
News Summary
Generated by OK AI. Editorially reviewed.- भरतपुर महानगरको वडा नं. १३ भित्र पर्ने गाउँमा दशैं मनाउन मानिसहरू गाउँ फर्किएका छन् र त्यहाँ अझै पनि हरियालीले ढाकिएका गाउँहरू छन्।
‘गाउँ कहिले जाने ?’
अफिसमा दशैंको माहौल सुरु भइसकेको थियो । काठमाडौंका सडकमा गाडीको चाप पातलिँदै थियो । कोटेश्वर–थानकोट जस्ता नाकाहरूमा शहर छाड्नेको लस्कर थियो । त्यसबेला धेरैले सोध्ने प्रश्न उही हुन्थ्यो, ‘गाउँ कहिले जाने ?’
सहकर्मीले सोधेको यही प्रश्नमा मेरो ठट्यौली जवाफ यस्तो थियो, ‘गाउँ रे, म त महानगरबासी हो ।’
हुन त यो ठट्टा थिएन । सुरुमा म गाउँबासी नै थिएँ । त्यसपछि उपमहानगर हुँदै महानगरबासी भएको पनि दशक पुग्न लाग्यो । धर्ती उही, भूगोल उही, घर उही, परिवार उही । तर, हामी गाउँलेलाई राज्यले महानगरबासी बनाइदियो ।
महानगर । नाम नै काफी छ । स्थानीय तहको सबैभन्दा फराकिलो नाम । अब यसभन्दा ठूलो ‘बासी’ हुने ठाउँ छैन । यी त सबै प्राविधिक कुरा हुन् । मेरो गाउँ त अझै पनि गाउँ नै छ । अझ भनौं भने, शहर बन्न बाँकी नै छ ।
अन्ततः दशैं मनाउन गाउँतर्फ लागियो । तुइनखोलाको पहिरो छल्न हेटौंडाको बाटो हुँदै म आइपुगेँ भरतपुर महानगर । त्यही महानगरको वडा नं. १३ भित्र छ मेरो गाउँ ।
नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जले घेरेका भरतपुरका केही वडाबाहेक अधिकांश ठाउँ अझै पनि हरियालीले ढाकिएका गाउँ नै हुन् । भरतपुरका गाउँहरू केही बदलिएका छन् । अब प्रायः ठाउँमा फराकिला, चिल्ला सडक पुगेका छन्, घरहरू अग्लिएका छन्, तर मान्छेहरूको चहलपहल भने घटेको छ ।
उसो त अब दशैं, दशैंजस्तो छैन गाँउमा । मनाइदिनै पर्ने भएर मनाइएजस्तो लाग्छ । तै पनि, वर्षमा एकपटक यो भागदौडको जिन्दगीबाट केही समय निकालेर घर-परिवार, गाँउका साथी र बाल्यकालका सम्झनासँग रमाउने अवसर त दिन्छ नै यो दशैंले ।
शरद ऋतुको आगमनसँगै बिहानीपख कुहिरोले छोपिएको गाँउमा पारिजातको सुगन्धले चाडपर्व आएको आभास दिन्छ । खेतका फाँटमा धानका बाला पसाउन थालेका छन् । वर्षा सकिएर सुकिलो बन्दै गएको आकाशमा पर माछापुच्छ्रे र मनास्लु मुस्कुराइरहेका छन् । धानबारीमा सितका थोपाहरू मोतीझैँ टल्किरहेका छन्, अनि माकुराले आफ्ना जाल बुन्दैछन् ।



प्रतिक्रिया 4