
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचन सुरक्षा विषयमा प्रधानमन्त्री सुशीला कार्की र सुरक्षा निकाय प्रमुखहरूसँग सिंहदरबारमा छलफल गर्नेछ।
- निर्वाचन आयोगले मतदाता नामावली संकलन, दल दर्ता, निर्वाचन सामग्री व्यवस्थापन लगायत तयारीबारे जानकारी दिनेछ र सरकारको पक्षबाट विषय प्रस्तुत गरिनेछ।
- निर्वाचन कार्यतालिका अनुसार मंसिर १ देखि १० गते दल दर्ता हुनेछ र फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
२१ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट तय भएको छ । भेटमा निर्वाचन सुरक्षा लगायतका विषयमा छलफल हुने घिमिरेले जानकारी दिए ।
‘मतदाता नामावली संकलन, दल दर्ता, निर्वाचन सामग्री व्यवस्थापन लगायतको विषयमा आयोगले आफ्नो तयारीबारे जानकरी गराउँछ । त्यसपछि सरकारको र सुरक्षा निकायको तर्फबाट विषयहरू प्रस्तुत हुन्छन्,’ सूचना अधिकारी घिमिरेले अनलाइनखबरसँग भने । उनका अनुसार एकै चरणमा चुनाव गर्न सकिन्छ कि सकिंदैन भनेर समेत छलफल हुनेछ ।
निर्वाचन आयोगले सोमबार मात्रै निर्वाचन निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका सार्वजनिक भएको भोलिपल्टै आयोगले प्रधानमन्त्री कार्कीसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले गरेको स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।
सूचना अधिकारी घिमिरेका अनुसार निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ ।
कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ ।
निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कातिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ।
प्रतिक्रिया 4