
२८ असोज, काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही बाल्यकालदेखि नै चोरी कार्यमा संलग्न हुने गरेको पाइएको छ ।
प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।
उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए ।
तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला पारेको छ ।
उनी उक्त चोरीको घटनाबाट अहिलेसम्म गाउँ नगएको समेत भेटिएको छ । उनका दाइ गाउँमै काठको काम गर्ने गर्छन् भने भाइ विद्यार्थी भिसामा जापान गएका छन् ।
बिहिनी भने काठमाडौंमा बसेर पढ्ने गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, उनले काठमाडौंमा बहिनीलाई भेट्न गरेको भए पनि कोठा भने नदेखाउने गरेको पनि खुलेको छ ।
शाहीकी आमाले आफ्नो परिवारसँग उनको सम्बन्ध राम्रो नभएको प्रहरीलाई बताएकी छिन् ।
गत वैशाखमा भएको इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा समेत उनी उम्मेदवार बनेका थिए । इलाममा फुपुको घर रहेको र त्यहीँ बस्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
डोजर चुनाव चिन्ह लिएर चुनावमा होमिएका उनीबारे त्यसपछि मात्रै गाउँमा थाहा भएको थियो ।
सो निर्वाचनमा शाहीले भने जम्मा ५५ मत ल्याएका थिए ।
प्रतिक्रिया 4