
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले मुगु जिल्लामा अवस्थित छायानाथ राष्ट्रिय निकुञ्जको चार किल्ला तोकेर सार्वजनिक गरेको छ।
- मन्त्रिपरिषद्ले १३ भदौमा छायानाथ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
- शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना पनि मन्त्रालयले नयाँ गरी सार्वजनिक गरेको छ।
२६ असोज, काठमाडौं । सरकारले ‘छायानाथ राष्ट्रिय निकुञ्ज’ को चार किल्ला तोकेर सार्वजनिक गरेको छ ।
१३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । सोही अनुसार वन तथा वातावरण मन्त्रालयले चार किल्ला सार्वजनिक गरेको हो । यो नेपालको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बनेको छ ।
मन्त्रालयका अनुसार मुगु जिल्लामा अवस्थित यो निकुञ्जको क्षेत्रफल ८ सय ४३ वर्गकिलोमिटर रहने छ । पूर्वमा कान्जीरोवा हिमालको शिरदेखि उत्तरतर्फ हिमालको टुप्पैटुप्पो, नामलान नदी र खबुला खोलाको दोभान, मरुम डाँडा, याङ्ला लेक हुँदै यालाकान, याला भञ्ज्याङ र पलाचुङ हाम्दा हिमाल हुँदै चीनसँगको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।
पश्चिममा दाभसल्ला डाँडादेखि उत्तरतर्फ टुप्पैटुप्पो हुँदै नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलासम्म, बेलुरुङ खोलालाई समाती शो चुलीको टुप्पैटुप्पो कुलदम डाँडा, नागपी डाँडा, छायरगोला भञ्ज्याङ, छिमीमारु डाँडा हुँदै नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमासम्म तोकिएको छ ।
उत्तरमा नेपाल चीनबीचको अन्तर्राष्ट्रिय सीमानामा पर्ने कान्ति हिमालको शिर हुँदै पूर्वतिर चाँदी हुँदै पालचुनहुम्गा हिमाल हुँदै मुगु र डोल्पा जिल्लाको सीमानासम्म तय गरिएको छ ।
दक्षिणमा दाभसल्ला डाँडाबाट दक्षिण जुम्ला र मुगु जिल्लाको सीमाना हुँदै काँडेचुली हुँदै पातारासी हिमालको शिरदेखि कान्जीरोवा हिमालको शिरसम्मको भूभागलाई यस निकुञ्जको क्षेत्रमा समेटिएको छ ।
यस निकुञ्जको मध्यवर्ती क्षेत्र भने १ सय ७७ वर्ग किलोमिटरमा फैलिएको छ । पूर्वमा दाभसल्ला डाँडाको टुप्पैटुप्पा उत्तरतर्फ नाम्लाङ खोला समाती पश्चिमतर्फ नाम्लाङ र बेलुङ खोलाको दोभानसम्म, बेलुङ खोलालाई समाती छायानाथ ठाकुरजी डाँडाको चुचुरोको शिर समाती शो चुलीको टुप्पैटुप्पा कल्दम डाँडा हुँदै नागपी डाँडा हुँदै छायारंगगोम भञ्ज्याङसम्म तोकिएको छ ।
पश्चिममा नादाई काँध लेकको टुप्पोबाट उत्तरतर्फ कान खोला पारी गरा लाप्चा डाँडाको शिरैशिर उत्तर ताका गाउँलाई भित्र पारी तिहार बगरसम्म, त्यहाँबाट मुगु कर्णाली हुँदै उत्तर सिरानचौरसम्मको क्षेत्र तय भएको छ ।
उत्तरमा सिरानचौरदेखि छ्याम खोला हुँदै छ्यामगोला भञ्ज्याङसम्म तय भएको मन्त्रालयले जनाएको छ । दक्षिणमा नादाई काँध लेकको शिरैशिर दक्षिण मुगु र जुम्ला जिल्लाको सीमाना हुँदै काँक्रे काँध लेक हुँदै दाभसल्ला डाँडासम्म तोकिएको छ ।
मन्त्रिपरिषद्को सोही दिनको बैठकले शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको समेत चार किल्ला र मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर गरी तोक्ने निर्णय गरेको थियो । मन्त्रालयले यो निकुञ्जको समेत नयाँ चार किल्ला सीमाना सार्वजनिक गरेको छ ।
प्रतिक्रिया 4