 
																			लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरू, तिनका नेताहरूका निजी भवनहरू जलाउने काम त भयो नै, सँगसँगै हाम्रा शताब्दीयौ पुराना सम्पदाहरू सिंहदरबार, शीतल निवास लगायतका सम्पदाहरू जलाउने खालको काम भयो । राष्ट्रको सुरक्षा अंग का रूपमा रहेको नेपाल प्रहरीका प्रायः सबै संरचनाहरू जलाउने काम भयो । केन्द्रीय कार्यालय बाहेक प्रायः सबै नेपाल प्रहरीका संरचनाहरू ध्वस्त बनाउने काम भयो ।
तपाई हामी सबैलाई थाहा छ, हामीले लामो बलिदानी पूर्ण संघर्षबाट स्थापित गरेको सिंहदरबारको अधिकार जनताका बीचमा पुर्याउने मान्यता स्वरूप बनेका स्थानीय सरकारका वडा तहसम्मका कार्यालयहरू पनि तोडफोड गरिएका छन्, आगजनी गरिएका छन्।
नेपाल सरकारले दिने सेवा प्रवाह अन्तर्गतका जिल्ला र प्रदेश तहका सबै कार्यालय अधिकांश ठाउँ ध्वस्त गरिएका छन् । आगजनी र तोडफोड गरिएका छन् ।
सबैभन्दा ठूलो कुरा त, नेपालमा भर्खरै मात्रै फस्टाउँदै गरेको एक प्रकारले आधुनिक व्यवसाय, आधुनिक होटल व्यवसाय र व्यापारका क्षेत्रमा भाटभटेनीले एउटा मानक स्थापित गरेको थियो । वास्तवमा नेपाल जस्तो मुलुकमा पनि यस प्रकारको व्यवसाय सम्भव छ भन्ने कुराको दृष्टान्त प्रस्तुत गरेको थियो । त्यति मात्रै होइन आफूले आर्जन गरेको आयलाई समाजसेवामा प्रस्तुत गर्ने एउटा दृष्टान्त प्रस्तुत गरेको व्यवसायीको व्यवसाय माथि जुन प्रकारले हमला गर्ने काम भयो, अत्यन्त दुःखद भयो ।
त्यसैगरी उद्योगी, व्यवसायीहरूका भौतिक संरचनाहरू क्षति गर्ने कामहरू, मलाई लाग्दछ नेपालको इतिहासमा यो भन्दा ज्यादा विनाशकारी दिन अहिलेसम्म घटेको थिएन । त्यस प्रकारको घटना २४ गते घट्यो ।
युवाहरूको आकांक्षा मुलुकमा सुशासन कायम होस्, सेवा प्रवाहमा प्रभावकारिता आओस्, विकासले गति लिओस् भन्ने जायज अपेक्षा थियो । हामी २०, २१ र २२ गतेका दिन पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर युवाहरूमा हुर्कंदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा लामो छलफल गरेर निर्णायक शक्ति निर्माणको २१ बुँदे कार्ययोजना हामीले तयार गरेका थियौं।
युवाहरूले धैर्यता गर्नुभएको भए नेकपा एमाले नै उहाँहरूका चाहना र आकांक्षाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका संकल्पहरू, योजनाहरू तयार गरेका थियौं।
तर बिडम्बना नै भन्नु पर्दछ- हामीले ती योजनाहरू व्यवहारमा लागु गर्न नपाउँदै मुलुकमा दुःखद घटना घट्यो।
आज राजनीतिक परिस्थिति बदलिएको छ। आज जुन हिसाबले अगाडि बढ्ने काम भएको छ, त्यसले स्वभाविक रूपमा मानिसहरूका मनमा लामो संघर्षबाट प्राप्त भएको संविधान, हामीले स्थापित गरेको समावेशी प्रणाली दुनियाँकै एउटा नमुना प्रणालीका रूपमा मान्ने गरिन्छ ।
जनता सम्प्रभु भएको र अधिकार सम्पन्न भएको संविधानलाई कमजोर बनाउने खालका प्रयत्नहरू भइरहेका छन् । युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने काम, राष्ट्रलाई कमजोर बनाउने योजनामा बदल्ने काम २४ गतेका दिन जसरी भयो, जस्ता जस्ता मान्छेहरू संलग्न भए, मलाई लाग्दछ- नवयुवाहरूले पनि त्यो विषयमा नवीनतातापूर्वक सोच्नु पर्दछ । ती तत्वहरूलाई बाहिर ल्याउने प्रयत्न गर्नु पर्दछ ।
अहिले गठन भएको सरकारले पनि दोषीहरू पहिचान गर्नु पर्दछ र उनीहरूलाई दण्डित गर्नु पर्दछ । राज्यका क्षतिग्रस्त संरचनालाई उठाउनका लागि अपराधीहरूलाई दण्डित गरेर त्यसकै जगमा पुनर्निर्माणको कामलाई अगाडि बढाउनु पर्दछ।
हाम्रो पार्टी स्वाभाविक रूपमा मुलुकमा सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचार अन्त्य गर्ने कुरामा विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढ्न खोज्दा सहयोग गर्न तयार छ। यद्यपि, यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ।
नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं । किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको, सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन । हुनु हुँदैन ।
एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिले पनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन । समाधान सधै सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन । त्यसर्थमा हामी संविधानतिर फर्कनै पर्छ । संविधानको बाटो हिंड्नै पर्दछ।
मुलुकलाई संविधान फर्काउन अबिलम्ब तोकिएकै समयमा निर्वाचन गर्नु आवश्यक छ ।
हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ। युवाहरूको भावनालाई सम्बोधन गर्न सक्षम छ। परिवर्तनको आकांक्षालाई बोक्न सक्षम छ। मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ। देशलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्नसक्षम छ।
यो देशभक्तहरूको पार्टी हो । देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन। विकासको मानक स्थापित गरेको मुलुकलाई आधुनिक विकासको युगमा नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो। त्यस अर्थमा यो पार्टी कहिले कमजोर हुँदैन।
होला, हामीले युवाहरूको आकांक्षालाई समयमै सम्बोधन गर्न सकेनौं। परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं। हाम्रा पनि केही कमजोरी हरू होलान्। तर त्यसका नाममा हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने कुरा, हाम्रो प्रशासनमाथि प्रश्न गर्ने कुरा, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने कुरा उचित र न्यायपूर्ण कुरा होइन ।
अहिले जुन हिसाबले संरचनाहरूमा तोडफोड, आर्जनी गर्ने काम हुँदा, एमालेका अधिकांश नेताका घरहरूमा किताबका लाइब्रेरीहरू थिए। त्यो पक्षले बताउँदछ- नेकपा एमाले र त्यसको नेतृत्व स्वभाविक रूपमा मुलुकको विकास र समृद्धिका सन्दर्भमा सबभन्दा इमानदार शक्ति हो।
हामी फेरि उठ्ने छौं । अझ एकताबद्ध र सशक्त भएर, अझ जनताको भावनालाई सम्बोधन गर्न सक्ने सामर्थ्यका साथ मुलुक विकास र निर्माणको यात्रामा प्रभावकारी ढंगले प्रस्तुत हुनेछ। सामर्थ्यका साथ हामी उठ्नेछौं, उठ्नुपर्दछ।
अहिले हाम्रा संरचनाहरू क्षतिग्रस्त भएको हुनाले हाम्रो पहिलो काम क्षतिग्रस्त संरचनाहरूको सरसफाई गर्ने, तिनीहरूको पुनर्निर्माण गर्ने र पार्टी कार्यलयहरूलाई व्यवस्थित गर्ने हो ।
अर्कोतर्फ राज्यका संरचनाहरूमा भइरहेको क्षतिमा राज्यका निकायसँग संयोजन गरेर स्वयंसेवी रूपमा सहयोग गर्ने पार्टीको योजना रहेको छ ।
असोज ३ गतेका दिन ऐतिहासिक संविधानसभाबाट संविधान बनेको दिन, हाम्रो पार्टीले त्यो संविधानसभाबाट संविधान बनेको दिनलाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ।
यसपटक हामी हाम्रा क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधानसभाले संविधान बनाउँदाखेरीको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं। ७७ जिल्लाका साथीहरूलाई हामीले निर्देशन गरिसकेका छौं।
काठमाडौं उपत्यकाका तहमा हामीले पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा संविधान दिवस कार्यक्रम आयोजना गर्ने छौं। त्यसमा सम्पूर्ण कमरेडलाई उपस्थितिका लागि म नम्र अनुरोध गर्न चाहन्छु ।
(सोमबार नेकपा एमालेको मुख्यालय च्यासलमा जलेको संरचना अवलोकनपछि एमाले महासचिव शंकर पोखरेलले गरेको सम्बोधन)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4