
News Summary
Generated by OK AI. Editorially reviewed.- गाजामा शुक्रबारदेखि लागू भएको युद्धविरामपछि हजारौं प्यालेस्टिनीहरू आफ्ना घर फर्किन थालेका छन्।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताअनुसार ७२ घण्टाभित्र हमासले जीवित इजरायली बन्दीहरूलाई रिहा गर्नेछ।
- गाजामा १२ वर्षपछि अमेरिकी सैनिकहरू तैनाथ गरिनेछन् र उनीहरूले युद्धविरामको निगरानी गर्नेछन्।
२५ असोज, काठमाडौं । गाजामा शुक्रबारदेखि लागू भएको युद्धविराम पछि प्यालेस्टिनीहरू आफ्ना घर फर्किन थालेका छन्। हजारौं मानिस दक्षिणी गाजाबाट पैदलै गाजा सिटी तर्फ अघि बढिरहेका छन्।
दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलसँगको युद्ध सुरु हुँदा उत्तर गाजाका बासिन्दाले त्यो क्षेत्र खाली गरेका थिए।
अहिले गाजाको सबैभन्दा ठूलो शहर गाजा सिटी पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ। यहाँ न बिजुली छ, न पानी, न विद्यालय, न अस्पताल- सबै ध्वस्त। तर पनि धेरै मानिसहरू आफ्ना घर फर्किरहेका छन्।
घर फर्किएका एक व्यक्तिले मिडियालाई भने, ‘मेरो घरको केवल निशान भेटियो, पूरा भवन भग्नावशेषमा पुरिएको छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो युद्धविराम अन्तर्गत हमासले ७२ घण्टाभित्र जीवित इजरायली बन्दीहरूलाई मुक्त गर्नेछ। यसको साटोमा इजरायलले २५० प्यालेस्टिनी कैदी र १,७०० हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्नेछ।
इजरायलले हालसम्म आफ्नो ५३ प्रतिशत क्षेत्रबाट सेना हटाउने घोषणा गरेको छ र अब ६०० राहत ट्रक दैनिक रूपमा गाजा प्रवेश गर्नेछन्। यससँगै २०० अमेरिकी सैनिकहरूलाई पनि गाजामा तैनाथ गरिनेछ।
१२ वर्षपछि विदेशी संघर्षमा अमेरिकी सैनिक
गाजामा युद्धविरामपछि अमेरिकाले सीमित संख्यामा सैनिक तैनाथ गर्ने घोषणा गरेको छ। यी सैनिकहरूले संयुक्त राष्ट्रसंघ (यूएन) र इजिप्टका टोलीसँग मिलेर काम गर्नेछन्।
अमेरिकी सैनिकहरूको मुख्य जिम्मेवारी युद्धविरामको अवस्थामाथि निगरानी राख्ने, राहत सामग्रीको सुरक्षित वितरणमा सहयोग गर्ने र सुरक्षाको व्यवस्था गर्ने हुनेछ।
१२ वर्षपछि पहिलोपटक अमेरिकाले कुनै विदेशी द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्यक्ष रूपमा सैनिक पठाउँदैछ। यसअघि सन् २०१३ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले सिरियामा आईएसआईएस विरुद्धको अभियानका लागि सीमित रूपमा सैनिक पठाएका थिए।
गाजाका अस्पताल र जीवनाधार पूर्ण रूपमा ध्वस्त
सेप्टेम्बरमा इजरायलको आदेशपछि करिब ६.४ लाख मानिसहरूले गाजा सिटी छोडेका थिए, जुन शहरको कुल जनसंख्याको करिब ९० प्रतिशत हो। त्यसयता अवस्थाहरू झन बिग्रिए।
अस्पतालहरू बन्द भए, औषधिहरू सकिए र मानिसहरूसँग बस्ने बास रहेन ।
शुक्रबार अल-रन्तिसी अस्पतालको मेडिकल टोली त्यहाँ पुगे पनि अस्पताल पूर्ण रूपमा नष्ट भइसकेको थियो।
गाजाका स्वास्थ्य उपमन्त्री डा. युसुफ अबू अल रेशका अनुसार, अस्पतालका सम्पूर्ण मेडिकल उपकरणहरू जलाएर नष्ट गरिएका छन्।
संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार, अगस्ट महिनादेखि गाजा सिटीमा सुरु भएको भोकमरी अहिले पूरा गाजामा फैलिएको छ।
अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबू सल्मियाले शुक्रबार मात्रै गाजा सिटीमा कम्तीमा ३३ शव भेटिएका र जसमा केहीको पहिचान हुन नसकेको बताए ।
७० वर्षीय मज्दी फुआद मोहम्मद अल-खौरले सीएनएनलाई भने, ‘मेरा एक छोरा र एक छोरी यो युद्धमा मारिए। मैले ४० वर्ष लगाएर बनाएको घर नष्ट भयो। अहिले म र मेरी श्रीमती बिरामी छौं, हाम्रो सबैथोक सकियो।’
गाजाको ९८ प्रतिशत खेतीयोग्य जमीन मरूभूमि
पछिल्ला दुई वर्षमा गाजाको ९८ प्रतिशत खेतीयोग्य भूमि मरूभूमिमा बदलिएको छ । अब केवल २३२ हेक्टर मात्र खेतीयोग्य जमिन बाँकी छ। यसलाई पुनः उत्पादनयोग्य बनाउन २५ वर्ष लाग्ने अनुमान गरिएको छ।
युद्धका कारण गाजाका २३ लाख जनसंख्यामध्ये ९० प्रतिशत बेघरबार भएका छन्। तीमध्ये अधिकांश पानी-बिजुली विना बसिरहेका छन् । आधाभन्दा बढी जनसंख्या भोकमरीको सामना गरिरहेको छ। करिब ८० प्रतिशत भूभाग सैन्य क्षेत्रमा परिणत भइसकेको छ।
संयुक्त राष्ट्रसंघको अनुसार, गाजामा जम्मा भएको ५१ लाख टन मलबा हटाउन १० वर्ष र १.२ ट्रिलियन अमेरिकी डलर लाग्नेछ।
८० प्रतिशत भवनहरू ध्वस्त भएका छन्, जसले गर्दा ४.५ ट्रिलियन डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान छ।
७२ घण्टाभित्र बन्दीहरूको रिहाई शुरु
इजरायल र हमासले अमेरिकी मध्यस्थता भएको गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति जनाएका छन्। यो सम्झौता ८ अक्टोबरमा मिस्रमा भएको अप्रत्यक्ष वार्तापछि भएको हो।
सम्झौताअनुसार, गाजाबाट इजरायली सेनाको फिर्ती र कैदीहरूको साटफेर हुनेछ।
मिडिया रिपोर्टका अनुसार, सम्झौता लागू भएको ७२ घण्टाभित्र करिब २,००० प्यालेस्टिनी कैदीहरूको बदला सबै जीवित इजरायली बन्दीहरू मुक्त गरिनेछ।
इजरायली सरकारका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार, इजरायललाई बन्दीहरूको छिटो रिहाईको आशा छ। यसमा मृतकहरूको शवसमेत समावेश छन्।
कतारका मध्यस्थकर्ताहरूले पनि सम्झौताको पुष्टि गरेका छन् । तर थप विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।
हमासले ट्रम्प र अन्य ग्यारेन्टर देशहरूलाई उनीहरूले इजरायललाई सम्झौताको पूर्ण पालना गर्न सुनिश्चित गर्नुपर्ने बताएको छ ।
ट्रम्पले भनेका छन्, ‘सबै पक्षहरूसँग समान व्यवहार गरिनेछ’
उनले कतार, इजिप्ट र टर्कीएलाई मध्यस्थता प्रयासका लागि धन्यवाद पनि दिएका छन् र लेखेका छन्, ‘यो अरब, इजरायल, अमेरिका र वरिपरिका सबै देशहरूका लागि ऐतिहासिक दिन हो।’
ट्रम्पले ५ अक्टोबरमा सामाजिक सञ्जालमा एक नक्सा पनि सार्वजनिक गरेका थिए, जसमा उनले पहेलो रेखामार्फत इजरायली सेनाको पहिलो चरणको फिर्ती सीमा देखाएका थिए।
इजिप्टमा अझै वार्ता जारी
अहिले पनि वार्ताकारहरूले हमासको हतियार त्याग्ने विषयमा सहमति हासिल गरेका छन् कि छैनन् भन्ने स्पष्ट छैन ।
ट्रम्पको ‘पीस डिल’ मा हमासले गाजाको शासन छोड्नु र हतियार बुझाउनु पर्ने सर्त राखिएको थियो, तर हमासले यसअघि यसलाई अस्वीकार गरेको थियो।
अमेरिकी अधिकारीहरूले यी नसुल्झेका मुद्दाहरू समाधान गर्न इजिप्टमा वार्ता जारी रहेको बताएका छन् । यसबाट सम्झौताका आगामी चरणहरूलाई आकार दिने अपेक्षा गरिएको छ।
ट्रम्पले यही वार्तालाई बल पुर्याउन यही हप्ता इजिप्टको भ्रमणमा जान सक्ने बताएका छन् । ‘गाजा युद्ध अन्त्यको सम्झौता धेरै नजिक छ,’ उनले भनेका छन् ।
बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इजिप्टमा वार्ता निकै सकारात्मक ढंगले अघि बढिरहेको छ।’
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4