
केही सातादेखि सम्भावित बाढीका बारेमा मौसमविद् एवं विशेषज्ञहरूले सूचना सम्प्रेषण गरिरहनुभएको थियो । उहाँहरूले नै भारी वर्षाका बारेमा स्पष्ट विवरण बताएपछि हामी सक्रिय बनेका हौं, त्यसपछि पूर्वतयारी थालेका थियौं ।
हामीले यसप्रति पूर्वतयारीमा लाग्नुपर्ने निष्कर्ष नै निकाल्यौं र सतर्क बन्यौं । सबैले आ-आफ्नो तहबाट पूर्वतयारी गर्नुपर्छ भनेर नीतिगत निर्देशन पनि भयो । त्यसपछि हामीले विपद व्यवस्थापन प्राधिकरण लगायतका अरू संयन्त्रहरूसँग बैठक बसेर आवश्यक तयारी गर्यौं ।
हामीले तयारीका बारेमा आवश्यक जानकारी लियौं । नेपाल प्रहरीको विपद व्यवस्थापन कार्यालय अनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालयबाट आवश्यक जानकारी लियौं । त्यसपछि हामी पूर्वतयारी राम्रो रहेछ भन्नेमा पुग्यौं ।
पूर्वानुमानअनुसार नै ठूलो पानी पर्न थाल्यो । मुलुकका सबै संयन्त्रहरू एकसाथ परिचालन गर्नुपर्ने अवस्था भयो । विपद् व्यवस्थापन प्राधिकरण र अरू संयन्त्रहरूलाई थप क्रियाशील बनायौं ।
देशभरका प्रमुख जिल्ला अधिकारी अनि सुरक्षा निकायलाई सतर्क बनाएका थियौं । समस्या आउनुभन्दा अघि नै सबै चनाखो भएर बस्ने, अनि समस्या देखिनासाथ सम्बन्धित ठाउँमा पुग्ने रणनीति बन्यो ।
अहिले राजनीतिक रूपमा अविश्वास कायम थियो । शान्ति सुरक्षामा हुनसक्ने चुनौतीका बारेमा सरकार सजग नै छ । त्यसैमाथि यो मानवीय विपत्ति आउँछ कि भन्ने त्रास झनै बढेको थियो । यसैमा फेरि राजनीतिक अवस्था पनि अनुकूल थिएन, चाडबाडका कारण मानिसहरूको आवतजावत बढेको थियो ।
यहीबीचमा विपद निम्तिने कारणले समस्या झन् बढ्ला कि भन्ने भयो । तर त्यति हुँदाहुँदै पनि नागरिकको ज्यान जोगाउने कर्तव्यबोध सरकारलाई भयो । अहिलेको नेतृत्वको संस्कार पनि फरक हो ।
‘समन्वयात्मक रूपमा काम भयो’
प्रकोपविरुद्ध लड्ने मामिलामा कमान्ड गर्नेभन्दा पनि सबैसँग भएको हामीसँग भएको क्षमताको समन्वयात्मक रूपमा परिचालन गरेर नागरिकको ज्यान जोगाउनुपर्छ भन्ने नै हाम्रो उद्देश्य रह्यो । अहिले जनताको ज्यान जोगाएर उनीहरूको विश्वास जोगाउनुपर्छ भन्ने भयो ।
राज्यशक्तिको प्रयोग गर्ने, हैकम जमाउनेतिर कुनै ध्यान दिएनौं । हामीले त त्यो सोचलाई निरुत्साहित गर्नुपर्ने थियो ।
यो सरकार आएकै सुशासन र सेवा प्रवाहका लागि हो । यी दुई विषयलाई सम्बोधन गरेमा नागरिकको विश्वास जित्न सकिन्छ र निर्वाचनका लागि सहज वातावरण बन्छ भन्ने हाम्रो उद्देश्य हो ।
शान्तिसुरक्षा भएन र अविश्वास बढ्दै गयो भने चुनावको वातावरण बिथोलिने भएकाले हामीले त्यसलाई चिर्नु नै मूल उद्देश्य थियो ।
यसमा हामी सबैले खुला हृदयले काम गरेका छौं । अरु बेलाभन्दा पनि यतिबेला स्वयंसेवी भावना जागृत भएको छ । अहिलेको सरकार ‘सेवक सरकार’को भावनाले काम गरेको हो । एक जनाको पनि रगत बग्नु हुँदैन र ज्यान जानु हुँदैन भन्ने उद्देश्यले नै हामी सक्रिय बन्यौं ।
भर्खरै जेनजी विद्रोहमा ठूलो जनधनको क्षति भयो । यो तहको नोक्सान अब नदोहोरियोस् भन्ने हाम्रो उद्देश्य छ । त्यसैलाई केन्द्रमा राखेर मानवीय भावनाका साथ काम गरेका हौं ।
दम्भले बिगार्ने रहेछ
हामीले विगतका कयौं उदाहरण हेरेका छौं । शासकीय दम्भले समाधान नदिने रहेछ । यो सरकार शासकीय सरकार होइन, हामीलाई त्यो दम्भ आवश्यक छैन, नागरिकको सेवा गर्ने मात्रै उद्देश्य हो । मन्त्रिमण्डलमा रहेका व्यक्तित्वहरूले पनि नागरिकको विश्वास जित्नुपर्छ भन्ने भयो ।
त्यसले नै हाम्रो वैधता आउने हो । हामी चुनावबाट आएको होइन, त्यसैले जनमत वा सांसदहरूको संख्याको बल छैन । हामी विशुद्ध जनताको विश्वासका आधारमा अघि बढ्ने हो । हाम्रो वैधता भनेकै कामबाट जनताको विश्वास जित्ने हो । त्यसमा हामीलाई असफल हुने छुट छैन ।
हामीले के अनुभव गर्यौं भने, बोली र व्यवहारका कारण आधाजसो काम बिग्रने रहेछ । तुच्छ बोली र शासकीय दम्भ प्रदर्शन गरेमा राज्यसंयन्त्र उचित ढंगले चल्नसक्दो रहेनछ ।
हामीबीच कसैलाई पनि देवत्वकरण हुनु छैन, मात्रै जनताको सेवामा अधिकतम काम गर्ने उद्देश्य छ । नागरिक र सरकारबीचको सहकार्यले राज्यका सबै संयन्त्रहरू सक्रिय बनाउन सकिएको हो । जसको जस सबै नागरिकले लिनुपर्छ । सरकारले मात्रै जस लिने कुरा होइन ।
इलाममा केन्द्रित छौं
इलाममा अहिले पहिरोले बढी क्षति गरेको छ । हामीलाई इलाममा त्यसरी पहिरो गएको थाहा पनि थिएन । विगतमा पनि त्यसरी पहिरो गएको थिएन भन्ने कुरा आएको छ । र, कतिपय ठाउँको पहिरोबारे पूर्वजानकारी र पूर्वसूचना भएन । काठमाडौंमा सरेको झरी त्यता केन्द्रित भएकाले जनधनको क्षति भएको देखिन्छ ।
अहिले गृहमन्त्रालय र विपत व्यवस्थापन प्राधिकरण इलाम र आसपासका क्षेत्रमा केन्द्रित भएको छ । सुरक्षा निकायहरू सतर्क छन् र कुनै पनि बेला उद्धारका लागि तयार छन् ।
तर, जुन दुःखद घटना भयो, त्यो सरकारको काबुबाहिरको परिस्थिति थियो । तर उद्धार र घाइतेहरूको उपचारका लागि सरकार सक्रिय नै छ ।
हामीले एउटा स्पिरिटमा काम गरियो, हामीबीच कुनै अस्वस्थ प्रतिस्पर्धा पनि भएन । एक अर्काको परिपूरकको रूपमा काम गरियो । यसको मूल दायित्व गृहमन्त्रालय र मातहतको विपद व्यवस्थापन प्राधिकरणकै हो ।
तथापि, सुरक्षा निकायलगायत अरू मन्त्रालय पनि सक्रिय बने । र, यसको व्यवस्थापनमा सहज भयो ।
हामीले विपद् व्यवस्थापनलाई यान्त्रिक र ज्यादा व्यवस्थापकीय रूपमा सोचेनौं । बरु समन्वयात्मक रूपमा जसले जे-जे काम गर्नुपर्ने हो, गर्दै गयौं । ज्यादा व्यवस्थापकीय र प्रशासनिक प्रक्रियामा लाग्यो भने नतिजा आउँदैन भन्नेमा हामी सचेत थियौं ।
विभिन्न मन्त्रालय र निकायको सहकार्यबाट मात्रै यो सम्भव भएको हो ।
यो घटनाले पाठ पनि सिकायो
कतिपय विशेषज्ञले हामीलाई राम्रो सल्लाह र मार्गनिर्देशन गर्नुभयो । कतिपय विशेषज्ञ हाम्रो संयन्त्रभन्दा बाहिर हुनुहुन्छ । उहाँहरूसँगको परामर्श पनि फलदायी भयो, कतिपय संस्थासँग २०औं वर्षको अनुभव रहेछ, उहाँहरूले दिएको सुझाव र सल्लाहअनुसार हामीले गरेको काम गरेका हौं ।
हामीले सम्बन्धित निकायहरूलाई अनावश्यक हस्तक्षेप गर्नुको साटो काम गर्ने वातावरण दियौं, त्यसले पनि सहज भएको हुनुपर्छ । नागरिकले पनि ‘यिनीहरू हाम्रै सरकार हुन्, हामीलाई सहयोग गर्न आएका हुन्, हामी र यिनीहरूबीच फरक छैन’ भन्ने महसुस गर्न पाए । त्यसले काम गर्ने वातावरण बन्यो ।
नेपालमा विशेषज्ञहरूको अभाव रहेनछ । स्रोत-साधन पनि नभएको हैन, बरु यदाकदा त्यसको दुरुपयोग हुने गरेको हो । काममा दोहोरोपन हुन नदिनु र अनावश्यक हस्तक्षेप नगर्नु नै ठूलो कुरा रहेछ । हामीले यस्ता विषयमा ध्यान दिनुपर्ने रहेछ ।
अबको प्राथमिकता शान्ति सुरक्षा
अब गृहमन्त्रालयले शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिनेछ । कुनै एउटा घटनाले मानिसलाई राज्य र सरकारप्रति नकारात्मक धारणा बनाउन बल पुग्दो रहेछ, हामीले त्यस्तो अवस्थालाई सकेसम्म निरुत्साहित गर्नुपर्छ । कुनै पनि कारणले शान्ति सुरक्षामा दखल नपुगोस् भन्नेमा सरकार सचेत छ ।
अहिले राष्ट्रिय सुरक्षा सरकारका लागि महत्वपूर्ण हो । हामी कुनै पनि घटनामा जनधनको क्षति नहोस् भन्ने चाहन्छौं । बाढी-पहिरोको कतिपय घटनामा जनधनको क्षति हुनु काबुबाहिरको परिस्थिति हो, सकेको भए हामीले त्यसलाई पनि रोक्न वा कम गर्न चाहन्थ्यौं ।
नागरिकको ज्यान तलमाथि नहोस् भनेर काम गर्न सरकार तयार छ । शान्ति-सुरक्षाका लागि हामीले सक्दो प्रयास गर्नेछौं । राजनीतिक द्वन्द्वलाई कम गर्नुपर्नेछ । समाजमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्नुपर्नेछ । नागरिकका आधारभूत सुविधा सहज बनोस् भन्ने विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्न खोजेको हो ।
(गृहमन्त्री अर्यालसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4