News Summary
Generated by OK AI. Editorially reviewed.- मंसिर २० गते लमही सुनचाँदी पसलमा गोली प्रहार हुँदा पसल सञ्चालक घाइते भएका थिए।
- मंसिर २७ गते बिहान लमही रातोडाँडास्थित रोयल प्यालेस होटलमा पेस्तोल पड्किँदा १८ वर्षीय सिसम गौतम घाइते भएका छन्।
- एकपछि अर्को गोली काण्डले सुरक्षा चुनौति बढाएको भन्दै स्थानीय चिन्तित छन् ।
२७ मंसिर, काठमाडौं । दाङ देउखुरीको लमहीमा सुनचाँदी पसलका सञ्चालकमाथि गोली प्रहार भएको एक सातापछि होटलमा पनि गोली चलेको छ । आज शनिबार बिहान लमहीकै रातोडाँडास्थित होटलमा गोली चल्दा एक जना घाइते भएका छन् ।
रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका प्रहरीले जनाएको छ ।
गौतमको हातको औंलामा चोट लागेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
घाइते गौतमका अनुसार कोठा सफा गर्ने क्रममा एअर कन्डिसन (एसी) माथि राखिएको पेस्तोल अचानक पड्किएको थियो । त्यो पेस्तोल कसको हो र त्यहाँ किन राखिएको हो भन्ने खुलेको छैन ।
घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली सो होटलमा पुगेको थियो । पाण्डेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
यसअघि यही मंसिर २० गते लमही बजारको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले आएका व्यक्तिले पेस्तोलबाट गोली चलाउँदा पसल सञ्चालक घाइते भएका थिए ।
त्यसको एक सातापछि आज बिहान करिब ११ बजे लमहीकै होटलमा पेस्तोलबाट गोली पड्किएको हो । यसले सुरक्षा चिन्ता बढाएको एक स्थानीयले बताए ।
यही मंसिर २२ गते मात्रै लमहीबजारमा रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल होटलभित्रै मृत फेला परेका थिए ।
प्रतिक्रिया 4