+
+
Shares
विचार :

जेन-जी विद्रोहपछि कसरी जोड्ने राज्य र जनता?

निर्वाचनसँगै वर्तमान सरकारको अर्को कार्यभार नरसंहार र वितण्डा दुवै खाले दोषी तथा भ्रष्टाचारीहरू माथिको कारबाही प्रक्रिया पनि सँगै अगाडि बढाउनुपर्दछ।

डा. रघुनाथ अधिकारी डा. रघुनाथ अधिकारी
२०८२ असोज १४ गते ११:२५

यो आलेखमा हालैको जेन-जी विद्रोहलाई नेपाली समाज र संस्कृतिमा भइरहेको परिवर्तनले निम्त्याएको एक गुणात्मक फड्कोका रूपमा हेरिएको छ। किन नवयुवा पुस्ताले वर्तमान राजनीतिक व्यवस्था र शासकीय स्वरूप प्रति असहमति प्रकट गर्यो? समस्याका अन्तर्वस्तु र रूप पक्ष केके हुन् भन्ने कुरालाई समाज र संस्कृति परिवर्तनका नियमहरूको आधारमा विश्लेषण गर्दै परिवर्तनको व्यवस्थापन कसरी गर्न सकिन्छ? भन्ने कुरालाई औंल्याउने कोसिस गरिएको छ।

समाज र संस्कृतिमा हुने परिवर्तनमा टकराबको मात्रा र तीव्रता सामान्यतः अवस्था र अपेक्षा बीचको रिक्तताको आयतनले निर्धारण गर्दछ। परिवर्तनका अनेकन कारकहरू भए तापनि मूलतः नवीन प्रविधिको विकास र त्यस माथिको पहुँचले पुराना पक्षहरूलाई निषेध गर्दछ र नयाँले स्थान लिने गर्दछ। नवीन प्रविधिको पहुँचले नवीन अपेक्षाहरू सृजना गर्दछ र विद्यमान अवस्थाको निषेधको अपेक्षा राख्दछ। वृहत् मानवशास्त्रीय परिभाषामा राजनीतिलाई पनि संस्कृतिको एक अङ्गका रूपमा हेरिन्छ। तसर्थ नेपालमा हाल भएको राजनीतिक परिवर्तन सामाजिक सांस्कृतिक परिवर्तनको एउटा हिस्सा हो। यो जेन-जी पुस्ताको विद्रोह मार्फत अभिव्यक्त परिवर्तन पनि मूलतः इन्टरनेट प्रविधिको विकास र यस माथिको विश्वव्यापी पहुँचको परिप्रेक्षसँग सम्बन्धित छ।

हाम्रो परम्परागत परिवारमा सूचना र ज्ञान सञ्चारको केन्द्रमा मूल वर्चस्व बनाएर बसेका घरमूलीलाई अब इन्टरनेट र डिजिटल प्लेटफर्म मार्फत सञ्चालित सोसियल मिडियाले सत्ताच्यूत गरिदिएको छ। पूर्व बाल्यकालबाट माथि उठेका पुस्ताहरू अब बा वा आमाको कुरा होइन मोबाइल लगायतका डिजिटल डिभाइसका नयाँ गुरुहरूमा निर्भर हुन पुगेका छन्। अब सनातनी ‘बा हरूले’ उनीहरूका अनगिन्ती जिज्ञासा र अपेक्षा पूरा गर्न आंशिकबाहेक समय दिने सामर्थ्य राख्दैनन्। उनीहरूको अधिकांश समय यिनै नवीन ‘बा’ वा इन्टरनेट भित्रका गुरुहरूसँग बित्ने गर्दछ। अहिले आएर स्कुल र कलेजका गुरुहरू पनि फिक्का बन्न थालेका छन्। एक प्रकारले भन्नु पर्दा यो सूचना र ज्ञानको क्रान्ति नै हो र यसले नवयुवा पुस्ताहरू परम्परागत नियन्त्रण र नियमनको दायराबाट झण्डै बाहिर उम्कीसकेका छन्।

नेपालमा हालै भएको जेन-जी विद्रोहको भुइँतलामा अवस्थित आधारभूत परिप्रेक्ष यसै वरिपरि छ। यो परिस्थितिले विभाजित समाज, संस्कृति र मनोविज्ञानको निर्माण गरेको छ र विभाजित अवस्थाहरूबीच द्वन्द्व र टकराब हुने गर्दछ। हाम्रोमा भएको टकराबको वस्तुगत कारण पनि यही नै हो। टकराबको गति र तीव्रता कति हुन्छ? र भयो? भन्ने कुरा ती पक्षहरूका बीचमा हुन पुगेको खाडल वा रिक्ताको मात्रा कति छ? भन्ने कुराले निर्धारण गर्दछ। भौतिक विज्ञानमा हेर्ने हो भने कुनै वस्तु कति बज्रन्छ? भन्ने कुरा त्यो कति उचाइबाट खसेको छ? भन्ने कुराले त्यसको तीव्रतालाई निर्धारण गर्दछ। बामेसराइबाट भर्खर उभिन थालेको बालक लड्दा ठूलो क्षति नहोला, तर अग्लो बयस्क मानिस लड्यो भने दरैसँग बजारिन्छ।

सडकमा ओर्लिएका मानिसहरूलाई अलग अलग पारेर हेर्दा त्यहाँ शान्तिपूर्ण प्रदर्शनकारी जेन-जी थिए र भिड थियो। भिडभित्र स्वतःस्फूर्त जम्मा भएका मानिसहरू थिए र निश्चितै रूपमा निर्देशित घुसपैठियाहरू पनि थिए।

जेन-जी विद्रोहको यो तीव्रताले किन यत्रो विध्वंश गर्यो भन्ने कुराले के देखाउँछ भने अवस्था र अपेक्षा बीचको खाडल सामान्य नभएर भीषण थियो। युवाहरू ज्यानको प्रवाह नगरी छातीमा गोली थापेर मर्न र मार्ने मनस्थितिमा पुग्नु यही फराकिलो खाडलको आयतन तर्फ सङ्केत गर्दछ। यो स्वभाविक र स्वतःस्फूर्त नभएर बाह्य तत्त्वहरूको षड्यन्त्रको उपज हो भनेर कसैलाई लाग्न सक्छ। यस्ता घटनाहरूमा कहिलेकाहिँ आन्तरिक भन्दा पनि बाह्य कारणहरू प्रधान भएका पनि हुने गर्दछन्। तर पनि प्राप्त प्रमाण र तथ्यहरूले यसको मूलकारण आन्तरिक र सहायक कारण बाह्य हो भन्ने म देख्छु। आन्तरिक अन्तरविरोधको बढ्दो मात्रा गुणात्मक फड्को मार्ने बिन्दु छेउमा नपुगेसम्म बाह्य कारणहरू निर्णायक हुँदैनन्।

यस कोणबाट विश्लेषण गरेर हेर्दा आन्दोलनको सुरुआत जेन-जी नवयुवाहरूले सोसल मिडियाको प्रतिबन्धको विरोधमा सानो सङ्ख्यामा शान्तिपूर्ण प्रदर्शनको थालनी गरेका थिए। तर, प्रदर्शन अघि बढ्दै जाँदा नचिताएका मानिसहरू थपिए र सांसद भवनको तोडफोड र आगजनी हुँदै भोलिपल्ट सिंहदरबार, सर्वोच्च अदालत, मन्त्रालयहरू र शीतलनिवास लगायतका महत्वपूर्ण सरकारी भवनहरू सहित देशैंभरि पार्टी र व्यक्तिहरूका निवाससमेत सिङ्गो मुलुक आगाका ज्वालामा लपेटियो। सडकमा ओर्लिएका मानिसहरूलाई अलग अलग पारेर हेर्दा त्यहाँ शान्तिपूर्ण प्रदर्शनकारी जेन-जी थिए र भिड थियो। भिड भित्र स्वतःस्फूर्त जम्मा भएका मानिसहरू थिए र निश्चितै रूपमा निर्देशित घुसपैठियाहरू पनि थिए।

घुसपैठियाहरूलाई पनि दुई भागमा बाँड्न सकिन्छ। एक खाले आन्तरिक घुसपैठिया र अर्का बाह्य घुसपैठिया। आन्तरिकहरू एक वा अर्को कोणले राज्यसँग असन्तुष्ट समूहसँग सम्बन्धित थिए भने बाह्यहरू अवश्य पनि भूराजनीतिक स्वार्थबाट परिचालित प्यादाहरू थिए, जुन पक्षको पर्दा समय क्रममा खुल्दै जाला। यसरी सिङ्गो देश आगाको लप्कामा बल्यो र खरानीको थुप्रोमा परिणत भयो। अर्थविद्का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको करिव आधा अर्थात ३१ खर्ब बराबरको राष्ट्रिय सम्पत्तिको क्षति भयो। यद्यपि यसको यथार्थ आँकडा अझै आउन बाँकी छ र बढी पनि हुन सक्दछ। फलतः अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि एक अस्थिर र अविश्वसनीय राष्ट्रको रूपमा देखापर्‍यो, जसको उदाहरण हो केही राष्ट्रहरूले लगाएको नेपालीहरूको प्रवेशाज्ञामा कडाइ र रोक।

किन यत्रो विद्रोह भयो? यसको कारण के थियो? यसलाई रूप र अन्तरवस्तु तथा व्यष्‍टि र समष्टि गरी दुई भागमा बाँडेर हेर्नु पर्ला। अन्तरवस्तुका पक्षमा भन्नु पर्दा नेपाली समाज अहिले परम्परागत निर्वाहमुखी कृषि समाजबाट राष्ट्रिय औद्योगिक पूँजीवादको विकास नभए तापनि विश्वव्यापी बजारमा जोडिएको एक उपभोक्तावादी समाजको हिस्सा बन्दै आधुनिक औद्योगिक समाजको चरण तर्फ अघि बडिरहेको छ। यो नवीन चरणमा प्रवेश गर्दा बदलिदो प्रविधि र उत्पादन पद्धति र नयाँ उत्पादन सम्बन्ध भित्रका घरेलु र बाह्य कारकहरूले परिवर्तनका लागि उर्जाको काम गरेको थियो र यसैका पृष्ठभूमिबाट विद्रोह विस्फोटको लाभा सल्बलाइरहेको थियो।

रूप र व्यष्‍टि पक्षको कुरा गर्दा वर्तमानको लोकतान्त्रिक गणतन्त्रको चरणसम्म आइपुगेर समानुपातिक समावेशी नीतिको अवलम्बन गरिँदै गए तापनि परम्परागत वर्गीय, जातीय, क्षेत्रीय, लगायतका संरचनागत विभेदहरूको मूलोच्छेदन भैसकेको थिएन। यो सतह बाहिर देखा नपरेको भुसको आगोझैँ सल्की रहेको थियो र अझै पनि निभेको छैन। अर्कातिर निर्दलीय राजतन्त्रात्मक पञ्चायती व्यवस्थाबाट बहुदलीयता र अझ त्यसमा पनि लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा एक समुन्नत नेपालमा रूपान्तरण हुन पाउँला भन्ने जनअपेक्षा थियो। त्यसैको पर्खाइमा थियो नेपाली मनोविज्ञान। यस बीचमा अवश्य पनि केही राम्रा कामहरू नभएका भने होइनन्। खासगरी सञ्चार, सडक र विकासका केही पूर्वाधारहरू खडा हुँदै नगएका पनि होइनन्, तर यातायात र सञ्चारको बलियो पहुँचमा पुग्दै गरेका जनताको समालोचनात्मक चेत पनि अभूतपूर्वरूपमा जागृत भैरहेको थियो।

निर्वाचनसँगै वर्तमान सरकारको अर्को कार्यभार नरसंहार र वितण्डा दुवै खाले दोषी तथा भ्रष्टाचारीहरू माथिको कारबाही प्रक्रिया पनि सँगै अगाडि बढाउनुपर्दछ।

माओवादी नाममा सुरुभएको सशस्त्र विद्रोह र एक दशक खर्चिएर बनाइएको संविधानले आधारभूतरूपमा हाम्रा आन्तरिक अन्तर्विरोधहरूको व्यवस्थापन गर्दै तत्कालीन शक्तिसन्तुलन कायम गर्यो। तर युगीन कानूनहरू बन्न सकेनन् र मौजुदा कानूनले जन अपेक्षा बमोजिमको काम गर्न सकेनन्। कतिपय अवस्थामा कानून भएर पनि कार्यान्वयन हुन सकेन “कानून किताबका भए” तर त्यसको कार्यान्वयन हुन सकेन। राज्यको दुरुपयोग गर्दै “गरिबलाई ऐन धनीलाई चैन” भनेजस्तै कयौँ भ्रष्टाचारीहरू उम्काइए। नीतिगत तहमै भ्रष्टाचार संस्थागत भयो, उदाहरणका रूपमा सांसदहरूलाई गाडी खरिदमा दिइएको छुट जुन पजेरो काण्डबाट चिनिन्छ, देखिएका काण्डहरू हुँदै सुनकाण्डहरू र भुटानी शरणार्थी राहदानी काण्डहरूलाई लिन सकिन्छ।

दलका कतिपय प्रभावशाली नेताहरू र नेताका आफन्त तथा आसेपासेहरू रातारात करोडपति बने। पहुँचवाला नेताहरूको जीवनशैली विलासी भयो र अदृष्य अर्थतन्त्रबाट पोषित एवं अपारदर्शी हुँदै गए। नेताहरूले आफ्नो धरातल बिर्सिए र कार्यकर्ताहरूबाट घोर चाकडीको अपेक्षा राख्न थाले। चाकडीबाजहरू संस्कृत कवि बिल्हणको व्यङ्ग्य पात्र झैं सिधै नेताका विस्तारमा प्रवेश पाउने भए भने कार्यकर्ताहरू ढोकामा बसेर कुर्ने भए। चापलुसहरूको झुन्ढ नै पार्टीका कार्यकर्ता मानिन थाल्यो। सामाजिक न्याय र रूपान्तरणका लागि दु:खकष्ट भोगेका निस्वार्थ कार्यकर्ताहरू हेर्दाहेर्दै हास्यपात्र बनाइए। आफैंले आन्दोलन र क्रान्तिमा होमेका युवाहरू बेरोजगार बनेर कामको खोजीमा सहजीकरण गरिमाग्न नेताको घरमा आउँदा “तिम्रो योग्यता कति छ?” भनेर उल्टो परीक्षणका पात्र बनाइए।

नातावाद, कृपावाद, निर्वाचन क्षेत्रवाद, गुटवाद, कमिसनखोरी र घुसखोरी व्याप्त भयो। पार्टी मेसिनरी नामक एउटा गुटले दल हाँक्न पुग्यो। पैसा र चाकडीले मात्र काम हुने भयो। दलको परिधीय क्षेत्रमा बसेर प्रत्यक्ष र परोक्षरूपमा सहयोग गर्ने बुद्धिजीवीहरू नेताका आफन्त, चाकडीबाज र चापलुसहरूको हुलबाट पाखा लगाइए। नागरिकहरूको साझा अधिकार हुँदा हुँदै पनि राजनीतिक नियुक्ति दलीय भागबन्डामा पर्न गयो। अझ त्यही दलभित्र पनि अधिकांश अवस्थामा पैसा, चाकडी, नातावाद र निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुग्यो। हेर्दा हेर्दै चल्तापुर्जा नेताहरू र राज्यको सेवासुविधामा रहेका मानिसहरूको एउटा वर्ग “शासक गोत्रीय सम्भ्रान्त वर्ग” मा परिणत भयो र आम जनता र दलका सामान्य कार्यकर्ता, समर्थक, शुभचिन्तकबाट अलग “अर्घ र भेटी खाने देवता” झैं भए।

नेपालको कर्मचारीतन्त्र कहिल्यै नागरिक प्रशासनकारूपमा रूपान्तरित हुन सकेन। सेवाग्राहीको काम पैसा, भनसुन र पहुँचका आधारमा मात्र हुने भयो। प्रशासनका कार्यालय सहयोगीदेखि सचिवसम्म आफूलाई विशिष्ट शासक वर्ग सम्झिएर सेवाग्राही जनतासँग गर्ने व्यवहार अपराधी माथि गरिने केरकार जस्तै हुँदै गयो। ढिलाशुस्ती र सेवाग्राहीको ज्ञान भन्दा परका सामान्य त्रुटिहरूलाई आधार बनाएर कुखुरा भुत्ल्याएझैं जनतालाई भुत्ल्याउने काम भयो। सरकारी कार्यालय जानु भनेको आफू अपराधी भएर केरकारमा हाजिर हुन पुग्नु सरह हुन थाल्यो। अधिकांश कर्मचारीहरू सेवामा प्रवेश गरेको केही वर्षमै सम्भ्रान्त वर्गको रूपमा देखिन पुगे। पन्ध्र वर्षअघि गण्डकी प्रदेशको एउटा जिल्लामा तत्कालीन गाविसका सचिवहरूको एउटा तालिमको सहजीकरणका लागि पुगेको यो पङ्तिकार के मा छक्क परेको थियो भने त्यहाँ उपस्थित २७ जना गाविस सचिवहरूमा २५ जनाको घर उक्त जिल्लाको सदरमुकाममा हालसालै बनिएको रहेछ। जसमा खस्याक खुसुक्क कुरो बुझ्दा ८ जनाको त काठमाडौंमा पनि रहेछ। उनीहरूको त्यो हैसियत छोटो अवधिमा कसरी बन्न पुग्यो?

प्रहरी प्रशासन तर्फको कुरा पनि चर्को छ। खासगरी नागरिकहरूसँगको व्यवहार ठाडो र हुकुमीशैलीको हुनु र जनताको हुर्मत लिने खालको हुनु त आम अनुभव नै हो। अझ तस्कर र अपराधीहरूसँग मिलेर नियमित रकम असुल्ने कुराले जनताले शान्तिसुरक्षाको अनुभुति गर्न सकेनन्। सम्पन्न वर्गका मानिस र राजनीतिक दलका प्रभावशाली मानिसहरूसँग उनीहरूको राम्रो व्यवहार भए पनि आम जनतासँग राम्रो छवि बन्न नसकेको अनुभूत जनतामा भयो। न्याय प्रशासन र न्यायपालिका लुटको अर्को केन्द्र बन्न पुग्यो। यसको प्रमाण केही न्यायाधीशहरूको दिन दुगुना रात चौगुना भनेझैँ सम्पत्ति बढ्दै गयो। त्यसको कुनै छानविन भएन। पीडितहरूले न्याय पाएनन्।

यो पङ्तिकारसँग एक दशक अगाडि एकजना आफन्त पर्ने मानिसले “जिल्ला न्यायाधीसँग बन्नका लागि आफू २० लाख रुपैयाँ दिन तयार भएर बसेको छु” भन्दा छाँगाबाट खसे झै भएको थियो। हुन त यो रकम अझै कम हुन पनि सक्दछ। लाक्षणिकरूपमा भन्नु पर्दा आलम प्रकृतिका न्यायिक फैसलाहरू हजारौं हुन सक्लान्। त्यसैगरी ठेकेदार र जग्गा दलालहरूले राजनीतिक तथा प्रशासनिक संरक्षणको आडमा आम लुट मच्चाउन पुगे, कानून र मापदण्ड विपरितका कामहरू सचेत नागरिकले टुलुटुलु हेरेर बस्नु पर्यो। शिक्षा र स्वास्थ्यको खुलेआम व्यापार गरियो। मनलागे जति फि असुल्ने र यसबाहेक दृष्य अदृष्य ब्यापार गर्न आमरूपमा छुट भयो।

विश्वविध्यालयहरूको हविगत भयो। राजनीतिक दलको भागबन्डाका आधारमा भिसी, रेक्टर, रजिस्टर लगायतका पदहरूको बाँडफाँडगरी पूरै राजनीतीकरण गरियो। कतिसम्म भने त्रिभुवन विश्वविद्याल, नेपाल संस्कृत विश्वविद्यालय र पश्चिमाञ्चल विश्वविद्यालयमा समेत तोडफोड कुटपिट हुनुका साथै त्रिविमा भीसी लगायतका कार्यालयमा लगातार ४ महिना बढी ताला लगाइयो, तोडफोड र आगजनी गरियो। संस्कृत विश्वविद्यालयका भिसीलाई कार्यालयमा पसेर कोदालो प्रहार गरियो। यी सबै घटनाहरू दलीय भागबन्डामा कुरो नमिल्दा राजनीतिक संरक्षणका आधारमा नियमितरूपमा हुने गुण्डागर्दी हुन्। राजनीतिक संरक्षण प्राप्त गुण्डाहरूको प्रहारले प्राध्यापकहरू गम्भीर रूपमा घाइते पनि भएका उदाहरणहरू छन्। यसरी हाम्रा गुरुकुलहरू पनि पूरै दलालीकरणको कृडास्थल बने।

नचाहिँदा भ्रातृसँगठनहरूको उदयले पनि अति दलीयकरण भयो।कतिपय सामाजसेवी प्रकृतिका संघ संस्थाहरू देखिलिएर सामुदायीक प्रकृतिका संस्थाहररू समेत दलीयकरणको चपेटामा परे। सबै मानिसहरू विभाजित भए। विद्यार्थीहरूले आफ्नो शैक्षिक सुधारको काम गर्ने भन्दा पनि अमुक नेताको चाकरी गर्ने भए। विद्यार्थीहरूलाई प्रदर्शनलगायत दलको शक्ति प्रदर्शनका काममा लगाइयो। कतिपय विद्यार्थी नेताहरूले स्ववियु चुनाव र सङ्गठनको सम्मेलनका नाममा पैसा उठाउँदै खाने खालको भ्रष्ट जीवन वृत्तिको सुरु गरे। उनीहरूमा कतिपय भने अहिले पार्टीका केही माथिल्ला पदमा पनि पुगेका छन्। प्राध्यापकहरू पनि दलीय आधारमा विभाजित भए। विश्वविद्यालय प्रशासन पनि भ्रष्टाचर मुक्त छैन।

अति दलीयकरणको अर्को उदाहरण हो कर्मचारीका सङ्घ, सङ्गठनको।  तटस्थ हुनु पर्ने नागरिक प्रशासन दलीय आधारमा पूरै विभाजित बन्न पुग्यो। दलको अमुक नेताबाट आशीर्वाद प्राप्त तल्लो तहको कर्मचारीले सचिव सरुवा गराउने हैसियत राख्न थाले। आफू कामै नगरीकन सधैँ नेताका वरिपरि हिँडेर खाने भए। जसले गर्दा कार्यालयहरूबाट सेवाग्राहीहरूका काम प्रभावकारी हुन सकेनन्। उपल्लो तहका कर्मचारी, प्रहरी, सेनासहितै नेताका छोराछोरीहरूले नेपाली जनताको नाममा आएका छात्रवृत्तिहरू हत्याए र एकातिर उपल्लो वर्गका हैसियतमा वर्गारोहण गरेभने अर्कातिर विदेशी स्वार्थको प्रभावमा परेर राष्ट्रहित र अडानहरूलाई तिलाञ्जलि दिए। नेता सहितै यो उच्चवर्गका छोराछोरीहरू अर्थात ‘नेपोकिड्स्हरु’  भ्रष्टाचार र अदृष्य आयको बलमा युरोप अमेरिका जस्ता देशमा स्वखर्चमा पढ्ने सामर्थ्य भएका विलासी एवं सभ्रान्त वर्गका बन्न पुगे।

उता सर्वसाधारण जनतामा पूरै वितृष्णाले छायो। थोरै मान्छेहरू नवधनाढ्य वर्गका रूपमा वर्गारोहण गरे भने मध्यमवर्गको ठूलो हिस्सा वर्गावतरण गरी निरपेक्ष गरिबीको रेखानजिक र मुनि धसिए। युवा बेरोजगार कहालीलाग्दो भयो। प्रतिदिन २५ सयभन्दा बढी युवाहरू विदेशिन बाध्य हुने र ठूलो सङ्ख्यामा बाकस भित्र नेपाल फर्कनुपर्ने बाध्यता रह्यो। देशमा भएका उद्योग धन्दा निजीकरण गरिए जसमा ठूलो सङ्ख्यामा विदेशी कामदारहरू भर्ती गरिए। फलत बेरोजगारी दर उच्च भयो। न होस् पनि किन कृषक परिवारमा जन्मिएको एउटा व्यक्तिको कृषि उसको सबैभन्दा बलियो आधार थियो। उसका परिवारले पर खेतमा धान, गहुँ, मकै र आलु आदि फलाइरहँदा स्कुलमा ती अझै धेरै कसरी फलाउने भन्ने शिक्षा उसले कहिल्यै पाएन।

उसलाई बाँदर होइन “मङ्कि” सिकाइयो, केरालाई “बनाना” सिकाइयो, आमा बुबालाई “ममी-ड्याडी” भन्न सिकाइयो र त्यही शिक्षालाई जोड दिइयो। यो सिकाइले उसको जीवन वृत्तिमा के सघायो? उसले नेपाल पढेन, स्थानीय प्रकृति र संस्कृति पढेन, उसले त्यही माटोमा भाग्य उमार्ने चिज कहिल्यै पढ्न पाएन। यसरी नयाँ शिक्षाका नममा उसको परम्परादेखि आएको उत्पादन पद्धति र जीवन वृत्तिको प्राकृतिक परिवेशमा अझै प्रगतिशील र राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्नै पाएन। उसले सिको व्यवहारमा प्रयोग नहुने कुरा, अनि बेरोजगारी बढ्दै गयो। समाजमा निराशा, विग्रह र विद्रोह जन्मियो। जेन-जी विद्रोहका यी रूप र व्यष्टि पक्षका कारणहरू हुन् देश जल्नुअघि उनीहरूले आफूलाई खरानी सम्झिएका थिए। जुन जलिसकेको थियो। यसको प्रतिनिधि पात्र हुन जेन-जी आन्दोलनको आइकन भएको रगताम्य सेतो जुत्ता लगाउने भाइ प्रकाश बोहरा। जो कामको खोजीमा रसिया र युक्रेनको लडाइमा सामेल भई कसोकसो ज्यान बचाउँदै नेपाल फर्किएर फेरि कामकै खोजमा काठमाडौँ आउँदा विद्रोहमा होमिए र हाल तिघ्रामा गोली लागेर ट्रमा सेन्टरमा उपचाररत छन्।

यसरी समग्रमा हेर्नु पर्दा केही सीमित वर्गबाहेकका आम युवाहरूले आफूलाई राज्यबाट अलगथलग भएको पाए। राज्य भनेको उनीहरूको सेवा गर्ने हैन उनीहरूलाई शासन गर्ने एउटा दमनकारी संयन्त्र मात्र हो। यो भए पनि, ढले पनि, जले पनि त्यसले उनीहरूको जीवनमा के काम? यही चरम निराशाको मनोभावले जेन-जी आवरणमा सहभागी भएर भीडका रूपमा विध्वंश मच्चायो। तसर्थ यो मूलतः आन्तरिक कारण हो यो विद्रोहको। यसभित्र अंशतः बाह्य पनि छन्। तर केवल बाह्यकारणले मात्र देख्ने दोषी चस्मा पुछेर वा मिल्काएर “आफ्नो आङको भैंसी देख्नुपर्छ अरुका आङको जुम्रा देख्नु” भन्दा पहिले। नेपालका हरेक क्रान्ति र विद्रोहमा शासक वर्गले विदेशीको हात भनेर आफू चोखिने र विद्रोही पक्षले आवश्यकता भन्दा अतिगरी वितण्डा मच्चाउने दुवै कुराले अन्तत: राष्ट्रको बाँच्न सक्ने क्षमता कम्जोर पार्छन्।

समाधान के हुने?

कारणहरूको विश्लेषणले मात्र हाम्रो जीवन बाँच्ने हैन। समस्याको समाधानको योजनामा आधारित भएर जीवन अघि बढाउनुपर्छ। समस्याको जड भनेको राज्यबाट युवा र जनताको ठूलो हिस्सा पूरै अलगथलग छ। यो दूरी घटाउनुपर्छ। राज्य हाम्रो हो “हामीद्वारा राज्यको रक्षा गरियो भने राज्यले हाम्रो रक्षा गर्न सक्छ” भन्ने कुरा अनुभूत गराउन सक्नुपर्छ। माथि उल्लेखित र उल्लेख नभएका तमाम विकृति र बिसंगतिको पहिचान गरी समस्याको समाधान खोज्नुपर्छ। सामान्य ढङ्गले यी समस्याको समाधान हुँदैन। दल, नागरिक प्रशासन, सुरक्षा अङ्गहरू न्यायपालिका, सबैको पुनर्संरचना र लोकतान्त्रीकरणका साथै पुन:प्रशिक्षित गरिनुपर्दछ, संविधानका कतिपय धाराहरूको संशोधन गरिनुपर्छ।

उर्लिएको विवेकहीन र उदण्ड बन्न पुगेको भिडलाई रचनात्मक रूपमा व्यवस्थापन गर्न शिक्षा, स्वास्थ्य, बाल्यकाल, वृद्धावस्था र चरम गरिबीलाई सम्बोधन गर्नका निम्ति विश्वका थुप्रै नवउदारवादी र स्केन्डेभियन देशहरूले अपनाएको जस्तै समाजवादी कार्यक्रमहरूलाई लागू गर्न सकिन्छ। यसो गरेमा ८० प्रतिशत भ्रष्टाचार कम हुन सक्छ र नागरिकहरू राज्य प्रति उत्तरदायी बन्नेछन्। दोस्रो कुरा माध्यामिक र उच्च शिक्षाको तहमा पुगेका हरेक विद्यार्थीहरूलाई कम्तीमा पनि ५ महिना राष्ट्रको सेवामा लगाउने, राष्ट्रिय सेवा कार्यको थालनी गर्नुपर्छ। जहाँ उनीहरूले आफ्ना अधिकार सहितै कर्तव्यको सहितको नागरिक शिक्षा प्राप्त गर्दै राष्ट्रको सेवा गरुन्। अझ शिक्षामा ‘नेपाल-विद्या’, ‘आचारिक वा नैतिक शिक्षा’ र नागरिकले राज्य प्रतिको कर्तव्य कसरी पालना गर्नुपर्छ भन्ने शिक्षा दिन जरुरी छ। जसले विध्वंशकारी प्रवृत्ति रोकेर संयम हुन सिकाउँछ। अर्को कुरा, तत्काल सरकारले राष्ट्रिय विकास सेना वा दस्ता तयारगरी बेरोजगार युवाहरूलाई काममा लगाउनुपर्छ। त्यो क्षेत्र बाँझो भएको निजी भूमि हुन सक्छ, यस्तो भूमिलाई लिजमा लिएर, किनेर, वा अधिग्रहण गरेर जहाँ ठूला कृषि फर्महरू खोल्न सक्छ। वृक्षारोपण र वन पैदावारहरूको व्यावसायीकरणमा लगाउन सक्छ। खनिज उत्खनन् वा सडक निर्माणमा लगाउन सक्छ। कतिपय उद्योगहरूको स्थापना र रुग्ण उद्योगहरूको सञ्चालन गर्न सक्छ। अझ जेलमा बसेका कैदी नागरिकहरूको ठूलो हिस्सालाई पनि कानून बनाएर यस्तो उत्पादनका काममा लगाउन सकिन्छ। जे होस् यो काम फास्ट ट्रयाकबाट गरिनुपर्दछ। ताकी एक दशक भित्रमा युवा बेरोजगारी घटाउन सकियोस् र नेपाललाई अन्नमा आत्मनिर्भर बनाउने लक्ष्यको नजिक पुग्न सकियोस्।

यस प्रकृतिका कामले जनतालाई राज्यसँग जोड्न सक्छ। नभएमा फेरि किमकर्तव्य विमूढ भएर ‘जेन अल्फा’ आन्दोलनको प्रतीक्षा गर्नुबाहेक अर्को विकल्प रहन्न। अहिले हामी आक्रमणमा छौं। फेरि दलहरूको प्रतिरोधी आन्दोलन अनि फेरि राजसंस्था फर्काउने आन्दोलन, अनि सशस्त्र समूहहरूको उदय, पृथकता र जातीयताका साथै धार्मिक अतिवादका आन्दोलनहरू सल्बलाउन सक्छन्। त्यो अवस्थामा जेन-जी विद्रोहमा गौण पक्षमा रहेका बाह्य तत्त्वहरू प्रमुख कारण बनेर यो धर्तीमा विदेशी बुटहरू बजारिन सक्छन्। हाम्रो स्वाधीनता जोखिममा पर्न सक्छ। हामीले राष्ट्रको स्थिरतालाई निरन्तरता दिँदै यसको विश्वसनीयता कायम राख्नुपर्छ। अहिलेसम्म त कम्जोर भए पनि नेपाल सरकार छ, असफल राज्य भइसकेको छैन, हामी निर्देशित राष्ट्रियतामा पुगिसकेका छैनौं, संरक्षित राज्यमा पुगिसकेका छैनौं तर भोलि के हुन्छ भन्न सकिन्न।

त्यसैले नेपाली परम्परागत उखान “सौताको रिसले पोइको काख हग्नु” भन्ने उखान चरितार्थ हुन सक्छ। अहिले राष्ट्रिय शक्तिहरू एकठाउँमा आउनुपर्छ। हामी थप विध्वंश धान्न सक्दैनौं। अब मुलुकले जे जसरी भए पनि निर्वाचनको बाटो लिएको छ। त्यसमा सबै शक्ति सहभागी हुनुको विकल्प देखिन्न। दलहरूले पनि मौन समर्थन गर्दै बोक्रे विरोध गरेको हुँदा सायद निर्वाचन राष्ट्रिय सहमति हुन सक्ने देखिन्छ। आन्दोलन मार्फत अभिव्यक्त जनादेशका आधारमा जेन-जी विद्रोहका वस्तुगत तथा मनोगत कारणको निराकरण गर्ने कार्यको प्रारम्भ विन्दु सुरु गर्नुपर्नेछ। तर निर्वाचनसँगै वर्तमान सरकारको अर्को कार्यभार नरसंहार र वितण्डा दुवै खाले दोषी तथा भ्रष्टाचारीहरू माथिको कारबाही प्रक्रिया पनि सँगै अगाडि बढाउनुपर्दछ।

(डा. अधिकारी त्रिवि अन्तर्गत समाजशास्त्र मानवशास्त्र विषयका उपप्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?