
दशकौंसम्म राजनीतिक गतिरोधमा फसेको मुलुकमा नैतिकताहीन दलीय नेतृत्वले अपारदर्शी सत्ता–सम्झौता र स्वार्थको राजनीतिलाई मलजल गर्यो। यसले समाजमा गहिरो निराशा पैदा गर्यो र यही निराशाले अन्ततः जेन जेड पुस्तालाई आन्दोलनमा उत्रन बाध्य बनायो।
प्रारम्भमा यो आन्दोलनले शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय जस्ता महत्त्वपूर्ण प्रश्न उठायो, जसले दशकौंसम्म दमन र असमानतामा दबिएको समाजमा नयाँ आशा जगायो। तर दुर्भाग्यवश- स्वार्थी शक्तिकेन्द्रहरूले यस आन्दोलनलाई छिट्टै उग्र र हिंस्रक मुद्दामा मोडिदिए। यस क्रममा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ पनि स्पष्ट देखियो, जसबाट जोगिनु आजको प्रमुख चुनौती बनेको छ।
नेतृत्वको असफलता र कमजोरी
जेन जेड आन्दोलनले दलीय नेतृत्वको असफलतालाई नाङ्गै पारिदियो। समयमै परिस्थितिको गम्भीरता आकलन गर्न नसक्दा शान्तिपूर्ण आन्दोलन हिंसा र तोडफोडमा परिणत भयो। निर्दोष युवाहरुले ज्यान गुमाए। सामाजिक सञ्जालमाथि तयारीविहीन नियन्त्रणले सूचना अवरुद्ध गर्यो, जसले गर्दा जनता वास्तविकताबाट टाढा रहे। सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीको समीक्षा अझै सतही छ, जसले घाउ पुरिन सक्दैन।
अब नेतृत्वमा बसेकाहरूले गम्भीर आत्मालोचना गर्नैपर्छ। ‘हामी कहिलेसम्म स्वार्थको खेलमा रमाइरहनेछौं?’, ‘राजनीति कहिलेसम्म पद र सुविधाको साधन मात्र हुनेछ?’ र ‘नेतृत्वमा नैतिकताको आत्मबोध किन हराएको छ?’ जस्ता प्रश्नहरुको जवाफ नखोजी राज्यको संरचना दीर्घकालीन संकटबाट मुक्त हुन सक्दैन।
घुसपैठ र स्वार्थी प्रवृत्तिको त्रास
आन्दोलनमा प्रतिगामी शक्ति, प्रतिशोधी प्रवृत्ति र अराजकतामा रमाउने समूहले घुसपैठ गरी जेन जेड आन्दोलनलाई बदनाम गराए। अबको चुनौती केवल आन्दोलनलाई पुनः शान्तिपूर्ण र रचनात्मक बनाउने मात्र नभई यस्ता घुसपैठकर्तामाथि कडा कानूनी कारबाही गरेर उनीहरूको मनमा त्रास सिर्जना गर्नु हो। नेतृत्वले दण्डहीनतालाई प्रतिशोध वा सौदाबाजीको साधन नबनाई निष्पक्षताका साथ कानूनी प्रक्रियाबाट अघि बढ्नुपर्छ।
सुरक्षाकर्मीको मनोबल र जिम्मेवारी
संकटको यो घडीमा सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण छ, तर उनीहरूको मनोबल गिरेको समाजमा शान्ति कायम हुने मुस्किल छ। उनीहरूलाई कानूनको दायरामा रहेर काम गर्ने वातावरण दिनु र राजनीतिक हस्तक्षेप कम गर्नु आवश्यक छ।
जब सुरक्षाकर्मीहरूले आफ्नो त्याग र इमानदारीलाई समाजले कदर गर्छ भन्ने महसुस गर्छन्, तब मात्र सुरक्षा संयन्त्र सुदृढ हुन्छ। घटनाहरूको पारदर्शी र निष्पक्ष अनुसन्धान भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने आधार हो।
साहसी महिला प्रधानमन्त्री र नयाँ आशा
यस आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धि भनेको एक साहसी महिला प्रधानमन्त्रीको उदय हो। उनले जनताले अझै पनि विश्वास गर्न सक्ने केही अनुहारहरु अगाडि सारेकी छन्।
यो अन्तरिम नेतृत्वले केवल सत्ता सञ्चालनमा सीमित नबसी नमूना कार्य गरी जनतालाई प्रेरणा दिनुपर्छ। यसलाई सदुपयोग गर्न सकियो भने राजनीति शुद्धीकरणको मार्ग खुल्छ, अन्यथा आन्दोलन फेरि अराजक दिशातर्फ मोडिन सक्छ।
युवामा नेतृत्वको आँट
जेन जेड आन्दोलनले एउटा ठूलो सन्देश दिएको छ— युवा केवल समर्थनकर्ता होइनन्, उनीहरू नेतृत्व गर्न सक्ने शक्ति हुन्। ‘हामी उठ्छौं’ र ‘हामी अन्याय सहँदैनौं’ भन्ने उद्घोषले युवामा आत्मविश्वास जगाएको छ। अब पार्टीहरूले युवालाई नेतृत्वमा ल्याउन ढिलाइ गर्नुहुँदैन। युवाले पनि ‘हामी नेतृत्व गर्न सक्छौं’ भन्ने आँटका साथ अघि बढ्नुपर्छ, जसले राजनीतिलाई पुरानो अनुहारको चक्रबाट मुक्त गर्न मद्दत गर्छ।
निष्कर्ष : विवेक र पुनर्गठनको बाटो
अबको समय प्रतिशोध होइन विवेक र निष्पक्षताको हो। भ्रष्टाचारमा शून्य सहिष्णुता, घुसपैठकर्तामाथि कडा कारबाही, सुरक्षाकर्मीको मनोबल वृद्धि र दलभित्र युवा नेतृत्वलाई स्थान दिनु अपरिहार्य छ।
सूचना र सञ्चार स्वतन्त्रता सुनिश्चित गर्नुका साथै राज्यका संरचनाहरूलाई सुनामीपछिको पुनर्गठन जसरी संस्थागत सुधार र पारदर्शी संयन्त्र निर्माण गर्नुपर्छ।
जेन जेड आन्दोलन केवल आक्रोश नभई एक निराश समाजको गहिरो प्रश्न हो। यो प्रश्नलाई हाइज्याक गर्ने, अराजकता भड्काउने र स्वार्थसिद्ध गर्ने तत्वलाई रोक्ने जिम्मेवारी अहिलेको नेतृत्वकै काँधमा छ। यदि यो सम्भव भयो भने जेन जेड आन्दोलनले सुरुमा बोकेका सही प्रश्नहरू इतिहासको कथा मात्र नभई भविष्यको आधार बन्न सक्छन्।
(बडाल अनेरास्ववियुका निवर्तमान अध्यक्ष हुन्।)
प्रतिक्रिया 4