जेनजीले २३ र २४ भदौमा देशभर प्रदर्शन गरे । अघिल्लो दिन शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनले २४ गते हिंसात्मक रूप लियो ।
आन्दोलनको शान्तिपूर्ण सुरुवात कसरी हिंसात्मक बन्यो ? आगामी दिन जेनजीको भूमिका कस्तो हुनुपर्छ ? यिनै विषयमा आन्दोलनका साक्षी जेनजी केपी खनालसँग अनलाइनखबरकर्मी कौशल काफ्लेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
२३ भदौ बिहान तपाईंले माइतीघरबाट आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । तर परिस्थिति ठिक उल्टो भयो । के भन्नुहुन्छ ?
२३ भदौमा हामीले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन सुरु गरेका थियौं । हाम्रो पुस्ता (जेनजी) भ्रष्टाचारको अन्त्य चाहन्थ्यो । हामीले गाउँ, समाज, वडा कार्यालयदेखि हरेक तहमा भ्रष्टाचार देखेका थियौं । एउटा सिफारिस लिन चार ठाउँ धाउनुपर्ने, हरेक काममा घुस खुवाउनुपर्ने अवस्थाले हामीमा आक्रोश थियो । हामीलाई लाग्थ्यो- हामी आफैं नेतृत्व हौं, सचेत छौं, र शान्तिपूर्ण तरिकाले यो आन्दोलनलाई अगाडि बढाउँछौं ।
सोहीअनुसार माइतीघरबाट सुरु गरेर शान्तिपूर्ण रूपमा नारा लगाउँदै, माइकिङ गर्दै हिँडिरहेका थियौं । बानेश्वर ठिकठाक नै आइपुग्यौँ । तर पछि अप्रत्यासित रूपमा धेरै मानिसहरू त्यहाँ जोडिए । सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत यो आन्दोलन आह्वान भएकाले पनि को आउने वा नआउने निश्चित थिएन । एक कान, दुई कान हुँदै मैदानसम्म पुग्यो ।
प्रशासनले पनि भिडलाई नियन्त्रण गर्न पूर्वतयारी गरेको देखिएन । एभरेस्ट होटलनजिक पुग्दा स्थिति नियन्त्रणबाहिर गयो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्न थाल्यो । त्यसपछि आन्दोलन अराजक बन्यो । मलाई लाग्छ, प्रशासनले भिड नियन्त्रणको तयारी नगरेको र हाम्रो शान्तिपूर्ण सन्देशलाई गलत बुझ्दा यस्तो अवस्था आयो ।
हामीले माइकिङ गरेर, गाडीबाट कमान्ड सम्हाल्ने कोसिस गरिरहेका थियौं । तर भिड मान्ने अवस्थामा नरहेको मैले माइतीघरमै अनुमान गरिसकेको थिएँ ।
भनेपछि माइतीघरमै स्थिति भड्किन्छ भन्ने डर तपाईंलाई थियो ?
हो, मनमा डर थियो । किनभने, आन्दोलनमा धेरै अपरिचित अनुहार थिए । सबैको साझा उद्देश्य भ्रष्टाचारको अन्त्य थियो । तर सबै समूह आआफ्नै तरिकाले नारा लगाउँदै थिए । हामीले माइकिङ गरेर शान्त रहन, संयमित हुन बारम्बार आग्रह गरिरहेका थियौं । तर भिडले सुनिरहेको थिएन ।
कतिपय समूहले अराजक नारा र पोस्टरहरू बोकेका थिए । मैले ती पोस्टर च्यातें पनि । किनकि, हाम्रो उद्देश्य कसैको चरित्र हत्या गर्नु थिएन । हामी त भ्रष्टाचारमुक्त देश बनाउन चाहन्थ्यौं ।
जब एभरेस्ट हस्पिटल नजिक पुग्यौं, प्रहरीले अगाडि नजान आग्रह गर्यो । हामी पनि ‘अगाडि नजाऔं, नियन्त्रण गरौँ’ भन्दै थियौं । तर भिडको आवेग यति थियो कि कसैको आवाज सुन्ने अवस्था नै थिएन । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्न थालेपछि स्थिति पूर्ण रूपमा नियन्त्रणबाहिर गयो ।
आन्दोलनका क्रममा तपाईंमाथि विभिन्न आरोप लागे । तपाईंका नेताहरूसँगका तस्वीर सामाजिक सञ्जालमा राखियो । आन्दोलनलाई समर्थन गरेको व्यक्तिमाथि नै जेनजीहरू खनिनुलाई कसरी हेर्नुहुन्छ ?
मेरो बारेमा गलत प्रचार भयो । टिकटकमा मेरा तस्वीरहरू राख्दै गीत बनाएर विवादमा तान्ने कोसिस भयो । व्यक्तिगत र सामाजिक रूपमा पनि मलाई धम्की आयो । मेरो व्यवसाय, घर जलाउनेसम्मका धम्की आए । मलाई यति डर लाग्यो कि सात दिनसम्म घरै गइनँ । नयाँ बानेश्वरस्थित एउटा कलेजको टेबलमा सुतें । एक हप्तासम्म लुगा फेर्न पनि पाइनँ ।
म १० वर्षदेखि सामाजिक काममा सक्रिय छु । यो क्रममा मन्त्री, मेयर, सांसदहरूसँग भेट हुन्छ । यो मेरो कामको हिस्सा हो । विभिन्न काम गर्दा सरकारमा रहेका प्रतिनिधिलाई नभेट्ने भन्ने कुरा हुँदैन । त्यही बेला खिचिएका तस्वीरलाई गलत तरिकाले प्रस्तुत गरेर मलाई राजनीतिक रूपमा जोडियो । यो मेरो सामाजिक कामलाई बदनाम गर्ने नियतले गरिएका थियो ।
म कुनै दलको पक्षमा छैन, न त कसैको विरोधमा बोलेको छु । मलाई धम्की दिनेहरू को थिए, थाहा छैन । सामाजिक सञ्जालमा एउटै खालका कमेन्टहरू बारम्बार आउँथे । मेरो घरछेउमा पनि केही मानिसहरू मलाई खोज्दै आएका थिए । यो सबैले मलाई रिस्कमा राख्यो । म यति डराएँ कि आन्दोलनको बीचमै फिल्ड छोड्नुपर्यो । मलाई शहीदहरूको उद्धार गर्न मन थियो, तर सामाजिक सञ्जालको दबाब र धम्कीले रोकिन बाध्य बनायो ।
तपाईंलाई काठमाडौँका मेयर बालेन शाहको नजिकको व्यक्ति भनिन्छ । आन्दोलनकै केही दिनअघि मात्र पोखरा घुम्न जानुभएको थियो । के यो आन्दोलनसँग उनको कुनै सम्बन्ध देखिन्थ्यो ?
मलाई लाग्दैन कि यो आन्दोलनसँग मेयर बालेन शाहको कुनै सम्बन्ध थियो । उहाँ काठमाडौँ महानगरपालिकालाई सुन्दर, हरियाली र स्वस्थ बनाउनमा केन्द्रित हुनुहुन्छ । हामीले उहाँसँग भेट्दा हरियाली, विकास, र सामाजिक कामका विषयमा मात्र कुरा हुन्छ । आन्दोलन वा राजनीतिक कुरा भएको छैन । जेनजीले उहाँसँग धेरै अपेक्षा चाहिँ राखेको हो, किनभने उहाँ भ्रष्टाचारविरुद्ध बोल्नुहुन्छ । तर यो आन्दोलनमा उहाँको प्रत्यक्ष संलग्नता भएको मैले देखिनँ ।
संयोग भनौँ, केही दिनअघि पूर्वराष्ट्रपति विद्या भण्डारी तपाईंको क्याफेमा आउनुभयो । यसले पनि युवाहरू तपाईंविरुद्ध खनिएको हो कि ?
मेराबारे सामाजिक सञ्जालमा गलत प्रचार भयो । पूर्वराष्ट्रपति विद्या भण्डारी मेरो क्याफेमा आएको विषयलाई लिएर पनि राजनीतिक मेसेज दिएको भनियो । सामाजिक काममा रहेको हुनाले मेरा कामले नै राजनीतिक व्यक्तिसँग जोडिने-भेट्ने हुन्छ । यसलाई गलत अर्थ लगाइयो ।
मलाई राजनीतिमा चासो छैन । मेरो उद्देश्य समाज सुधार र भ्रष्टाचारको अन्त्य हो । यो प्रचारले मलाई व्यक्तिगत र व्यावसायिक रूपमा असर गर्यो ।
पुराना दलका नेताहरूसँग तपाईंको सम्पर्क बाक्लै देखिन्छ । जेनजीप्रति उनीहरूको दृष्टिकोण कस्तो पाउनुहुन्थ्यो ?
पुराना नेताहरूले जेन्जीलाई गम्भीरतापूर्वक लिँदैनन् । वातावरण मन्त्रालय, वन मन्त्रालय, शहरी विकास मन्त्रालय वा नगरपालिकाहरूमा जाँदा मलाई गाह्रो हुन्थ्यो । यदि म कुनै पार्टीको व्यक्ति भएको भए सायद काम छिटो हुन्थ्यो । तर सामाजिक कार्यकर्ताको रूपमा जाँदा हलुका रूपमा लिन्थे ।
सामाजिक सञ्जालमा मेरो कामले धेरै लाइक र कमेन्ट पाउँथ्यो । त्यसैले पनि नेताहरूले मलाई ‘थ्रेट’को रूपमा लिन्थे होला । तर उनीहरूले हामीलाई अवसर दिन चाहँदैनथे । उनीहरूले नयाँपन बुझ्न सकेनन्, चाहेनन् पनि । त्यसैले त आज यो अवस्था आयो ।
दुर्गमका युवाहरू काठमाडौँको डेरामा अन्धकार जीवन जिउन बाध्य छन् । तर सत्तामा भएकाहरूका छोराछोरी भने विदेशमा रमाइलो गर्न जान्छन् । ‘नेपो बेबी’ ट्रेन्डले यो कुरालाई थप उजागर गर्यो । यसले नै जेनजी आन्दोलनलाई थप बल दिएको थियो ।
जेनजी आन्दोलनको भविष्य कस्तो देख्नुहुन्छ ? राजनीतिक रूपमा कसरी अवतरण गर्ला ?
यो आन्दोलनले ठूलो सम्भावना बोकेको छ । तर भविष्य अन्तरिम सरकारको काममा निर्भर छ । जेनजीले २४ घण्टामै सत्ता पल्टायो, जुन अप्रत्यासित थियो । तर अहिले जेनजी साथीहरू छरिएर व्यक्तिगत स्वार्थमा लागेको देखिन्छ । यसरी हाम्रो आन्दोलन कमजोर हुनसक्छ ।
अहिलेको सरकारले समयमै स्वच्छ चुनाव गराउनुपर्छ र भ्रष्टाचार छानबिन आयोग गठन गर्नुपर्छ । भ्रष्टाचारीहरूलाई कठघरामा ल्याउनुपर्छ । यदि यसो भएन भने, पुरानै नेताहरू अनुभव र शक्तिको दुरुपयोग गरेर फेरि सत्तामा आउन सक्छन् । जेनजीले अब घरबाटै परिवर्तन सुरु गर्नुपर्छ । पुरानो भोट दिने संस्कृतिलाई तोड्नुपर्छ । हामीले विदेश पलायन हुने प्रवृत्ति रोकेर कृषि र उद्योगमा क्रान्ति ल्याउनुपर्छ ।
जेनजीहरू एकजुट भएर समाज रूपान्तरणका लागि काम गर्नुपर्छ । सत्ताको लोभमा लाग्ने हो भने यो आन्दोलनको बलिदान खेर जान्छ । शहीदहरूको सपना र भ्रष्टाचारमुक्त देशको लक्ष्यलाई जोगाउन जेनजी सधैँ जाग्नुपर्छ ।
प्रतिक्रिया 4