोशित छन् । आफ्ना प्रियजनको अन्त्येष्टि समेत नहुँदै कुर्सीको लडाइँ सुरु भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।

विभिन्न समूहले आ–आफ्ना तर्फबाट प्रधानमन्त्रीका लागि नाम अघि बढाइरहेका बेला बिहीबार नेपाली सेनाको मुख्यालय अगाडि दुई समूहबीच कुटाकुट भएको थियो ।

उनीहरूले शवको अन्त्येष्टि नै भइनसक्दै सत्ता लुछाचुँडी भइरहेकाले थप पीडा दिइरहेको बताए । बिहीबार साँझ टिचिङ अस्पतालको शवगृहमा आयोजित श्रद्धाञ्जली सभामा मृतकका आफन्तहरू निकै आक्रोशित थिए ।

मृतकको सम्झनामा दिप प्रज्वलन गर्दै आफन्तहरू ।

‘कुर्सी चाहिने लिडरहरू यहाँ आउनुपर्‍यो नि, हामी हौं लिडर भनेर । उनीहरूका लिडर हाम्रा छोराछोरी हुन् । जसले ज्यान गुमाएका थिए उनीहरू हुन् खासमा लिडर । लिडर जो–जो थिए, हाम्रा बच्चाहरू मरिसके ?,’ खतिवडाले भनिन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका श्रीकृष्ण श्रेष्ठकी हजुरआमा श्रृजना श्रेष्ठले आफूहरूलाई राजनीतिमा कुनै चासो नभएको बताइन् ।  आफूहरूलाई केवल न्याय चाहिएको उनको भनाइ छ ।

आफ्ना सन्तान गुमाएपछि बाँच्नुको अर्थ नभएको भन्दै अन्तिम साससम्म न्यायका लागि लड्ने उनको अठोट छ । ‘हाम्रा सन्तान गुमाएपछि हामी बाँचेर के हुन्छ र ? हामीलाई राजनीतिमा कुनै मतलब छैन्,’ श्रृजनाले भनिन् ।

उनीहरूले आफ्ना सन्तानको पोस्टमार्टम गर्न नदिने समेत बताएका छन् । जसलाई आवश्यकता परेको छ उनीहरूलाई गर्न छुट दिइएको तर आफूहरूको सन्तानको शरीर चिर्न नदिने बताएका हुन् ।

‘हाम्रा छोराछोरीलाई गोली हानेर मारिएको दुनियाँलाई थाहा छ । कसका लागि पोस्टमार्टम गर्ने हो र ?,’ खतिवडाले भनिन् ।

आफूहरूले लिखित रूपमा आफ्ना सन्तानलाई सहिद घोषणाको माग गर्दा पनि बेवास्ता गरिएको गुनासो उनको छ । ‘हाम्रो देशका लागि सहिद भएको मान्छेले लिखित रूपमा सहिद हुनु परेन ?’ भन्दै खतिवडाले राज्यले आफ्ना नागरिकको बलिदानलाई सम्मान गर्नुपर्ने माग राखिन् ।

मृतकका आफन्तहरू बिहानदेखि रातिसम्म न्यायका लागि लागिरहेको तर कुनै पनि जेनजी लिडर तथा मिडियाले यथार्थ बुझ्न नचाहेको श्रृजनाको आरोप छ ।

‘सुरुका दिनदेखि आजको दिनसम्म हामी छौं भन्ने, अहिले हाम्रो बच्चाको नाम खोइ ?,’ श्रृजनाले प्रश्न गरिन्, ‘हस्पिटलको नाम खुलाउने मान्छेले मृतकको नाम किन खुलाएन ?’

अहिलेसम्म आफ्ना प्रियजनको शवसमेत नपाएका कतिपय परिवारको पीडा अझ कहालीलाग्दो छ ।

पीडित परिवारले आगामी दिनमा पनि शान्तिपूर्ण तरिकाले न्यायका लागि आवाज उठाउने र आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

‘अझै पनि कति बाउआमाले आफ्नो छोराछोरीको लास भेटेका छैनन् । पत्रकार र युट्युबरहरू पनि घटनाको यथार्थ बुझ्न आउनुको सट्टा राजनीतिक कुर्सीको खोसाखोसमा लागेका छन्,’ श्रृजनाले भनिन् ।

पीडित परिवारले आगामी दिनमा पनि शान्तिपूर्ण तरिकाले न्यायका लागि आवाज उठाउने र आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

उनीहरूले सहिदको नाममा राजनीति नगर्न र मृतकको सम्मानमा ध्यान दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

बानेश्वरमा गोली लागेर मृत्यु भएका नेपालगञ्जका आयुश थापाका बुबा सुशील थापाले देशका लागि छोराले गरेको बलिदानीमा आफूलाई गर्व महसुस भएको बताए । तर, सत्ताका लागि भइरहेको लडाइँमा उनले निकै आक्रोश व्यक्त गरे ।

‘एकमात्र छोरो थियो । त्यो पनि देशका लागि सहिद भयो । यसमा मलाई गर्व लागिरहेको छ । तर, छोरो जे विषयका लागि लडेर सहिद भयो, अहिले त्यही विषयका लागि लुछाचुँडी भइरहेको छ,’ थापाले भने ।

मृतकका आफन्तहरूले को नेता हुने भनेर भइरहेको लडाइँ र कुर्सीको लुछाचुँडीमा लागिरहेकाहरूलाई चेतावनी दिएका छन् । उनीहरूले जे विषयका लागि आन्दोलन गरिएको थियो, त्यो विपरीत सत्ताको खेल सुरु भएको भन्दै प्रधानमन्त्रीको कुर्सीमा बस्नेलाई समेत नछाड्ने चेतावनी दिए ।

परिवारका सदस्य गुमाउँदा भावविह्वल बनेका आफन्तहरू ।

‘हाम्रो सबै सकियो । मेरो कोख नै रित्तियो । अब कसका लागि बाँच्ने ? देश बनोस भनेर मेरो छोराले बलिदानी दियो, फेरि कुर्सीको खेल सुरु भयो,’ खतिवडाले भनिन्, ‘अब यिनीहरूलाई समेत त्यही कुर्सीमा जलाएर म पनि मर्छु ।’

भ्रष्टाचार विरोधी अभियानमा आफ्नो भाइ सहिद भएको भन्दै भोलाबहादुर विकले अब देश विकास हुनुपर्ने बताए । उनको कान्छो भाइ ३० वर्षीय सन्तोष विक पनि बानेश्वरमा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए ।

उनका श्रीमती र दुई छोराछोरी छन् । देशमा भ्रष्टाचार, अत्याचार अत्यधिक बढेको भन्दै घरबाट आन्दोलनमै जान्छु भनेर हिँडेका थिए । त्यही बेला उनलाई गोली लागेको थियो ।

‘सन्तोष देशमा व्याप्त भ्रष्टाचार, गरिबी, बेथिति अन्त्य हुनुपर्छ, त्यसका लागि हामी युवा अघि बढ्नुपर्छ भनेर हिँड्थ्यो । आखिर सहिद भयो,’ भोलाले भने, ‘फेरि पुरानै प्रवृत्ति होइन, सुधार हुनुपर्छ, देश विकास हुनुपर्छ ।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?