
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको येल विश्वविद्यालयका प्रोफेसर निक टर्क–ब्राउनले बाल्यकालमा हिप्पोक्याम्पस पूर्णरूपमा विकसित नभएको कारणले सम्झनाहरू बन्न नसक्ने बताए।
जन्मदिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनका महत्त्वपूर्ण क्षणहरू हुन् । तर, हामी ती कुराहरू किन सम्झन सक्दैनौँ ? न्यूरोसाइन्टिस्ट र मनोवैज्ञानिकहरू यो प्रश्नसँग दशकौँदेखि जुधिरहेका छन् ।
बाल्यकालका घटनाहरू सम्झन नसक्नुलाई इन्फेन्टाइल एम्नेशिया भनिन्छ । यसलाई बुझाउन वर्षौँदेखि विभिन्न कुराहरू भनिँदै आएका छन् । यसबारे लामो समयदेखि विभिन्न सिद्धान्तहरू प्रस्तुत गरिएका छन् ।
अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञान र न्यूरोसर्जरीका प्रोफेसर निक टर्क–ब्राउनका अनुसार वास्तविक बहस दुई मुख्य प्रश्नहरूमा केन्द्रित छ ।
हामी बाल्यकालमा सम्झनाहरू बनाउँछौँ र पछि बिर्सन्छौँ, या त हामी ठूलो नहुँदासम्म सम्झनाहरू नै बनाउँदैनौँ ?
प्रोफेसर टर्क–ब्राउनका अनुसार, विगत एक दशकसम्म शोधकर्ताहरूको विश्वास थियो-बच्चाले सम्झनाहरू बनाउँदैनन् । केही वैज्ञानिकहरूको तर्क थियो-बच्चाहरूसँग न त आफूलाई पूर्णरूपमा चिन्ने ज्ञान हुन्छ, न त बोल्ने क्षमता ।
चार वर्षको उमेरसम्म हामी सम्झनाहरू बनाउन सक्दैनौँ किनभने हिप्पोक्याम्पस, अर्थात् दिमागको त्यो हिस्सा जसले सम्झनाहरू बनाउँछ, त्यतिबेलासम्म पूर्णरूपमा विकसित भएको हुँदैन ।
प्रोफेसर टर्क–ब्राउन भन्छन्, ‘बाल्यकालमा हिप्पोक्याम्पसको आकार धेरै तीव्र गतिमा बढ्छ । यस कारण पनि प्रारम्भिक अनुभवहरू सम्झनामा रहँदैनन् किनभने त्यतिबेला आवश्यक न्यूरल सर्किटहरू हुँदैनन्।’
बच्चाको दिमागको इमेजिङ
२०२५ को सुरुमा गरिएको प्रोफेसर टर्क–ब्राउनको एक अध्ययनले फरक नतिजा देखायो । यसमा २ महिनादेखि २ वर्ष उमेरका २२ बच्चाहरूलाई धेरै तस्बिरहरू देखाइयो र त्यही समयमा उनीहरूको दिमागको स्क्यानिङ गरेर हिप्पोक्याम्पसको गतिविधि हेरियो।
त्यसपछि ती बच्चाहरूलाई एउटा पुरानो र एउटा नयाँ तस्बिर सँगै देखाइयो । शोधकर्ताहरूले बच्चाहरूको आँखाको गतिविधि हेरे, ताकि यो पता लागोस्, उनीहरू कुन तस्बिरलाई धेरैबेर हेर्छन् ।
यदि बच्चाले पुरानो तस्बिरलाई धेरैबेर हेर्यो भने, यो प्रमाण मानियो उसले त्यसलाई सम्झेको छ । पहिले पनि धेरै अनुसन्धानमा यस्तै पाइएको थियो ।
यदि बच्चाले पहिलो पटक कुनै तस्बिर देख्छ र त्यतिबेला उसको हिप्पोक्याम्पस धेरै सक्रिय हुन्छ भने, त्यो तस्बिर पछि सम्झने सम्भावना बढ्छ भन्ने कुरा अनुसन्धानमा पाइयो । यो प्रभाव खासगरी १२ महिनाभन्दा ठूला बच्चाहरूमा देखियो ।
यसबाट प्रष्ट हुन्छ लगभग एक वर्षको उमेरमा हिप्पोक्याम्पसले सम्झनाहरू रेकर्ड गर्न सुरु गर्छ ।
सम्झनाहरू कहाँ जान्छन् ?
प्रोफेसर टर्क–ब्राउनका अनुसार, शिशुहरूले हिप्पोक्याम्पसमा सम्झनाहरू बनाउन सक्छन् कि सक्दैनन् भन्ने बुझ्नु उनको टोलीको पहिलो उद्देश्य थियो । तर, यसमा थप अनुसन्धानको आवश्यकता छ ।
उनी भन्छन्, ‘यदि बच्चाले वास्तवमै यी सम्झनाहरू भण्डारण गरिरहेका छन् भने, ती कहाँ जान्छन् ? के ती अझै रहन्छन् ? र के हामी तिनलाई पुनः प्राप्त गर्न सकिन्छ ?’
सन् २०२२ को एक अध्ययनमा अनुसार मुसाहरू, जसले सानै उमेरमा भूलभुलैया पार गर्न सिकेका थिए, ठूलो भएपछि त्यसलाई बिर्सिए ।
तर, जब वैज्ञानिकहरूले हिप्पोक्याम्पसको त्यो हिस्सा सक्रिय गरे जुन सिकाइसँग जोडिएको थियो, तब सम्झनाहरू फेरि फर्किए । मानव शिशुहरूमा पनि यस्तै हुन्छ र तिनका सम्झनाहरू कतै लुकेर रहन्छन् कि भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।
युकेको युनिभर्सिटी अफ वेस्टमिन्स्टरकी प्रोफेसर क्याथरिन लभडे भन्छिन् साना बच्चाहरूमा सम्झना बनाउने क्षमता हुन्छ, जबसम्म उनीहरू बोल्न सुरु गर्दैनन् ।
उनको भनाइ छ, ‘साना बच्चाहरू नर्सरीबाट फर्केपछि आफूसँग भएको कुरा बताउँछन् । तर, केही वर्षपछि तिनले ती कुराहरू फेरि बताउन सक्दैनन् । यसबाट प्रष्ट हुन्छ कि सम्झनाहरू बन्छन्, तर लामो समयसम्म टिक्दैनन् ।’
उनी भन्छिन्, ‘के हामी ती सम्झनाहरूलाई समयसँग गहिराइमा संरक्षित गर्न सक्छौँ । के ती चाँडै धमिलो हुन्छन् र के ती यति बलियो हुन्छन् कि हामी तिनलाई सोचेर सम्झन सक्छौँ ?’
के सम्झनाहरू झुटा पनि हुन सक्छन् ?
प्रोफेसर लभडे भन्छिन् इन्फेन्टाइल एम्नेशियालाई बुझ्न गाह्रो हुनुको कारण हाम्रो पहिलो सम्झना वास्तविक हो कि होइन भन्ने थाहा पाउन लगभग असम्भव छ ।
उदाहरणका लागि, धेरै मानिसहरूलाई लाग्छ उनीहरूलाई बाल्यकालको कुनै घटना वा कुनै क्षण सम्झना छ । तर, उनको भनाइ छ, यस्ता सम्झनाहरू वास्तविक अनुभवहरूसँग जोडिने सम्भावना धेरै कम हुन्छ ।
‘ यदि हामीलाई कुनै घटनाबारे जानकारी प्राप्त हुन्छ भने, हाम्रो दिमागले यस्तो सम्झना बनाउन सक्छ जुन पूर्ण रूपमा वास्तविक जस्तो लाग्छ’ उनी बताउँछिन्, ‘यो चेतनाको प्रश्न हो र चेतनालाई स्पष्ट रूपमा परिभाषित गर्नु सबैभन्दा गाह्रो काम हो ।’
प्रोफेसर टर्क–ब्राउन भन्छन् इन्फेन्टाइल एम्नेशियाको रहस्य हाम्रो पहिचानसँग गहिरो रूपमा जोडिएको छ ।
‘यो हाम्रो पहिचानको हिस्सा हो र हाम्रो जीवनको प्रारम्भिक वर्षहरूमा यस्तो ठाउँ हुन्छ जहाँ हामीलाई केही पनि सम्झना रहँदैन, यसले मानिसहरूको आफ्नाबारे सोच्ने तरिकालाई बदल्छ’ लभडे भन्छिन् ।
प्रतिक्रिया 4