२४ चैत, बुटवल । रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी चन्दले बताए ।
प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको डीएसपी चन्दले जानकारी दिए ।
डीएसपी चन्दका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट पनि लागूऔषध कारोबारको आशंकामा गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया 4