
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पोखरा आइपुगेपछि सुरक्षाकर्मी फर्काइदिए र ट्याक्सी चढेर आफ्नै घर नदीपुर पुगे।
- मन्त्री पुनले दशैं चितवनमा आफ्ना भाइबहिनीहरूसँग मनाउने र आफूलाई आफैंले टीका लगाउने बताए।
- महावीर पुनले साधारण जीवनशैली अपनाउँदै सार्वजनिक बस चढेर सडकमा हिँड्ने र आफ्नो किताब बिक्री गरेर खर्च जुटाउने बताए।
१४ असोज, पोखरा । सुरक्षाकर्मी पठायो, चाहिँदैन भन्छन् । नपठाउँ राज्यको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्ने हो कि भन्ने डर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पोखरा आइपुग्दा सुरक्षाकर्मी नै ताउरमाउर भए ।
शिक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक काठमाडौंबाट जहाज चढेर पोखरा आइपुगेका मन्त्री पुनले सुरक्षाकर्मीलाई फर्काइदिए र आफू ट्याक्सी चढेर पोखरा–३ नदीपुरतिर हानिए । नदीपुर त्यही ठाउँ हो, जहाँ महावीर परिवार २५ वर्षभन्दा लामो समयदेखि एउटै घरमा बसिरहेको छ ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री पुनको सुरक्षार्थ कास्की प्रहरी तम्तयार थियो । तर, सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ)समेत नलिई पोखरा आइपुगेका पुन ट्याक्सी चढेर नदीपुर पुगेका थिए । नदीपुरमा उनको सुरक्षाका लागि प्रहरी भ्यानसहित पुगेको थियो तर उनले ‘पर्दैन’ भनेर फर्काइदिए ।
धर्के टिसर्टमा हाफ ज्याकेट, कानसम्म आइपुग्ने कपाल भएको शीरमा ढाकाटोपी, सपोर्ट सुज र पाइन्ट लगाएका मन्त्री पुन पछाडि झोला भिरेर मंगलबार पोखरा विमानस्थलबाट निस्किएका थिए । उनी धेरैको आकर्षणको केन्द्र थिए ।
तर, कसैलाई वास्तै नगरी उनी ट्याक्सी चढेर हिँडेका थिए । अरु पार्टीका नेता, मन्त्री आउँदाजस्तो विमानस्थलमा कुनै खादा, माला र स्वागत थिएन । गलामा माला होइन, उनको हुलिया चिनाउने गरी झुण्डिएको चश्मा थियो ।
सधैंझैं साधारण पोशाक र अन्य नागरिकसरह नै पोखरा विमानस्थल ओर्लिएका वैज्ञानिक महावीर सिधै नदीपुर घरमा पुगेका थिए । अरु बेला महावीर आएको–गएको थाहा नपाउने छिमेकीले यसपटक पनि पुन आएको भेउ पाएनन् । तर, पुनको घरबाहिर पुगेको सुरक्षाकर्मी, समाचारहरू सार्वजनिक भएपछि उनलाई खोज्दै पुगेका सञ्चारकर्मी देखेपछि बल्ल छिमेकीले चाल पाएका थिए ।
२५ वर्षदेखि डेरामा
पुन म्याग्दीकै देउबहादुर पुनको घरमा भाडामा बस्दै आएका छन् । घरबेटी पुन विदेश बस्छन् भने घरको जिम्मा महावीरकै परिवारलाई छ । करिब ३० वर्षदेखि विज्ञान, प्रविधि र नवपर्वतनको क्षेत्रमा खटिइरहेका पुन २५ वर्षभन्दा लामो समयदेखि त्यही घरमा बस्दै आएका छन् ।
मन्त्री पुन पोखरा आइपुगेपछि उनको डेरा पुग्दा श्रीमती ओममाया त्यहीँ थिइन् । मान्छेहरूलाई उनले ढोका खोलेर भित्र बोलाउँथिन्, उपल्लो तलामा रहेका महावीर भएतिर जान भन्थिन् र आफू चाहिँ कोठाभित्र छिर्थिन् । दोस्रो तलामा हाफ पाइन्ट लगाएर बेतको कुर्सीमा बसिरहेका पुन फोनमा गफिइरहेका थिए ।
‘के अप्ठेरो भयो ? भाइलाई अप्ठेरो भयो ? क्लियर बताऊ त, सरुवा भन्ने कुरो त्यसै साटिदिन त भएन । भर्खरै नयाँ मान्छे गएर एक/दुई महिनामै सरुवा भइहाल्ने भयो भने त पुरानो मान्छे ५/६ वर्ष काम गरेको छ भने पुरानोलाई अन्याय भयो क्या,’ मन्त्री पुनले सरुवाबारे कसैसँग फोन संवाद गर्दै थिए, ‘कसैको सोर्सफोर्समा सरुवा गर्न त भएन नि, नियमअनुसार गर्नुपर्यो नि ।’
तारन्तर फोन संवाद गरिरहेका मन्त्री पुनले अहिले कुनै पनि विषयमा प्रतिक्रिया नदिने बताए । तर, मन्त्री बनेपछि राति १० बजेसम्म पनि भेट्ने मान्छेको लर्को लाग्ने र तारन्तारको फोनले आराम गर्न नपाएको आशय उनले व्यक्त गरे । ‘ओ…! मान्छे राति १० बजेसम्म पनि भेट्ने आउने, दशैं चाहिँ ढुक्कले मान्ने हो, तपाईंहरू पनि त्यसै गर्नुस्,’ महावीरले भने ।
राष्ट्रिय आविष्कार केन्द्रका लागि खर्च जुटाउन आफ्नै किताब बेच्दै हिँडेका पुन जेनजी पुस्ताले गरेको आन्दोलनले मन्त्री बन्ने अवसर पाए । साधारण जीवनशैली, मौलिक र आञ्चलिकतासहितको भाषाशैलीले धेरैको ध्यान खिचिरहेका छन् उनी ।
अहिलेसम्म २ लाख ४० हजार किताब बिक्री गरिसकेको बताउने मन्त्री पुनले आफू मन्त्री बने पनि आम मान्छेकै जीवन झल्काइरहेका छन् ।
विश्वप्रतिष्ठित रोमन म्यागेसेसेबाट सम्मानित वैज्ञानिक पुन मन्त्री नै होलान् भन्ने छिमेकीले पनि चिताएका थिएनन् तर, जेनजी आन्दोलनले नचिताएकै पदमा ढोका खोल्यो ।
‘धेरै सालदेखि नदीपुरमै परिवार बस्थ्यो, ऊचाहिँ कहाँ–कहाँ डुल्थ्यो । पहिले पनि छिमेकीसँग बातचित खासै हुन्थेन, अहिले पनि गर्दैन,’ पुनका छिमेकी छबिलाल पुन भन्छन्, ‘मान्छे चाहिँ साह्रै साधारण तर असल छ । बडप्पन छैन, त्यही त ठूलो कुरा रहेछ, भ्रष्टाचार चाहिँ उसले गर्दैन ।’
पर्यटक बस चढेर चितवन गए, चितवनमै मनाउँदैछन् दशैं
मन्त्री पुन पारिवारीक तथा आफ्ना योजनाबारे धेरै कुरा गर्न चाहेनन् । कसैले सोधे, किताब किनेर पढ्न सुझाउँछन् । मन्त्री पुनले दशैं कसरी मान्ने भन्नेबारे भने कुराकानी गरे ।
पोखरामा श्रीमती र छोरीसहित बसेका पुनले दशैं भने चितवनमा मनाउँदै छन् । पोखरा विमानस्थलबाट ट्याक्सी चढेर सुरक्षाबिना नै नदीपुर घर पुगेका मन्त्री पुन उसैगरी मंगलबार पर्यटक बस चढेर चितवन गएका छन् ।
उनको भाइबहिनीसहित आफन्त चितवनको राप्ती नगरपालिकाको खुरखुरे भन्ने ठाउँमा छन् । ‘म स्कुल, क्याम्पस पढेको, पढाएको ठाउँ चितवन नै हो । मेरा भाइबिहनी सबै उतै छन् ।
दशैं उतै मान्ने हो । घरको ठूलो मै हुँ, मैले नै टीका लगाइदिनुपर्छ,’ महावीरले दशैंबारे अनलाइनखबरलाई बताए, ‘बा–आमा धेरै सालअघि खसे । आफूलाई चाहिँ आफैंले लगाउने हो ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका नागीमा जन्मिएका महावीरको परिवार चितवन सरेको थियो र उनले पनि ७ कक्षादेखि त्यहीँ पढेका हुन् ।
‘गाउँ ऊबेलै छोडेको उता गइन्नँ, चितवन जाने हो,’ महावीरले सुनाए, ‘भाइबहिनीलाई टीका लगाइदिने, अनि दशैं मानेर काठमाडौं जाने हो ।’
चितवनमै पढेर, अध्यापनसमेत गराएका पुन त्यहीँबाट अमेरिका पुगेका थिए ।
‘म जन्मेको म्याग्दी हो तर स्कुल, क्याम्पस, पढाएको, चितवन हो, त्यहीँबाट अमेरिका गएको हो, मेरो घर नै चितवन हो भन्ने धेरैलाई थाहा छैन,’ पुनले भने ।
बिना सुरक्षा मन्त्री महावीर पत्नीसहित पोखराको सडकमा देखिए । पहिलेजस्तै साधारण पोशाक र जीवनशैली झल्काउँदै किनमेल गरे । उनीहरू पोखराको सडकमा हिँडेको भिडियोसमेत अहिले भाइरल भइरहेको छ ।
महावीरकी एक छोरी अहिले बंगलादेशमा स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा लिइरहेकी छन् भने अर्की छोरी पोखरामै छन् । उनी मंगलबार पोखराबाट पर्यटक बसमार्फत चितवन गएका हुन् ।
‘सुरक्षा पनि चाहिँदैन भन्नेभयो र लिनुभएको पनि छैन । तर, उहाँ पर्यटक बस चढेर परिवारसहित चितवन जानुभयो,’ कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतलले भने ।
मन्त्री पुनप्रति आशा
मन्त्री पुनको जीवनशैलीबारे धेरैले प्रशंसा गरेका छन् भने कतिपयले साधारण हुने नाममा आफ्नो लवाइ, खवाइ र व्यवस्थापन पनि व्यवस्थित ढंगले नगर्ने व्यक्तिका रुपमा पनि चित्रण गर्ने गरेका छन् ।
सडकमा उनी हिँडिरहेको दृश्य नियालेका रेमश गिरीले भने, ‘मन्त्री भइसकेर पनि यति आम मान्छे कहिल्यै देख्नुभएको थियो ? एउटा आम मान्छे बनेर आम मान्छेकै पक्षमा काम गरिदियो भने देश छिटै बन्ने छ, एक पटक मन्त्री महावीर पुनलाई हेर्नु र यसअघिका मन्त्रीको रवाफ हेर्नु । तर, महावीर साधारण बनेरमात्रै सुख पाउँदैनन्, नागरिकमा आशा जगाउने काम नै गर्नुपर्ने छ ।’
नदीपुरमा बस्दादेखि नै चिनेका, उनको जीवनशैलीलाई नियालेका छिमेकीहरू उनलाई अनेक रुपले चिन्छन् । विश्वकै प्रतिष्ठित पुरस्कार पाएर पनि विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा देशमै केही गर्छु भनेर लाग्ने हुटहुटी भएको एकदमै कम मान्छेहरूमा उनलाई लिने गरेका छन् ।
‘महावीर मान्छे कहिले एकलकाटेजस्तो देखिन्छ, कहिले मुढी, भौंजाहाजस्तो देखिन्छ, कहिले कुनै काममा लागेपछि लागेकोलाग्गै गर्ने माहुरीजस्तो देखिन्छ, कहिले साह्रै जटिल र सरल एकसाथजस्तो देखिन्छ,’ उनलाई वर्षौंदेखि चिनेका छिमेकी तथा आफन्तहरू भन्छन्, ‘तर, कहिले बिताब बेच्दै सडकमा हिँडेको छ, अहिले मन्त्री भएपछि आम मान्छेकै हिसाबले सडकमा हिँडेको छ, सार्वजनिक बस चढेको छ, जेहोस्, महावीर मान्छे चाहिँ नमूनै हुन् ।’
मन्त्री महावीरले दशैं ढुक्कले मानेर काठमाडौं फर्किएर नियमित काममा फर्किने बताए । दशैं चाहिँ उनले कसरी मनाउँदैछन् त ? शुभकामना बाँडिरहेका कतिलाई फोनमा त कतिलाई भेटमा नछुटाई भनिरहेका थिए, ‘जस्तो म तास खेल्दिनँ, मेरो बानी छैन, त्यस्तै दशैंको शुभकामना दिने पनि बानी छैन ।’
प्रतिक्रिया 4