+
+
Shares

पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाले जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनाको लगत संकलन गरी असोज १ गतेदेखि सेवा दिन थाल्ने निर्णय गरेको छ।
  • महानगरपालिकाको कार्यपालिकाले असोज १ गतेदेखि सरकारी विद्यालय सञ्चालन गर्ने र क्षति विवरण संकलन गर्ने निर्णय गरेको छ।
  • मेयर धनराज आचार्यले आफू र परिवारलाई लक्षित गरी आन्दोलनमा घर र कार्यालय जलाइएको भन्दै दोषीमाथि कारबाही माग गर्नुभएको छ।

२९ भदौ, पोखरा । जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने पोखरा महानगरपालिकाले निर्णय गरेको छ ।

५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो ।

कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले असोज १ गतेबाट सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर २५ का अध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए ।

कास्की समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन युएई पुगेका मेयर धनराज आचार्य अझै उतै रहेको र भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

‘असोज १ गतेभित्र महानगरको प्रशासनिक भवन, महाशाखा, वडा कार्यालयहरुमा पुगेको क्षति, कागजात र दस्तावेजको अवस्था र बाँकी रहेका संरचनाको विवरण संकलन गर्ने निर्णय भएको छ,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘उपयुक्त ठाउँ पहिचान गरेर सेवा प्रवाह सुचारु गर्ने पनि निर्णय भएको हो ।’

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्कीमा सबैभन्दा पहिले पोखरा महानगरपालिकाको कार्यालयबाट सरकारी संरचना तोडफोड तथा आगजनीको शृंखला सुरु भएको थियो । पोखरा सभागृहमा जम्मा भएका जेनजी आन्दोलनकर्मी कार्यालय बाहिर पुगेपछि नाराबाजी गर्दै तोडफोड सुरु गरेका थिए ।

पोखरामा लगाइएको कर्फ्यूका बाबजुद अवस्था नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मी पाखा लागेका थिए । प्रदर्शनकारीले महानगरको कार्यालय जलाएर ध्वस्त बनाएका छन् । अधिकांश वडाहरुसमेत तोडफोड र आगजनी भएका छन् ।

आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना ध्वस्त पारिएकोप्रति महानगरको कार्यपालिका बैठकले दु:ख व्यक्त गर्दै दोषीमाथि कारबाहीको मागसमेत गरेको छ ।

पोखरा नयाँबजारमा निर्माण सम्पन्न भएको वाणिज्य बैंकको भवनमा महानगरको कार्यालय प्रयोगका लागि उपलब्ध गराउन यसअघि आग्रह गर्ने कार्यपालिका बैठकमा छलफल भएको थियो । त्यो विषयमा पनि सम्बन्धित निकायसँग छलफल अगाडि बढाउने तयारी भइरहेको छ ।

के भन्छन् मेयर आचार्य ?

महानगरपालिकासँगै मेयर धनराज आचार्यको घर, उनको परिवारको सदस्यले खोलेको पोखरा इभेन्ट सेन्टर पनि आन्दोलनका क्रममा जलाइएको छ । मेयर आचार्यले शनिबार बिहान सामाजिक सञ्जालमार्फत दोषीमाथि कारबाही गर्नसमेत गरेका थिए ।

आचार्यले आफ्नो निवास आजभन्दा २० वर्षअघि निर्माण गरिएको बताएका छन् । आन्दोलन चलेको बेला पारेर  स्वार्थ बोकेर आएका घुसपैठीहरूले घर ध्वस्त पारिदिएको उनको भनाइ छ ।

‘म महानगर प्रमुख बनेपछि मैले कुनै आर्थिक लाभ लिएको छैन । मेरो नाममा आउने मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको तथ्य जगजाहेर छ,’ आचार्यले भनेका छन्, ‘म विगत ३३ वर्षदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ, मेरो जीवन पोखरेलीहरूसामु सधैं खुला किताबझैं छ ।’

तीन वर्ष महानगरको नेतृत्व गरिरहँदा कुनै अनैतिक कार्य नगरेको उनको दाबी छ । केही स्वार्थी समूहहरूले आफ्ना गलत काम नगरिदिएको कारण तथा निहीत स्वार्थका आधारमा आफू र परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने र मानसिक यातना दिने कार्य भइरहेको तथ्यप्रति सजग रहेको उनले बताएका छन् ।

‘मैले आजसम्म कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन,’ मेयर आचार्यले भनेका छन्, ‘तर, जसले यस विनाशकारी घटनाको योजना बनाए, साथ दिए वा आगजनी, तोडफोड मात्र नभई लुटपाटसम्ममा संलग्न भए, तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फत मात्र बाँचिरहन परिरहोस् भन्ने प्रार्थना गर्न सक्छ । किनकि सत्यलाई कहिल्यै दबाउन वा रोक्न सकिँदैन, सत्य सधैं सत्यकै रूपमा रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?