
News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपका तीन ठूला विमानस्थल—लन्डनको हीथ्रो, जर्मनीको बर्लिन र बेल्जियमको ब्रसेल्समा साइबर हमला हुँदा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए।
- कोलिन्स एयरोस्पेस कम्पनीको प्रणालीमाथि साइबर आक्रमण भएपछि १४० भन्दा बढी हीथ्रो, १०० भन्दा बढी ब्रसेल्स र ६० भन्दा बढी बर्लिनका उडान प्रभावित भए।
- अमेरिकाको डलासस्थित दुई विमानस्थलमा टेलिकम प्रणाली खराबीका कारण १८०० भन्दा बढी उडान ढिलो र सयौँ रद्द भएका छन्।
४ असोज, काठमाडौं । युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् ।
साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।
चेक–इन र बोर्डिङ प्रणाली बन्द भएपछि यात्रुहरूले म्यानुअल तरिकाले चेक–इन गर्नुपरेको थियो । यसले गर्दा सम्पूर्ण उडान तालिकामा असर परेको छ।
शनिबार दिउँसोसम्म मात्र हीथ्रो विमानस्थलमा आवत–जावत गर्ने १४० भन्दा बढी उडान ढिलो भए । ब्रसेल्समा १०० भन्दा बढी र बर्लिनमा ६० भन्दा बढी उडान प्रभावित भए ।
ब्रसेल्स विमानस्थलका अधिकारीहरूको भनाइ अनुसार शुक्रबार राति विमानस्थलको चेक–इन र बोर्डिङ प्रणालीसँग सम्बन्धित सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण भएको हो ।
हीथ्रो युरोपकै सबैभन्दा व्यस्त विमानस्थल हो। यहाँ पनि धेरै उडानहरू रद्द गर्नुपर्यो ।
ह्याकरको निसानामा कोलिन्स एयरोस्पेस प्रणाली
ह्याकरहरूले कोलिन्स एयरोस्पेस कम्पनीको प्रणालीलाई आक्रमण गरेका हुन्। यही कम्पनीले यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणालीको सुविधा उपलब्ध गराउँछ ।
कोलिन्स एयरोस्पेसको मूल कम्पनी आरटीएक्सले समस्या छिट्टै समाधान गर्ने प्रयास भइरहेको जनाएको छ। फ्र्याङ्कफर्ट र ज्युरिख जस्ता युरोपका ठूला विमानस्थल भने यस आक्रमणबाट जोगिएका छन् ।
अमेरिकामा पनि १८०० भन्दा बढी उडान ढिलो, सयौँ रद्द
अमेरिकाको डलासस्थित दुई विमानस्थलमा शुक्रबार १८०० भन्दा बढी उडान ढिलो भए। यी विमानस्थलहरूमा टेलिकम प्रणालीमा समस्या आएको थियो ।
यसका कारण फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले ग्राउन्ड स्टप आदेश जारी गर्यो । एफएएले स्थानीय टेलिकम कम्पनीका उपकरणमा खराबी आएको जनाएको छ ।
यस खराबीका कारण अमेरिकन एयरलाइन्सले २०० भन्दा बढी उडान रद्द गर्यो र ५०० भन्दा बढी ढिलो भए । साउथवेस्ट एयरलाइन्सका ११०० भन्दा बढी उडान पनि ढिलो भए ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4