
२३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानको अवलोकन गरेका छन् ।
अवलोकनको क्रममा मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
टीयू क्रिकेट स्टेडियमलाई सबैले महत्त्वका साथ हेरिरहेको भन्दै चाँडोभन्दा चाँडो काम सकेर ह्यान्डओभर गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
सरसर्ती हेर्दा निर्माण सम्पन्न हुने चरणमा काम भएको आफूले पाएको र क्वालिटीका कामबारे भने प्राविधिक टिमले हेर्ने उनको भनाइ छ ।
क्रिकेट मैदान निर्माणको काम अगाडि बढाउन अर्थ मन्त्रालयले पनि सहयोग गर्ने मन्त्री घिसिङको भनाइ छ ।
क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने भन्दै उनले सेकेन्ड फेजको काम पनि चाँडै अगाडि बढाउने बताए ।
बिडिङ प्रोसेसमा लगेर यसलाई छिटोभन्दा छिटो कम्प्लिट गरेर देशको एउटा राष्ट्रिय महत्त्वको क्रिकेट स्टेडियम बनाउने उनले बताए ।
नेपालभित्रै अन्तर्राष्ट्रिय क्रिकेटहरू सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने एकदमै आवश्यक रहेको उनको भनाइ छ । यसमा क्रिकेट संघ पनि लागि रहेको उनले बताए ।
एनपीएल सञ्चालन हुनुभन्दा अगाडि गर्नुपर्ने सबै कामहरू सकाउन उनले सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
उनले भने, ‘नेपालको यो पहिलो प्राथमिकताको नयाँ स्टेडियम हो । हामीले खेलका धेरै पूर्वाधारहरू बनाउनुपर्ने छ । अरू पनि पूर्वाधारलाई हामीले प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्नेछ ।’
नेपाली युवा खेलाडीहरूको चाहना अनुसार जुन सुकै सरकार आए पनि खेलकुदलाई प्राथमिकतामा दिनुपर्ने उनले बताए । यो सरकारले पनि प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।
गत फागुनदेखि यस क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको हो ।
२० फागुनदेखि सुरु भएको निर्माण कार्य २४ वैशाखभित्रै सक्ने भनिए पनि समयमा काम सम्पन्न हुन सकेन । समय थप गरेर अहिले निर्माणको कामलाई तीव्रता दिइएको छ ।
प्रतिक्रिया 4