
३० भदौ, काठमाडौं । आसन्न चाडपर्व लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा दैनिक उपभोग्य वस्तु सहज आपूर्ति सुनिश्चित गर्ने र मूल्य स्थिरता कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
सोमबार मन्त्रालयका अधिकारीहरू र निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरूसँगको अन्तर्क्रियामा मन्त्रालयले उपभोक्ता अधिकार हनन गर्ने वा आपूर्ति शृङ्खलामा अवरोध पुर्याउनेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी महासंघ नेपालका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति थियो ।
बैठकले सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको क्षतिको विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण गर्ने लगायत निर्णय गरेको छ ।
हाल व्यावसायिक गतिविधि सहज बन्दै गएको, अन्तर्राष्ट्रिय सीमा नाकामा भन्सार कार्यालयहरू सुचारु भएको र देशमा ढुवानी प्रणाली सहज भएकाले आपूर्ति शृङ्खलामा सुधार आएको विषयमा निजी क्षेत्र र मन्त्रालयका पदाधिकारीहरूले विश्लेषण गरेका थिए ।
मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत देशभरि आजैदेखि कुल १ सय ५३ ठाउँमा चाडपर्व लक्षित सहुलियत (सुपथ) मूल्य पसल सञ्चालनमा ल्याइएका छन् ।
यी पसलमा दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थ अभाव नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता लगायत व्यवसायी र आम उपभोक्तालाई अत्यधिक वस्तु सञ्चित नगर्न र अनुचित मूल्यवृद्धि नगर्न अनुरोध गरेको छ ।
बजार अनुगमन क्रममा उपभोक्ता अधिकार हनन हुने वा आपूर्ति शृङ्खलामा कुनै किसिमको अवरोध सिर्जना हुने गरी कार्य भएको पाइए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
बैठकमा मन्त्रालयका सचिवहरू डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले मुलुकलाई नयाँ ढंगबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
सचिवद्वयले चाडपर्व मध्यनजर गर्दै आवश्यक खाद्यान्न लगायत सामग्री पर्याप्त मौज्दात रहेकाले कुनै अभाव नहुने जानकारी गराए । उनीहरूले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न, नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, विक्रेता लगायतलाई अनुरोध समेत गरे । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग–व्यवसाय सुचारु गर्नसमेत आह्वान गरेको छ ।
मन्त्रालयले आयात सहज गर्न कोरोला नाका खुला गरिएको तथा ती नाकाबाट ठूलो मात्रामा सामान भित्रिरहेको जानकारी गराउँदै तातोपानी नाकासमेत खुलाउन प्रयास भइरहेको जनाएको छ । साथै, दक्षिणतर्फका नाकासमेत सुचारु हुँदै गएको पनि जानकारी दिए ।
बैठकमा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले उत्पादनमूलक उद्योग, होटल तथा रिटेल चेन, साना व्यवसाय तथा उद्योगी–व्यवसायीका निजी आवास तथा भवनमा भएको आगजनी, लुटपाट तथा तोडफोडले निजी क्षेत्रलाई निराश बनाए पनि नयाँ हौसला सहित उठ्ने प्रयास गरिरहेको बताए । सरकारसँग नजिक रहेर काम गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको भन्दै सरकारले निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4