
२८ असोज, काठमाडौं । जेनजी समूहको आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा आउने भएपछि मंगलबार बिहानदेखि सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय आसपास सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो ।
बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीहरू चक्रपथसँग जोडिएको कांग्रेसको पार्टी कार्यालयतर्फ जाने भित्री बाटोको मुखमै सवारीसाधन मात्रै नभएर सर्वसाधारणको आवतजावतमा पनि कडाइ गरिरहेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालयमा कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो । सांघातिक आक्रमणमा परेका सभापति देउवा बैठकमा सहभागी हुने खबर पाएका कांग्रेसका कार्यकर्ताहरूको भीडभाड बाक्लो थियो ।
उनीहरूलाई सुरक्षाकर्मीले चक्रपथसँग जोडिने भित्रि बाटोको मुखमै रोकेर राखेको थियो । भित्रि बाटोमा घर भएका र काम विशेषले गइरहेका स्थानीयका हकमा भने सुरक्षाकर्मीले केही खुकुलो व्यवस्था थियो ।
सुरक्षाकर्मीले कांग्रेसका कार्यकर्ताहरूलाई पार्टी कार्यालयतर्फ अघि बढ्न रोकेको मात्रै थिएन, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको ‘रिपोर्टिङ’ का लागि पुगेका पत्रकारहरूलाई पनि परिचय पत्र हेरेरमात्रै जान दिइएको थियो ।
सुरक्षाकर्मी चक्रपथसँग जोडिएको स्थानमा मात्रै नभएर भित्री बाटोमा पनि बाक्लो संख्यामा खटिएका थिए । कांग्रेसले पार्टी कार्यालय प्रवेश गर्ने मूल बाटोमा भने केन्द्रीय कार्यालयका कर्मचारी र नेपाल तरूण दलका सदस्यहरू खटाएको थियो ।
पार्टी कार्यालय जाने भित्रि बाटोमा नेपाल तरूण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरू पनि बाक्लो संख्यामा उपस्थिति थिए । तर, उनीहरू कर्मचारी तैनाथ स्थानभन्दा भित्र भने थिएनन् ।
अघिल्ला बैठकहरूको तुलनामा मंगलबार आगजनीबाट खण्डहर बनेको कांग्रेसको केन्द्रीय कार्यालय परिसर शान्त थियो । बैठकमा सहभागी हुन आउने पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि केन्द्रीय कार्यालयको पछाडिपट्टिको बाटो तोकिएको थियो ।
अगाडिको बाटो भएर जान चाहने केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई सुरक्षाकर्मीले चक्रपथबाट पैदल जान दिइरहेको थियो । उनीहरूका गाडीको प्रवेशमा भने रोक लगाइएको थियो ।
आगजनीबाट क्षतिग्रस्त कार्यालयमा रहेको ‘क्यान्टिन’ (चमेना गृह)सँगैको हलमा कांग्रेसले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकका लागि कुर्सीहरू मिलाएर राखेको थियो । पदाधिकारीहरू हलको उत्तरबाट दक्षिणतर्फ मुख गरेर र केन्द्रीय सदस्यहरू उत्तरतर्फ मुख गरेर बस्ने गरी कुर्सीहरू मिलाइएका थिए ।
पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू निर्धारित समय आसपासमै बैठक बस्ने हलमा बस्न सुरू गरिसकेका थिए । उनीहरू झण्डै एक घण्टासम्म पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको प्रतीक्षामा बसे ।
बैठकको समय दिउँसो १ बजे भनिए पनि सभापति देउवा ठीक २ बजेर ५ मिनेटमा पछाडिको बाटो भएर पत्नी डा. आरजु राणा देउवा (केन्द्रीय सदस्य/निवर्तमान परराष्ट्रमन्त्री) पार्टी कार्यालय आइपुगे ।
मुलुकको शासन सत्ता नै उलटफेर हुने गरी भएको आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएको ३४ दिनपछि केन्द्रीय कार्यालय पुगेका देउवाको स्वागतका लागि उपसभापति पूर्णबहादुर खड्का उभिएका थिए ।
एक महिनाभन्दा बढी ‘भूमिगत’ बसेका सभापति देउवा पुरानै शैलीमा देखिए । निवर्तमान परराष्ट्रमन्त्री राणा पनि हँसिलो शैलीमा देखिइन् । उनीहरूलाई उपसभापति खड्काले बैठक हलमा लगे ।
सभापति देउवा सोझै आफ्ना लागि पहिले नै निर्धारण गरिएको ‘माइक’ जडित टेबल भएको कुर्सीमा बसे ।
राणा भने केन्द्रीय सदस्यका लागि राखिएका कुर्सीको तेस्रो लहरमा बसिन् । पहिलो लहरमा पूर्वपदाधिकारीहरू थिए भने दोस्रो लहरमा अन्य केन्द्रीय सदस्यहरू बसेका थिए ।
‘जय नेपाल’ आदान–प्रदानपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भयो । बैठक सुरू भए पनि यसपल्ट कांग्रेसले पत्रकारहरूलाई पनि हलमै बस्न दियो । पत्रकारहरू बैठक हलमा खचाखच भरिएका थिए ।
बैठकको सुरूवात मै सभापति देउवा लिखित मन्तव्य पढ्न थाले । १६ सयभन्दा बढी शव्दको लिखित मन्तव्यका क्रममा उनले तोडफोड, लुटपाट र आगजनीबाट खरानी भएर भग्नावषेशको रूपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बस्नु पर्दाको दु:ख व्यक्त गरे ।
‘यसले पक्कै पनि हामी सबैलाई स्तब्ध बनाएको छ । म सबैभन्दा पहिले भाद्र २३ र २४ गतेको घटनामा परि ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु,’ सभापति देउवाले भने, ‘दु:खको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
सभापति देउवाले बुँदागत रूपमा भदौ २३ र २४ को जेनजी आन्दोलन, आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा पुगेको क्षति, पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक राजनीतिबारे धारणा राखे ।
भदौ २३ मा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको दाबी गर्दै उनले घुसपैठपछि प्रदर्शनले लिएको रूपलाई नेपालको इतिहासमै डर लाग्दो दिनको रुपमा लिपिबद्ध हुने जिकिर गरे ।
मन्तव्यमा सभापति देउवाले भदौ २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र झण्डै १२५ जना नेताका निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको बताए ।
नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीबारीको गणेशमान सिंह निवास र ललितपुर बाँडेगाँऊस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाएर खरानी बनाइँदा झन् मर्माहत भएको उनको भनाइ थियो ।
सभापति देउवाले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेबारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि गरिएको तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन मागसमेत गरे ।
पूर्वप्रधानमन्त्री देउवाले जेनजी आन्दोलनपछि भड्किएको हिंसाबीच राष्ट्रपतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिए ।
‘भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई यस बैठकमार्फत् हार्दिक धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘त्यो प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट रोकिएको छ ।’
सभापति देउवाले जेनजीले अघि सारेका सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग सम्बोधन गरिनुपर्ने भन्दै केन्द्रीय कार्यसमिति बैठकमा जेनजीले मुलुकका प्रति देखाएको चासो र चिन्ताबारे छलफल हुने पनि बताए ।
‘जेनजीले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ,’ देउवाको भनाइ थियो, ‘उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ । यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ ।’
यद्यपि, जेनजी समूहको आन्दोलन सुनियोजित र योजनाबद्ध भएको सभापति देउवाले जिकिर गरे । कसैलाई तात्कालिक नाफा–घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका छन्,’ उनले भने, ‘यसको यथाशीघ्र थप अध्ययन–अनुसन्धान गरिनुपर्छ । यो अनुसन्धान कसैलाई तात्कालीक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’
सभापति देउवाले जेनजी आन्दोलन हिंसामा परिणत भएपछिको परिस्थितिका कारण मुलुकका महत्वपूर्ण अंगहरुको मनोबल गिरेको पनि सुनाए ।
‘देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ । यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोवल उच्च राख्ने काम गर्नु पर्दछ र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोबलसाथ काम गर्न आह्वान पनि गर्नु पर्दछ,’ उनले भने ।
देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको र कांग्रेसले देशको राष्ट्रियता र लोकतन्त्रका निम्ति कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको स्मरण गरे ।
‘जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्याउने नेपाली कांग्रेसको विशेषताले नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरी रह्यो,’ उनले भने ।
लोकतन्त्र प्राप्तिको संघर्षदेखि देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनमा कांग्रेसले ठीक राष्ट्रिय एजेन्डा तय गरेर देशलाई उचित गन्तव्यमा पुर्याएको देउवाको दाबी थियो ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतको नजर कांग्रेस केन्द्रीय कार्यसमिति बैठकतर्फ आकृष्ट भएको जिकिर गर्दै उनले समसामयीक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्नुपर्ने आवश्यकमा जोड दिए ।
‘बैठकबाट हामीले नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनीयतालाई पुर्नपुष्टि गर्नु पर्दछ,’ सभापति देउवाले भने, ‘विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नुपर्ने छ ।’
जेनजी आन्दोलनपछि आफू स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकै बेलादेखि पार्टीमा देखिएको ध्रुवीकरणतर्फ ईंगित गर्दै सभापति देउवाले पार्टीमा आन्तरिक एकतामा जोड दिए । देशलाई साक्षी राखेर विद्यमान व्यक्तिगतदेखि समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राख्दै एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो ।
‘अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रूचि–अरूचि, हित–अहित वा लाभहानीका सबै विषय गौण हुन्,’ सभापति देउवाले भने, ‘म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु– विषयवस्तुमा व्यापक छलफल गरौँ, एकमतका साथ निर्णयमा पुगौँ र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौँ ।’
सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा मन्तव्य राख्ने क्रममा आफूले विगतमै पार्टीको १५ औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणबारे प्रष्ट धारणा राखिसकेको पनि स्मरण गराए ।
घरमा सधैँ एकै जना मुली र पार्टीमा सधैँ एकै जना सभापति रहिनरहने भन्दै उनले भने, ‘मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५ औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’
सभापति देउवाले मन्तव्यको अन्त्यमा स्वास्थ्यको कारण देखाउँदै सक्रिय राजनीतिबाट विश्राम लिने संकेत पनि गरे । उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणासमेत गरे ।
त्यसअघि देउवाले अहिलेको विषम् परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्नुपर्ने आवश्यक पनि औंल्याए ।
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको र जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको भन्दै देउवाले आपत्ति जनाए ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको उनको भनाइ थियो । ‘निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन,’ देउवाले भने, ‘सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् ।’
देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचनमा सबैले स्वत:स्फुर्त भाग लिने अवस्था निर्माणको सुनिश्चितता गराउने जिम्मा सरकारको भएको स्मरण गराए ।
‘यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।
सभापति देउवाले किशोरावस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि संघर्ष गरेको भन्दै राजकीय पदका लागि नभएर राष्ट्र, राष्ट्रियता र लोकतन्त्र नै आफ्नो एकमात्र उद्देश्य रहेको पनि स्मरण गरे ।
‘मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ । मैले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको छु,’ देउवाले भने, ‘देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु ।’
सभापति देउवाले जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहने पनि उद्घोष गरे । ‘अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु,’ उनले भने, ‘मैले सदैव साथीहरूबाट अपार माया, स्नेह र समर्थन प्राप्त गरेको छु । साथीहरूका प्रति मेरो पनि त्यत्तिकै प्रेमभाव र समर्थन छ ।’
देउवाले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउनका लागि आफूले गरेको प्रयासप्रति गौरवान्वित रहेको पनि जिकिर गरे ।
‘चाहे पार्टीभित्र कदमजमको नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरूमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु,’ उनले भने ।
भदौ २४ मा सिंगो मुलुक जलेको बेला आफूमाथि भएको आक्रमणलाई देउवाले ज्यानै लिने मनसायले गरिएको सांघातिक हमला भने । घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको भन्दै उनले सुरक्षाकर्मीको घण्टौंको अथक प्रयाशपछि आफूहरूलाई उद्दार गरिएको पनि बताए ।
‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार नै हुनुहुन्छ,’ उनले भने, ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।’
आफूले राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्दतिका लागि वैचारिक अडान लिँदा यस्तो प्रकारको अवस्था जुनसुकै समयमा पनि आउन सक्ने भएकाले सामना गर्ने साहस राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको देउवाको भनाइ थियो ।
‘यो घटनाक्रम झट्ट हेर्दा म र मजस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरू माथिको व्यक्तिगत आक्रमणजस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्दति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ,’ उनले भने ।
सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भदौ २४ मा भएको सांघातिक अक्रमणबाट जोगाउने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद पनि दिए । ‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जावाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,’ उनले भने ।
बैठकले समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्नेमा विश्वास व्यक्त गर्दै देउवाले पार्टीले आफूलाई एकताबद्ध बनाएर देशसामु उपस्थित चुनौतीको सामना गर्नु पर्ने अवस्था रहेको बताए ।
उनले पार्टीको विधानअनुसार तोकिएको समयमा १५ औँ महाधिवेशन गर्ने विषयमा केन्द्रीय कार्यसमितिले गम्भीर छलफल गरेर आवश्यक निर्णय लिने विश्वास पनि व्यक्त गरे ।
‘राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्दति गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको छ,’ सभापति देउवाले भने, ‘यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधानअनुसार तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ ।’
प्रतिक्रिया 4