
२८ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम गरिएको भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाएका हुन् ।
उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।’
यसलाई जनमोर्चाले लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको ठहर गरेको छ । ‘जेनजी आन्दोलनका अगुवाहरूले संसदको विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो,’ केसीले भनेका छन्, ‘उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।’
जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएको र त्यसमा उनीहरू पूरा सफल हुन नसकेको केसीले बताएका छन् । तर संसदको विघटनले उनीहरूको प्रतिगामी उद्देश्यलाई केही मद्दत पुग्ने केसीको विश्लेषण छ ।
‘त्यसकारण संसद बाहिरबाट अन्तरिम सरकारको गठन र संसदको विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नपाओस्, त्यसतर्फ गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया 4