+
+
Shares
जेनजी युवा भन्छन् :

‘अख्तियार प्रमुखले राजीनामा नदिए जनताको तहबाट बहिष्कार हुन्छ’

भ्रष्टाचारबाट हामी सबै ग्रसित छौं । बेरोजगारी बढिरहेको छ । सानाभन्दा साना काम गर्न पनि टेबुलमुनिबाट पैसा लुकाएर दिनुपर्ने अवस्था छ । यो त सबैले भोगिरहेका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केही जेनजी अभियन्ताहरूले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन्।
  • अभियन्ताहरूले अख्तियार प्रमुखको संलग्नता र आयोगको निष्पक्षता माथि प्रश्न उठाउँदै राजीनामा नआए संसद् नभएको कारण स्वेच्छिक राजीनामा दिनुपर्ने बताए।
  • राजीनामा नआएमा आन्दोलन जारी रहने र सबै नेपालीले भ्रष्टाचार अन्त्यका लागि सामाजिक दबाब दिनुपर्ने उनीहरूको अपिल छ।

केही जेनजी अभियन्ताहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर एउटा उजुरी दर्ता गरे जहाँ अख्तियार प्रमुख प्रेमकुमार राई लगायतको राजीनामा माग गरिएको छ । यसअघि उनीहरूले प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय लगायत सरोकारवाला निकायहरूलाई बोधार्थसहित इमेल पनि पठाइसकिएको बताए । ‘त्यही प्रक्रियामा आज हामीले यो दर्ता गरेका छौं,’ अभियन्ताहरूले भने ।

अख्तियार प्रमुखको राजीनामा नआए के गर्ने ? मंगलबार उजुरी दर्ता गर्न पुगेका जेनजी अभियन्ताहरू अमित खनाल, रिजन  रानामगर, पेमा वाङ्मो लामा र मोनिका लगायतको जवाफः

तपाईंहरुले राजीनामा किन मागेको ? के हो कारण ?

राजीनामा माग्नुको मुख्य कारण  के हो भने, हाम्रो आन्दोलनकf प्रमुख मुद्दाहरु भनेको नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो। भ्रष्टाचार अन्त्य गर्नको लागि आज नेपालको संविधानले सुनिश्चित गरेको भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो ।

यो नै  अनुसन्धान र अभियोजन गर्ने आधिकारिक र नियमाकीय निकाय हो । त्यसकारण यो आयोगमा विभिन्न किसिमले प्रश्न उठिरहेका व्यक्तिहरू, निष्पक्ष नभएका आयुक्त अथवा प्रमुख आयुक्तहरू रहँदासम्म हामीले अपेक्षा गरेअनुसारको भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुने सम्भावना देखिएन । त्यसैले हामीले राजीनामा माग्नु पर्‍यो ।

यसलाई सपोर्ट गर्नको लागि हामीले केही प्रारम्भिक अध्ययनहरू गर्‍यौं । अध्ययनमा हामीले मुख्यतः चारवटा कुरा देख्यौं। पहिलो कुरो नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा नियामकीय निकायको अधिकारीको रूपमा उहाँको संलग्नता थियो। त्यो भ्रष्टाचारमा उहाँ मुछिनु भएको छ कि छैन भन्ने कुरा हाम्रो सवाल होइन। तर त्यसलाई नियमन गर्ने निकायमा उहाँको उपस्थिति थियो।

वाइडबडी घोटालामा पनि बोलपत्रहरु आह्वान गर्ने विषयमा उहाँको समितिबाट निर्णय भएको स्थिति छ ।  भुटानी शरणार्थी प्रकरणमा छुटेका भुटानी शरणार्थीहरूको नाम लिस्ट संकलन गर्न एउटा गृह मन्त्रालयमा कार्यदल बनेको छ र त्यो कार्यदल बन्ने बखतमा उहाँ गृह मन्त्रालयको गृह सचिव रहनुभएको थियो ।

पछिल्लो समय विशेष अदालतले आफ्नो फैसलाको पूर्णपाठमा लेखिसकेको छ । विभिन्न किसिमका मुद्दाहरुमा अभियोजन गर्ने प्रक्रिया सेलेक्टिभ प्रोसिक्युसन अर्थात् चयनात्मक अभियोजन भयो। त्यसैले आयोगको निष्पक्षता माथि प्रश्न उठेको छ भनेर पूर्णपाठमा ती कुराहरू आइसकेपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।

अहिले अन्तरिम सरकार बनेको स्थितिमा  कुनै पनि हालतमा उहाँहरूलाई बाध्यकारी स्थितिमा हटाउन सक्ने स्थिति छैन। संवैधानिक आयोगका आयुक्त ज्यूहरुलाई हटाउनको निमित्त महाभियोग लगाउनुपर्ने हुन्छ। महाभियोग लगाउनको निमित्त संसद् आवश्यक छ।

त्यसैले संसद् नरहेको स्थितिमा उहाँहरुले स्वेच्छिक राजीनामा दिएर सरकारलाई, जनताको आशालाई र यो जेन्जी आन्दोलनको प्रमुख मुद्दालाई सम्बोधन गरिदिनु हुन्छ भन्ने हाम्रो प्रश्न हो ।

यदि उहाँले राजीनामा नदिएको खण्डमा तपाईंहरूको अगाडिको कदम के हुन्छ ? 

अब यत्रो आन्दोलन भइसक्यो, देशले यति धेरै क्षति भोगिसकेको अवस्थामा उहाँहरू सबैले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्नेमा हामी आशावादी छौं।

जनताको आवाज उहाँहरूले पनि सुन्नुहुन्छ । भ्रष्टाचारको अन्त्य होस् भन्ने त उहाँहरुको पनि इच्छा होला भन्नेमा हामी एकदमै आशावादी छौं।

उहाँहरूको राजीनामा आएन भने ?

अहिलेसम्म आशावादी छौं । अब ह्वाट इफ भन्ने योजना त हामी त्यसपछि बनाउँला नि !

अहिले निवर्तमान प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध पक्राउ गर्न किटानी जाहेरी दिने प्रयास भइरहेको छ । यसबारे के सोच्नुभएको छ ?

आन्दोलनको जनादेशमा नै हामीले कतिपय कुरा इन्स्यु गरिसकेका छौं । जेनजी आन्दोलनदेखि अहिलेसम्मका गतिविधिहरू हामीले संविधानकै आधारमा, हामीसँग भएको न्याय नीतिहरूकै आधारमा के-के गर्न सकिन्छ भनेर एकदमै प्रष्ट रूपमा लेखेका छौं।

अहिले विभिन्न खालका मानिसहरू आइरहेका छन् । हिंसा गर्ने भन्ने हाम्रो इन्टेन्सन छैन । हाम्रो माग चेन अफ कमान्डमा रहेका मानिसहरूलाई हामीले कारबाही गर्नुपर्ने हो, त्यो प्रक्रिया अहिलेको अन्तरिम सरकारबाट हुनुपर्छ । साथै, समयमै चुनाव हुनुपर्छ भन्नेमा हामी अडीग छौं ।

राजीनामा मागिरहँदा केही अल्टिमेटम दिनुभएको छ ?

ठ्याक्कै अल्टिमेटम भन्दा पनि यथाशीघ्र राजीनामा चाहियो भन्ने हो । अल्टिमेटम दिँदैमा आजको भोलि राजीनामा आउँछ भन्ने पनि होइन होला । तर, सकेसम्म यसलाई चाँडो गराएर किनकि हाम्रो मुख्य मुद्दा त भ्रष्टाचारकै थियो।

यसलाई राम्रोसँग, पारदर्शी रूपमा छानबिन गर्नको लागि पुराना दलहरूलाई जति पनि भ्रष्टाचारका अभियोगहरू लागेका छन्, उनीहरुलाई रोक्नको लागि त त्यहाँ पनि एउटा निष्पक्ष आयोगको गठन हुनुपर्छ। त्यहाँ व्यक्तिहरु पनि एकदम निश्चल र पारदर्शी ढंगका मान्छेहरू हुनुपर्छ।

यो यदि उहाँ (अख्तियार प्रमुख प्रेमकुमार राई)ले गर्नुभएन भने जनताको म्यान्डेट र चाहनालाई अस्वीकार गरेर पुरानै दलहरूलाई उहाँ नै हो हाम्रो गुरुहरू भनेर चरण बन्दना गर्न खोजेको भन्ने कुरा बुझिन्छ ।

त्यो कुरा बुझ्ने बित्तिकै जनताले पनि उहाँहरुलाई आफ्नो तहबाट बहिष्कार गर्ने कुरा हुन्छ। पत्रकार, नागरिक, जेनजी सबैले सामाजिक सञ्जाल र शान्तिपूर्ण ढंगले आआफ्नो ठाउँबाट दबाब सिर्जना गरेर यथाशीघ्र गराउनुपर्ने हुन्छ ।

हामीले मात्र गर्न सक्ने कुरा हैन यो। सम्पूर्ण नेपाली एक ठाउँमा आएर गर्नुपर्छ । किनकि भ्रष्टाचारबाट हामी सबै ग्रसित छौं । बेरोजगारी बढिरहेको छ । सानाभन्दा साना काम गर्न पनि टेबुलमुनिबाट पैसा लुकाएर दिनुपर्ने अवस्था छ । यो त सबैले भोगिरहेका छौं ।

अब हामी एक ठाउँमा आएनौं, पार्टीको झोला बोकेर हिड्यौं, अहिले पनि आयोगमा भएका जति पनि कर्मचारी हुनुहुन्छ उहाँहरुले पनि त्यही पार्टीकै झोला बोक्ने उहाँहरुकै चरण बन्दना गर्ने हो भने त हामीले अल्टिमेटम दिएर मात्र त हुँदैन । नागरिकहरूलाई पनि हाम्रो अपिल छ । सबैजनाले आ-आफ्नो तह तप्काबाट प्रेसर दिनुपर्छ । नैतिकताको आधारमा तपाईंले राजीनामा दिनुस्।

भोलि छानबिन गर्दै गर्दा दोषी नदेखिए पुनर्वहाली पनि त गर्न सकिएला । अहिलेलाई सहज बनाइदिनुपर्छ ।

देशमा चुनाव हुँदैछ । त्यतिबेलासम्म भ्रष्टाचारीहरूलाई मुद्दा लगाउन सकियो भने कम्तीमा उनीहरूले चुनाव लड्न नदिने वातावरण गरेर नयाँ मानिसलाई ल्याउन सकियो भने हाम्रा मुद्दाहरू समाधान होलान् । नयाँ अनुहारहरु देख्न पाइएला भन्ने हाम्रो माग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?