+
+
Shares

नेता छिरेपछि निशानामा परेको थियो प्रहरी हेडक्वार्टर, ५०० राउन्ड फायरपछि बल्ल जोगियो

नेताहरू नक्साल छिरेको देखेपछि प्रदर्शनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको थियो । एकातर्फ नेताहरू प्रहरी हेडक्वार्टर छिर्नु, अर्कोतर्फ अन्य प्रहरी कार्यालयहरू ध्वस्त बनाइसकेकाले आन्दोलनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ कात्तिक १२ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौको जेन-जी आन्दोलनमा काठमाडौं उपत्यकाका १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
  • प्रहरी हेडक्वाटर नक्साललाई बचाउन ५ सय राउण्ड गोली चलाइएको र केही नेताहरू त्यहाँ उपस्थित रहेको छ।
  • जेनजी आन्दोलनमा देशभर ४ हजार २३ राउण्ड धातुका गोली चलेका र ९८ हजार गोली हराएको प्रतिवेदनमा उल्लेख छ।

१२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका अधिकांशजसो प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी भयो ।

तोडफोडबाट केहीमा छिटपुट क्षति भयो भने केही प्रहरी कार्यालय ध्वस्तै भए । काठमाडौं उपत्यकामा मात्रै १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) कमान्ड गर्ने रानीपोखरीस्थित एआईजी कार्यालयसमेत ध्वस्त भयो ।

उपत्यकाका अधिकांशजसो प्रहरी कार्यालय तोडफोड र आगजनी हुँदा नक्सालस्थित प्रहरी हेडक्वार्टर भने सग्लै रह्यो । तर प्रदर्शनकारीले प्रहरी हेडक्वार्टरमा आक्रमण नगरेका भने होइनन् ।

सबैभन्दा बढी निशानामा त प्रहरी हेडक्वार्टर नै बनेको थियो । आन्दोलनमा तोडफोड, आगजनी र नेताहरूमाथि आक्रमण हुन थालेपछि केही नेताहरू प्रहरी हेडक्वार्टर पुगेका थिए । सभाामुख देवराज घिमिरेदेखि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री विष्णु पौडेल, गर्भनर विश्व पौडेल, एमाले नेता शंकर पोखरेल, प्रदीप ज्ञवालीसम्म प्रहरी हेडक्वार्टर नक्साल पुगेका थिए ।

नेताहरू नक्साल छिरेको देखेपछि प्रदर्शनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको थियो । एकातर्फ नेताहरू प्रहरी हेडक्वार्टर छिर्नु अर्कोतर्फ अन्य प्रहरी कार्यालयहरू ध्वस्त बनाइसकेकाले आन्दोलनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको थियो ।

नक्साल पुगेर प्रहरी हेडक्वार्टर तोडफोडमा उत्रिएको भिड तितरबितर बनाउन मात्रै प्रहरीले ५०० राउन्ड गोली चलाएको आन्तरिक रिपोर्ट छ । प्रहरी हेडक्वार्टरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको छानबिन समितिले उपत्यकामा मात्रै २ हजार लाइभ राउन्ड (धातुका गोली) चलाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई बुझाएको उक्त प्रतिवेदनमा काठमाडौं जिल्लामा मात्रै १ हजार ८०३ राउन्ड धातुको गोली चलेको उल्लेख छ । जसमध्ये ५०० राउन्ड गोली मात्रै प्रहरी हेडक्वार्टर जोगाउन खर्च भएको प्रहरी स्रोतले बतायो ।

‘त्यतिबेला केही नेता हेडक्वार्टर भित्रै हुनुहुन्थ्यो । त्यो भएर पनि हेडक्वार्टर निशानामा पर्‍यो । आक्रोशित आन्दोलनकारीलाई तितरबितर पार्न ५०० राउन्ड गोली चलेको थियो,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसका साथै करिब २०० राउन्ड अश्रु ग्यास प्रहार भएको प्रहरीको रिपोर्ट छ । अवस्था साम्य भएपछि राति ११/१२ बजेतिर केही नेताहरू हेडक्वार्टरबाट निस्केर आफन्त र सेनाको सम्पर्कमा गएका थिए ।

त्यतिबेलाको अवस्थामा प्रहरी हेडक्वार्टर जोगाउनुलाई ठूलो सफलताको रूपमा प्रहरी हेडक्वार्टरले बुझेको छ । ‘प्रहरी हेडक्वार्टर नै जलेको अवस्थामा यसको नकारात्मक सन्देश तल्लो तहसम्म पुग्ने र प्रहरीको मनोबल उकासिन वर्षौं लाग्न सक्थ्यो । हेडक्वार्टर नै सुरक्षित नभएको अवस्थामा अरू प्रहरी कार्यालय र प्रहरी कर्मचारी कसरी सुरक्षित हुन्छन् भन्ने प्रश्न वर्षौंसम्म तेर्सिरहन्थ्यो,’ हेडक्वार्टरका एक उच्च प्रहरी अधिकृतले भने, ‘तर यो मामिलामा हामी सफल रह्यौं ।’

देशभर ४ हजार गोली चल्यो

रेग्मी नेतृत्वको समितिले घटनाको डेढ महिनापछि बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनको क्रममा ४ हजार २३ राउन्ड धातुका गोली चलेको उल्लेख छ ।

जसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा २ हजार, मधेश प्रदेशमा ६५०, कोशीमा ३००, सुदूरपश्चिममा ३०७, लुम्बिनीमा १७० राउन्ड धातुका गोली चलेको उल्लेख छ ।

यो बाहेक २ हजार ७०० रबरका गोली चलेको रिपोर्टमा उल्लेख छ । ३ हजार ब्ल्यांक राउन्ड फायर भएको रिपोर्ट रेग्मी समितिको प्रतिवेदनमा उल्लेख छ ।

देशभर ८ हजार ६०० अश्रु ग्यास चलेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीका १ हजार २०० भन्दा बढी हातहतियार र गोलीगट्ठा लुटपाट तथा हराएको अवस्थामा पनि ४ हजार २३ राउन्ड गोली चलेको रिपोर्ट रेग्मी नेतृत्वको समितिको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा कसरी गोलीको विवरण निकालियो भन्नेबारे अनलाइनखबरले समितिका एक सदस्यसँग सम्पर्क गरेको थियो ।

ती सदस्यका अनुसार प्रहरीले बोकेर फिल्डमा खटिएका हतियार चोरी तथा लुटपाट भएका छैनन् । ती अधिकृतका अनुसार जति पनि हतियार तथा गोलीगट्ठा चोरी भएका छन्, ती सबै प्रहरी कार्यालयमा स्टोर गरिएका हुन् । जसका कारण यसको हिसाब निकाल्न सहज भएको ती अधिकृत बताउँछन् ।

प्रहरीले गोली चलाउँदा सुनसरीमा २ जना र काठमाडौंमा २० जना गरी २२ जनाको ज्यान गएको थियो । अधिकांश मृतकको टाउको र छातीमा गोली लागेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा तीन प्रहरीमा मारिएका थिए ।

महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीको आक्रमणबाट मारिएका थिए ।

९८ हजार गोली हराए

आन्दोलनको क्रममा ठूलो संख्यामा प्रहरीका गोली हराएका छन् । रेग्मी नेतृत्वको समितिले ९८ हजार धातुका गोली हराएको तथा लुटिएको रिपोर्टमा उल्लेख गरेको छ ।

देशभरको विवरण संकलन गरी प्रतिवेदन तयार पारेको समितिले धातुका गोली मात्रै ९८ हजार थान हराएको उल्लेख गरेको हो । यी अधिकांश गोलीहरू प्रहरी कार्यालयमा भण्डारण गरेर राखिएका हुन् । जसमध्ये कतिपय गोली आगजनीमा परेर जलेको र केही गोलीहरू प्रदर्शनकारीले लगेको उल्लेख छ ।

‘९८ हजार राउन्ड गोली हराएका छन् । तीमध्ये कतिपय जले । कति आन्दोलनकारीले लगे भन्ने यकिन हुन सकेन,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

यसका साथै २ हजार ८०० ग्यास सेल पनि हराएको प्रतिवेदनमा उल्लेख छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?