१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् ।
साथै, उनले आफू निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले देउवा दम्पतीको उपचार कहाँ भइरहेको छ भन्नेबारे केही खुलाएनन् । सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन् ।
गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।
कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।
पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।
‘हामी केही समयभित्र सभापतिज्यूसँग परामर्श गर्दैछौं । सभापतिज्यूको स्वास्थ्य सुधार भइरहेको छ । म उहाँसँग फोनमा सम्पर्कमा छु,’ खड्काले भने, ‘आरजु देउवासँग पनि सम्पर्क भइरहेको छ । उहाँको पनि स्वास्थ्य सुधार भइरहेको छ ।’
खड्काका अनुसार, उनीहरूलाई थप उपचारको आवश्यकता छ ।
‘थप उपचारको आवश्यकता छ । चिकित्सकहरूले हेरिरहनुभएको छ,’ उनले बिहीबार सानेपामा भने । पार्टीमा सल्लाह गरेर थप केही कुरा बोल्ने र योजनाबद्ध तरिकाले अघि बढ्ने खड्काले बताएका छन् ।
‘हामी सरसल्लाह गरेर, पार्टीको बैठक गरेर थप केही कुरा बोल्छौं र योजनाबद्ध तरिकाले अघि बढ्छौं,’ खड्काले भने ।
प्रतिक्रिया 4