
News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले ९ देशका नेपाली राजदूतहरूसँग भर्चुअल बैठक गरी वैदेशिक रोजगारीमा देखिएका समस्या र रणनीतिबारे छलफल गरेको छ।
- बैठकमा २३ र २४ भदौको जेनजी आन्दोलनपछि उत्पन्न अवस्थाबारे र यूएई लगायत देशमा भिसा कडाइको विषयमा छलफल भएको छ।
- यूएईमा ३ लाख ८१ हजार नेपाली छन्, तीमध्ये ३ सय ४५ जना लागूऔषध मुद्दामा जेलमा छन् र भिजिट भिसामा जानेका लागि विमानस्थलमा श्रम डेस्क पुनर्स्थापना गर्ने विषयमा छलफल भएको छ।
८ असोज, काठमाडौं । अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेको छ । पछिल्लो समय नेपालमा उत्पन्न समस्याबारे नेपाली राजदूतहरू र दूतावासका अधिकारीसँग भर्चुअल बैठक गरिएको हो ।
नेपालबाट श्रम आप्रवासन र पर्यटकीय प्रकृतिका भिसामा अन्य देश प्रस्थान गरी श्रम/रोजगारीमा संलग्न नेपालीको पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको हो ।
भर्चुचल बैठकमा ९ देशका लागि नेपाली राजदूत तथा दूतावासका अधिकारीहरूको सहभागिता थियो । बैठकमा वैदेशिक रोजगारीमा देखिएका विद्यमान समस्या, पछिल्लो अवस्था, प्रवृत्ति, यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम र अध्यागमन नियमन सम्बन्धमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति लगायत विषयमा छलफल भएको अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
बैठकमा युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुबेत, साउदी अरब, बहराइन लगायत खाडी मुलुक एवं मलेसिया र थाइल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रमसहचारी सहभागी थिए ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको प्रमुख आतिथ्यमा भएको बैठकमा गृह मन्त्रालय, श्रम मन्त्रालयका अधिकारीहरू पनि उपस्थित थिए ।
के विषयमा भयो छलफल ?
बैठकमा २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाबारे छलफल भएको थियो । प्रवक्ता ढकालका अनुसार जेनजी आन्दोलनपछि आम नागरिकको अपेक्षा अनुसार गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो ।
जेनजी आन्दोलनपछि यूएई लगायत देशले भिजिट तथा वर्किङ भिसामा कडाइ गरेको विषयमा समेत छलफल भएको थियो ।
आन्दोलनपछि वैदेशिक रोजगारीको क्षेत्रमा पार्न सक्ने प्रभाव र विदेशमा नेपालको छवि सुधार गर्न अबलम्बन गर्नुपर्ने उपायबारे छलफल भएको प्रवक्ता ढकालले बताए ।
बैठकमा राजदूतहरूले भिजिट भिसाका कारण नेपालीले भोगिरहेका समस्या, दूतावासमा कर्मचारी अभावमा सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीका विषयमा नेपाल सरकारलाई जानकारी गराएका थिए ।
वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधान गर्न जेनजी आन्दोलनको भावना र युवापुस्ताको चाहना अनुसार काम गर्न दूतावासहरूलाई अनुरोध गरिएको थियो ।
वैदेशिक रोजगारीमा अधिकांश नेपाली १८ देखि ४० वर्ष उमेर समूहका रहेकाले उनीहरूको चाहना तथा भावना अनुसार काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
त्यस्तै भिजिट भिसाका लागि गरिएका केही सरकारी नियमले नागरिकको हुर्मत लिने काम भएकाले ती व्यवस्थामा समसामयिक परिमार्जन गर्ने विषयमा समेत छलफल भएको थियो ।
श्रम आप्रवासनसँग सम्बन्धित समस्या सम्बोधन गर्न दीर्घकालीन रणनीति आवश्यक भएकाले यस कार्यमा विदेशस्थित नियोगको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यही अनुसार काम गर्न समेत अनुरोध गरिएको थियो ।
विदेशस्थित दूतावास, श्रम सहचारी र अध्यागमन विभागबीच डाटा सेयरिङका लागि एकीकृत प्रणाली विकास गर्ने विषयमा समेत छलफल भएको विभागले जनाएको छ ।
विभिन्न निकायले सञ्चालनमा ल्याएका प्रणाली एकापसमा अन्तर सञ्चालित बनाउने, भिजिट भिसामा जाने नेपालीको बीमा अनिवार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
विदेशमा विभिन्न उद्देश्यले गएर समस्यामा परेकाको उद्धारका लागि विदेशस्थित नियोगमा उद्धार कोष स्थापना गर्ने, घरेलु कामदारलाई व्यवस्थित गर्न त्यससम्बन्धी कानुन तर्जुमा गर्ने र उक्त कानुन बमोजिम घरेलु कामदार पठाउने विषयमा समेत छलफल भएको प्रवक्ता ढकालले बताए ।
यस्तो गर्न नसकिएको खण्डमा अनौपचारिक माध्यमबाट घरेलु कामदारमा जाने प्रवृत्ति बढ्दै जाने र यसले थप भयावह अवस्था ल्याउनेतर्फ सचेत गराइएको थियो ।
साविकमा विदेशस्थित नियोगमा वैदेशिक रोजगार बोर्डका तर्फबाट प्रतिनिधि रहने गरेकोमा हाल उनीहरूलाई हटाइएको छ । उनीहरूलाई हटाउँदा काम गर्न निकै समस्या हुनेतर्फ दूतावासहरूले ध्यानाकर्षण गराएका थिए । तत्कालको लागि वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउन उक्त दरबन्दी कायमै राख्ने समेत विषयमा छलफल भएको थियो ।
त्यस्तै वैदेशिक यात्रा र रोजगारीका सन्दर्भमा बिचौलियाको प्रभाव शून्य पार्ने विषयमा समेत छलफल भएको थियो । यूएईले भिसामा कडाइ गरेपछि ओमान मार्फत् गैरकानुनी ढंगबाट बिचौलियाले नेपाली लैजान सक्ने भएको भन्दै त्यसतर्फ सचेत रहनुपर्नेमा जोड दिइएको थियो ।
कुवेतमा भिजिट भिसामार्फत कामदारका रूपमा जान पाइँदैन । तर, बिचौलियाले चर्को पैसा लिएर पठाउने गरेका छन् । त्यस विषयमा समेत छलफल भएको थियो । यूएईमा २ सय नेपाली राहदानीवाहक म्यानमारका नागरिक रहेको भन्दै त्यसरी नक्कली कागजात पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने विषयमा समेत छलफल भएको प्रवक्ता ढकालले बताए ।
यूएई लगायत देशमा बढ्दो नेपालीको मृत्युका विषयमा समेत सचेतना बढाउनेतर्फ जोड दिइएको थियो । मृत्युमा आत्महत्या मुख्य कारण देखिएको दूतावासले जनाएको छ । त्यसका लागि स्थानीय तहदेखि नै सचेतना बढाउनेमा जोड दिइएको थियो ।
हाल यूएईमा ३ लाख ८१ हजार नेपाली रहेको तथ्यांक छ । तीमध्ये ३ सय ४५ जना लागू औषधको मुद्दामा जेलमा छन् ।
भिजिट भिसामा जानेका हकमा विमानस्थलमा श्रम डेस्क थियो । तर, पछि हटाइएको थियो । त्यसलाई पुनर्स्थापना गर्ने विषय समेत छलफल भएको थियो ।
विमानस्थलबाट प्रस्थान गर्दा प्रि–भेरिफिकेसन अनिवार्य गरिने जानकारी गराइको थियो । म्यानपावर एजेन्सीहरूलाई थप जिम्मेवार बनाउने र वैदेशिक रोजगार सम्बन्धमा स्थानीय स्तरबाटै सचेतना बढाउने विषयमा जोड दिइएको प्रवक्ता ढकालले बताए ।
प्रतिक्रिया 4