+
+
WC Series
Nepal
64/3 (10.1)
VS
Qatar
0/0
Shares
मधेशका मुख्यमन्त्री सिंहसँग वार्ता :

‘विश्वासको मत नपाउने निश्चित छ, तैपनि सदनमा कुरा राख्न मत लिने बाटो रोजेँ’

प्रतिष्ठामाथि नै प्रहार हुन थाल्यो भने विश्वासको मत किन नलिउँ

सुरुदेखि नै राजीनामा दिने व्यक्ति राजीनामा लिएर त घुमिरहेका छन् । तर पत्र बुझ्ने प्रदेश प्रमुख त हुनुपर्‍यो नि । जब प्रतिष्ठामाथि नै प्रहार हुन थाल्यो भने विश्वासको मत किन नलिउँ भन्ने लाग्यो । विश्वासको मत नपाउने भए पनि कम्तीमा आफ्नो कुरा त सदनमा राख्न पाउँछु नि ! नत्र यो अवसर मिल्ने थिएन ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज २७ गते २१:१५

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह भोलि मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन् । २५ जेठ २०८२ मा नेकपा एमालेसहित ६ दलको ५५ सांसदको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए ।

जनमत पार्टीका नेता महेशप्रसाद यादवलाई पन्छाउँदै अध्यक्ष डा. सिके राउतले सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।

तर, जेनजी आन्दोलनको क्रममा जनमत अध्यक्ष राउतको निर्देशनमा सिंहले गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे ।

परिस्थिति सहज बनेपछि सिंहले आफ्नो निर्णय परिवर्तन गर्दै राजीनामा नदिने अडान लिए । जनमत पार्टीले उनलाई राजीनामा दिन दबाब दिए पनि उनले अस्वीकार गरेर सदन फेस गर्ने बताइरहे ।

त्यसपछि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले २८ भदौमा प्रदेश प्रमुखलाई र ३१ भदौमा सभामुखलाई पत्र पठाउँदै आफ्नो दलबाट बनेका मुख्यमन्त्री सिंह र दुई मन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए ।

गत ८ असोजमा नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परे । २२ असोजमा नेकपा एमालेले पनि समर्थन फिर्ता लिएपछि हालसम्म सिंहसँग लोसपा (लोसपा नेपाल) का मात्र आठ सांसदको समर्थन बाँकी छ । सरकारको विश्वास कायम राख्न १०७ सदस्य मधेश प्रदेशसभामा ५४ सिटको समर्थन आवश्यक पर्छ ।

संविधानले तोकेको ३० दिनको समयसीमा नपुगी विश्वासको मत लिने तयारी गरिँदै गर्दा २२ असोजमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन कांग्रेस, एमाले र जनमत पार्टीले ५८ सांसदको समर्थनसहित प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरिसकेका छन् ।

यस पृष्ठभूमिमा मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना अति न्यून देखिन्छ । अब उनको राजनीतिक भविष्य कता मोडिन्छ, किन जनमतले उनलाई असहयोग गर्‍यो, र किन उनले दलको निर्देशन अवज्ञा गरे ? यी विषयमा अनलाइनखबरकर्मी शैलेन्द्र महतोले मुख्यमन्त्री सिंहसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले भोलि सदनबाट विश्वासको मत लिने तयारीमा हुनुहुन्छ, विश्वासको मत पाउने सम्भावना कतिको छ ?

विश्वासको मत पाउने सम्भावना छैन । जुन पार्टीबाट म मुख्यमन्त्री छु र त्यो पार्टीले नै समर्थन फिर्ता लिइसकेपछि समर्थन गरेका दुई दलले पनि समर्थन फिर्ता लिइसकेका छन् । त्यसैले विश्वासको मत पाउने सवालै उठ्दैन । संख्या कसरी पुग्छ र।

अनि किन विश्वासको मत लिने अडान लिनुभयो ?

सुरुदेखि नै राजीनामा दिने व्यक्ति राजीनामा लिएर त घुमिरहेका छन् । तर पत्र बुझ्ने प्रदेश प्रमुख त हुनुपर्‍यो नि । जब प्रतिष्ठामाथि नै प्रहार हुन थाल्यो भने विश्वासको मत किन नलिउँ भन्ने लाग्यो । विश्वासको मत नपाउने भए पनि कम्तीमा आफ्नो कुरा त सदनमा राख्न पाउँछु नि ! नत्र यो अवसर मिल्ने थिएन ।

तपाईं जनमतबाटै मुख्यमन्त्री बन्नु भयो, अहिलेसम्म उसैको सांसद हुनुहुन्छ । तपाईं मुख्यमन्त्रीमा कायम हुँदै विश्वासको मत लिन पनि समय नदिने हिसाबले तपाईंको पार्टी समेतले कांग्रेस नेतृत्वमा सरकार बनाउन दाबी पेस गर्‍यो । तपाईंलाई मुख्यमन्त्री बनाउने आफ्नै दल किन तपाईंप्रति नकारात्मक छ ?

यो त असंवैधानिक कदम थियो । किन दावी पेस गर्‍यो उनीहरूलाई नै थाहा होला । पत्र पनि दुई प्रकारको थियो । हाम्रो राष्ट्रिय अध्यक्षले पनि सोसल मिडियामा लेख्नु भएको थियो ।

राष्ट्रिय अध्यक्षको अलग धार छ, उहाँको अलग धार आउँछ । गल्ती लुकाउन काम अलग-अलग भइहाल्छ नि !

प्रदेश प्रमुखको कार्यालयमा हाम्रो संसदीय दलका नेता महेशप्रसाद यादवले अभिव्यक्ति दिनु भएको थियो । सरकार गठनअघि नै हाम्रो सहमति भएको थियो कि अबको सरकार कांग्रेसको हुन्छ ।

तर, मेरो विमति कहाँ छ भने सरकार गठनको बेला कांग्रेस हामीसँग थिएन । पछि सरकारमा आयो । हाम्रो दलको नेताले कसरी कहिले कांग्रेससँग सम्झौता गर्नु भएको थियो ?

राष्ट्रिय अध्यक्षको अलग धार छ, उहाँको अलग धार आउँछ । गल्ती लुकाउन काम अलग-अलग भइहाल्छ नि !

जनमतले तपाईंलाई किन असहयोग गर्‍यो ? के कारण होला जस्तो लाग्छ ?

सबैको आ–आफ्नो इगो छ । अब कसैको पार्टीमा उचाइ बढिरहेको छ भने उचाइ बढ्नु हुँदैन भन्ने भयो होला । झोले छाप कार्यकर्ता होस्, कोइ नेता नबनोस् भन्ने होला ।

कसैलाई होला मुख्यमन्त्री बन्न पाइनँ, ऊ मुख्यमन्त्री बन्यो  त्यसैले कसरी चाँडै हटाउँ भन्ने भयो होला । संसदीय दलमा कुनै निर्णय हुनुअघि त्यसमा मलाई सोध्नु पर्थ्यो । मलाई बैठकमा बोलाउनु पर्थ्यो । म नगएको भए उनीहरूले बैठकमा निर्णय गरेर केही कारबाही गरेको भए हुन्थ्यो । एकैपटक २४ घण्टाभित्र राजीनामा दिनुपर्ने पत्र आयो ।

तपाईंलाई बैठकमै नबोलाइ दलले निर्णय गरेको हो ?

बैठक नै गरेको थिएन । अनि बोलाउँछन् कसरी ?

उसो भए संसदीय दलको नेता महेशप्रसाद यादवले एकल निर्णय गर्नु भएको हो ?

हो, हो । जहाँबाट उहाँलाई निर्देशन भयो उहाँले सिधा पत्र काटेर पठाउनुभयो ।

मलाई पार्टीले स्पष्टीकरण सोधेकै छ । कारबाही गरेकै छ । थप्पड मारेपछि मात्रै थाहा हुन्छ भन्ने छैन नि ! इशारा नै काफी छ नि । यो कुरा मैले महसुस गरेकै छु । जे हुन्छ स्वीकार गर्छु ।

तपाईंकै पार्टीका दुई मन्त्रीको राजीनामा र समर्थन फिर्ता भयो । एमाले र कांग्रेसले समर्थन फिर्ता लिएपछि मन्त्रीमण्डल पुनर्गठनको पत्र किन प्रदेश प्रमुख कार्यालयमा पठाउनु भएन ?

सबैको पालैपालो पत्र आयो ।  त्यस कारण पठाएनौं । भोलि त हाउसबाट विश्वासको मत लिने दिन नै हो ।

मन्त्रीहरूले राजीनामा त दिए, तर राजीनामा स्वीकृत नहुँदा मन्त्रीहरू काम गर्दैनन्, तर सेवासुविधा त लिइरहेका छन् नि ?

राजीनामा गर्ने व्यक्तिले त्यसै दिनदेखि सेवासुविधा नलिनु पर्ने हो ।

अहिलेको परिस्थितिमा जनमतभित्र तपाईंँ विद्रोही सांसद पनि हुनुहुन्छ । विश्वासको मत पाउने सम्भावना कम छ । अबको तपाईंको राजनीतिक यात्रा कसरी अघि बढ्छ ?

मलाई पार्टीले स्पष्टीकरण सोधेकै छ । कारबाही गरेकै छ । थप्पड मारेपछि मात्रै थाहा हुन्छ भन्ने छैन नि ! इशारा नै काफी छ नि । यो कुरा मैले महसुस गरेकै छु । जे हुन्छ स्वीकार गर्छु ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?