
केपी ओलीको जुन प्रवृत्ति छ, उहाँको जुन किसिमको चरित्र छ, त्यो सधैंभरि प्रष्टै भएर आइराखेको छ । उहाँ सुध्रिने होइन, उहाँ आफू बाहेक अर्को ठिक छ भनेर मान्नुहुन्न । आफूबाहेक अर्को गतिलो छ भन्ने कुरा उहाँको दिमागमै छैन । सबै सर्वज्ञाता मै हुँ, मलाई जति कसैलाई थाहा छैन, मैलेबाहेक अरु कसैले गर्न सक्दैन भन्ने अहंकार उहाँमा छ ।
सायद यति ठूलो अहंकार भएको मान्छे नेपालको राजनीतिमा अहिलेसम्म कोही पनि देखिएको छैन, हतपत्ति भविष्यमा पनि आउँदैन होला ।
त्यही अहंकारजन्य अभिव्यक्ति असोज २३ गते गुण्डुको कार्यक्रमबाट पनि व्यक्त भयो ।
उहाँका बोली, उहाँका कामहरुमा जनताको समर्थन, लोकप्रियता भएको भए त यो (जेनजी) आन्दोलन नै हुँदैनथ्यो । यो घटना नै हुँदैनथ्यो ।
अब खाँचो उहाँहरुले आत्मसमीक्षा गर्नपर्ने हो । हाम्रो चाहना आफैंले आत्मसमीक्षा गरेर अगाडिको बाटोलाई प्रष्ट गरुन् भन्ने हो ।
उहाँहरु भएको पार्टीले समाज परिवर्तनका लागि, राजनीति परिवर्तनका लागि योगदान पनि गरेको छ ।
उहाँहरु आफैंका पनि केही योगदान छन्, योगदान नै नभएको पनि होइन । त्यसलाई सम्मान जोगाउने बाटोमा जानुहुन्छ भन्ने हाम्रो अपेक्षा हो । जानुहुँदैन भनेदेखि त यसैगरी बढारिने अवस्था हुन्छ ।
उहाँहरुकै भाषामा भन्ने हो भने अर्को एउटा ठूलो हावाहुण्डरीले उहाँलाई पाखा लगाउने अवस्था आउन सक्दछ ।
तथापि, तत्कालै अर्को आन्दोलन त देखिराखेको छैन तर पनि एउटा दम्भले हामी मुठभेड गर्न सक्छौं भन्ने उहाँहरुसँग छ ।
यो सारा तोडफोडको स्थितिको एउटा कारण त उहाँको अभिव्यक्ति पनि हो ।
सामाजिक सञ्जालमा जो अराजकता देखिन्छ त्यसको प्रारम्भ त उहाँले आह्वान गरेको होइन ? साइबर सेना भनेर उहाँले नै भनेको हो ।
आफ्नो विरोधी मान्छेमाथि अरिङ्गाल, बारुला, बाछ्युँ जस्तो गरेर आक्रमण गर भनेर उहाँले भनेको हो ।
एउटा राजनीतिक जिम्मेवारीमा भएको मान्छेले जब यस्तो खालका गैरजिम्मेवारी अभिव्यक्ति दिन्छन् भने त्यसको प्रभाव स्वाभाविक समाजमा पर्दछ । मलाई लाग्दछ त्यसैको प्रभावको शिकार उहाँ आफैं जेनजी आन्दोलनमा हुनुभएको हो ।
यति हुँदा पनि उहाँमा त्यो प्रवृत्ति गएको छैन । खराब मान्छे, आफैं सचेत हुँदैन । कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेको जस्तो हुन्छ । त्यो प्रवृत्ति ओलीजीमा भएकाले उहाँ सुध्रिने छाँट देखिएन ।
नेताराज अन्त्य हुनुपर्छ, राजनीतिक मुठभेड गरेर कहीँ पुगिँदैन
हामीले पुराना दलहरूलाई पटक–पटक चेतावनी दिइसकेका थियौं, अहिले नागरिकहरूले तपाईंहरुको कार्यशैली ठीक छैन भनेर । असफल भइसक्नुभयो भनेर जनताले भनिरहेका छन् भनेर ।
अहिले लोकतन्त्र बद्नाम भइरहेको छ । पार्टी अलोकप्रिय भइरहेको छ । हिजोका दिनमा हामीले त अभियान नै पनि चलायौं ।
हामीले नेताराजको अन्त्य हुनुपर्छ भनेकै हो । तर हाम्रो कुरा ती नेता र पार्टीहरूले सुनेनन् । अहिले नयाँ पुस्ताले उनीहरूलाई सत्ताबाट उतारिदियो ।
हो, जेनजीका पनि थुप्रै कमीकमजोरीहरू छन् होलान् । कयौं अराजकता छन् । उनीहरूको अब पार्टीले आफ्नो स्पेस (ठाउँ) आफैं बनाउने हो । तर प्रतिक्रिया दिएर अब पार्टीहरूको लागि ठाउँ बन्दैन ।
राजनीतिक मुठभेड गरेर कहीँ पुगिँदैन । समयसामयिक मुद्दाहरूलाई सम्बोधन गर्नुपर्दछ । अबको विकल्प भनेको चुनाव नै हो ।
पार्टी र नेताहरूको शासन–सत्ताप्रति देशव्यापी आक्रोश थियो । मेची–महाकालीका जिल्ला–जिल्लामा उहाँहरूकै पार्टीका नेता–कार्यकर्ताहरूले ठीक छैन भनेर भनिरहेको अवस्था थियो । तर त्यसलाई नेताहरुले वास्ता गरेनन् ।
सत्ता भनेको एउटा मद हुन्छ । केपी ओली सत्तामद भएको व्यक्ति हो । सत्ता नभइसकेपछि उहाँले केही पनि देख्नुहुन्न । किनकी उहाँ अहिले पनि सत्ताको मदमै हुनुहुन्छ । उहाँले मबाहेक अर्को कोही व्यक्ति प्रधानमन्त्री बन्न सक्छ भनेर दिनुभएको अभिव्यक्ति त सपना हो की विपना हो जस्तो भइरहेको छ ।
सरकारको सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी चुनाव
यो सरकारको सीमित कार्यसूची छ । उहाँहरुले पनि निश्चित सिमानाभित्र रहेर काम गर्ने हो । उहाँहरूले अहिले देशको कार्ययोजना र नीति बनाउन सक्नुहुन्न । उहाँहरूले अहिले दैनिक सेवा प्रवाहमा जोड दिने हो, जनतालाई सुरक्षाको प्रत्याभूति दिने हो र सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी भनेको चुनाव सम्पन्न गराउने हो ।
त्यो राजनीतिक जिम्मेवारी पूरा गर्ने बाटो राजनीतिक शक्तिहरुले पनि बनाउनुपर्छ । जेनजी युवाहरु पनि राजनीतिक एजेण्डा र रोडम्याप लिएर आउनुपर्छ अब ।
जेनजी भनेको एउटा उमेर समूह हो, यो हरेक घर–घरमा छ, राजनीतिक दलहरुमा छ । ती सबै एकैचोटमा सडकमा निस्किएका पनि होइनन् । जो सडकमा निस्किएर विष्फोटनको अवस्था निर्माण गरेर भ्रष्ट भनिएको र अलोकप्रिय भइरहेको सत्तालाई अपदस्थ गरे ।
त्यसपछिको विकल्प के हो त भनेर प्रष्टरुपमा चुनावमा केन्द्रित हुने गरेर संगठित शक्ति, नेतृत्व र कार्यक्रमसहित आउनुपर्दछ । त्यो भएन भने त कसैले पत्याउँदैन ।
हामी पारदर्शी प्रणालीमा छौं । चुनावमा पनि पारदर्शीको अपेक्षा गर्दछौं । बन्द कोठाबाट, एउटा नेटवर्कमा भएका सीमित व्यक्तिहरु त्यसमा अभ्यस्त हुनुहुन्छ भनेर त्यसले मात्र पुग्दैन ।
आम रुपमा नेपाली मतदातासँग नेपाली जनतासँग आफ्ना राजनीतिक एजेण्डालाई संगठित रुपमा नेतृत्वसहित प्रस्तुत गर्न सक्नुपर्छ ।
अहिले केही अभियन्ताहरु देखिन्छन् । छरिएर रहेकालाई उनीहरुलाई मिडियाहरुले बाहिर ल्याइदिनु भएको छ । त्यसबाट हामीले अलिकति त बुझ्न सक्दछौं । तर समग्र देशले त्यसरी बुझ्न सक्दैन । त्यसैले सबैले बुझ्ने ढंगले प्रस्तुत हुनुपर्दछ । त्यो उहाँहरुको पनि जिम्मेवारी पनि हो । सरकारले पनि राजनीतिक वातावरण बनाउनुपर्यो ।
राष्ट्रपति र प्रधानमन्त्रीले दलहरुसँग वार्ता गर्नुपर्छ
अहिले एउटा खड्किएको कुरा के छ भने यो सरकार निर्वाचनबाट आएको होइन, विद्रोही शक्तिको समर्थनमा बनेको छ, उनीहरुको वारेश मात्र हो, आफैं आन्दोलनमा संलग्न भएका व्यक्तिहरु होइनन् भन्ने जस्ता धेरै किसिमका सिमानामा छ सरकार । त्यसलाई बुझेर अघि बढ्नुपर्छ ।
पार्टीको सत्तालाई विस्थापित गरेर सरकार बनेको छ । व्यक्तिमात्र होइन, पार्टी पनि त सत्तामा थियो नि हिजो । कांग्रेस–एमाले सत्तामा थिए । हिजोका प्रमुख दल भनिएका सबैलाई विस्थापित गर्ने खालको राजनीतिक आक्रोश अझै पनि देखिन्छ । त्यो कति सही हो, यो कति सम्भव छ भन्ने कुराको अझै पनि गहन विश्लेषण आवश्यक छ ।
दलहरुसँग प्रधानमन्त्रीले नै गम्भीर रुपमा वार्ता गर्न सक्नुपर्दछ, पहिलो चरणमा । त्यसको लागि ब्रेकथ्रु राष्ट्रपतिले पनि गर्न सक्नुहुन्छ । उहाँ अनौपचारिक परामर्शमा हुनुहुन्छ भन्ने कुरा पनि आइराखेको छ । तर, उहाँले पब्लिकली आह्वान नै गर्नुपर्दछ, सबै दलहरुसँग वार्तामा बस भनेर । प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिनु पर्छ ।
वार्तामा राष्ट्रपति आफैं बस्ने होइन उहाँले आह्वान गर्ने हो, प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिने हो । त्यसपछि राजनीतिक वार्ता भएपछि प्राविधिक कामहरु, चुनावसँग जोडिएका कुराहरु निर्वाचन आयोगले गर्छ । पार्टीहरुसँग परामर्श पनि उसैले गर्छ ।
त्यसरी काम अलिकति बाँडेर जान सक्छ सरकार तर त्यसरी जान सकेको छैन । उनीहरुको पनि मनोविज्ञान हामी पार्टीका होइनौं, हामी निष्पक्ष छौं भन्ने छ । पार्टी भनेर सबै पक्ष होइन । पार्टी भनेको त लोकतन्त्रको अंग हो । लोकतन्त्रको संरचना हो । त्यसभन्दा बाहिर आफूलाई राखेर सरकार चलाउँछौं, चुनाव गराउँछौं भन्नु त प्रतिउत्पादक हुन्छ । यो कुण्ठाबाट सरकारमा बस्ने मान्छेहरु पनि मुक्त हुनुपर्छ ।
मन्त्रिपरिषद्मा भएका केही सदस्यहरु पार्टीमा हुनुहुन्न । तर केही त हिजै राजनीतिक आकांक्षा प्रकट भइसकेकाहरु पनि हुनुहुन्छ । कोही नयाँ राजनीतिक भूमिकाको खोजीमा रहेको प्रष्ट भएको छ । देशमा मात्रै होइन देश बाहिर पनि प्रकट भएको छ । त्यसकारण उहाँहरुले भोलि राजनीतिमा आउन सक्नुहुन्छ । त्यो नराम्रो कुरा होइन । त्यसैले दलहरुसँग पनि संवाद गर्नुपर्छ ।
दलहरुले सरकारलाई साथ दिनुपर्छ
जेनजीसँग पनि संवाद गर्नुपर्छ । सबैसँग वार्ता गरेर चुनावको वातावरणलाई विश्वसनीय बनाउनुपर्छ । चुनाव हुन्छ–हुन्छ भनेर एकोहोरो भट्टयाएरमात्र हुँदैन ।
चुनाव भनेको राजनीतिक काम हो, पोलिटिकल इभेन्ट हो, पोलिटिकल एक्सन हो । यो प्राविधिक कुरा होइन । नत्र हिजो ज्ञानेन्द्र शाहको पालामा चुनाव–चुनाव भनेको जस्तै हुन्छ । ज्ञानेन्द्रले प्रतिनिधि सभाको चुनाव गर्दिनँ भनेर कहिले भनेका थिए र ? सरकार बनाएका थिए, चुनाव गर्छु नै भनेका थिए तर, त्यो चुनाव किन भएन ? यो भर्खरको अनुभव ताजै छ ।
त्यसैले अहिलेको सरकारमा बस्नेले पनि भट्याएर मात्र चुनाव हुँदैन । चुनावको लागि सरकारले नै पहल गर्नुपर्छ, राजनीतिक वातावरण बनाउनका लागि । त्यसपछि राजनीतिक दलहरुले साथ दिनुपर्छ । पार्टीहरु आफूहरुले बनाएको संविधानप्रति इमानदार छन्, लोकतन्त्रप्रति प्रतिबद्ध छन् भनेपछि उनीहरुले साथ दिन्छन्, दिनुपर्छ ।
नेता परिवर्तन गर्छन् गर्दैनन् भन्ने चासोको कुरा भएन । इतिहास बोकेका पार्टी सुध्रेर आउन् भन्ने चाहना मात्रै हो । आउँदैनन्, सुध्रिदैनन् भने चुनावबाट जनताले फाल्दिन्छन् ।
वाम एकता हास्यास्पद
यसबीच वाम एकताका कसरत भइरहेको सुनिन्छ । यो वाम एकता हाँस्यास्पद हो । पार्टीहरुको बीचमा एकता होला जनताको मनमा एकता हुँदैन । वामपन्थीहरुको पक्षमा मान्छे कति छन् ? वाम एकताको पक्षमा भएका मतदातालाई त यिनीहरुले नै समाप्त पारेको होइन र नेकपा बनेको बेलामा ? अब फेरि वाम एकता भनेर कल्ले पत्याउँछ ?
पार्टीबाहेक बाहिर जानसक्ने सोच नै नभएका मान्छेहरुले एकता गरे पनि, जे गरेपनि कुनै फरक पर्दैन । त्यो कुनै गठजोड होला । सबै मिलिसकेपछि केही सिट बढ्छ कि भन्ने होला उनीहरुको । त्योभन्दा बढ्ता केही हुँदैन । मैले वाम एकता सफल होला भन्ने पत्याएको छैन । एकताको धन्दा चलिरहन्छ, यो चलिरहोस् । हामीले टाउको दुखाउन जरुरी छैन ।
(प्राध्यापक कृष्ण खनालसँग गरिएको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4