+
+
Shares

नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर

यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच ऊर्जा, स्वास्थ्य, कृषि र समावेशी विकासका लागि वित्तीय र प्राविधिक सहयोगसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ।
  • जर्मन सरकारले 'पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम' मा २० मिलियन युरो वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • यी सम्झौताका परियोजनाहरू ५ सेप्टेम्बर २०२९ भित्र सम्पन्न गरिनुपर्ने र नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने उल्लेख छ।

२२ असोज, काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे ।

यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय विवरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ ।

यो परियोजना नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन गरिने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने उल्लेख छ ।

सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ ।

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको जनाइएको छ ।

यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले विभिन्न क्षेत्रमा सहयोग पु-याउने बताइएको छ ।

उक्त परियोजना स्वास्थ्य क्षेत्रमा, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि निरन्तर समर्थन प्रदान गर्दै स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाउन सहयोग गर्नेछ ।

त्यसैगरी कृषि तथा निजी क्षेत्रको विकास, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रममासमेत सहयोग पु-याउने परियोजनाको लक्ष्य छ ।

परियोजनाले थप अध्ययन तथा विज्ञ कोषमार्फत सल्लाहकार तथा प्राविधिक सहायता प्रदान गर्नेछ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्रअर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।

नेपालका लागि जर्मन सङ्घीय गणतन्त्रका राजदूत भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?