
३० असोज, काठमाडौं । भारतको जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले बिहार विधान सभा चुनाव नलड्ने घोषणा गरेका छन् । पार्टीको हितका लागि आफूले चुनाव नलड्ने निर्णय गरेको उनले बताएका छन् ।
बुधबार पीटीआईसँगको अन्तर्वार्तामा प्रशान्त किशोरले भनेका छन्, ‘म चुनाव लड्दिनँ । पार्टीका धेरै काम छन् । यदि म ती सबैलाई पूरा गरेँ भने त्यही पर्याप्त हुन्छ । यदि म चुनाव लड्न गएँ भने काममा बाधा पर्छ । त्यसैले मैले अहिले जे काम गरिरहेको छु, त्यसैलाई निरन्तरता दिनेछु ।’
उनले समाज र सडकमा राजनीतिक अभियानलाई निरन्तरता दिन नै आफू सक्रिय हुने बताए ।
प्रशान्त किशोरले निर्वाचनमा १५० भन्दा कम सिट ल्याएमा हार बराबर हुने बताए । ‘१५० भन्दा कम सिट, चाहे १२० वा १३० नै किन नहोस्, त्यो मेरो लागि हार हुनेछ,’ उनले भनेका छन्, ‘यदि हामीले राम्रो काम गर्यौं भने बिहारलाई अरु राज्यहरुभन्दा राम्रो बनाउने जनादेश पाउँछौं । तर राम्रो काम गर्न सक्नौं भने यसको अर्थ जनताले हामीमाथि विश्वास गरेका छैनन् भनेर बुझ्नुपर्छ ।’
बिहारको २४३ सदस्यीय विधानसभाका लागि आगामी नोभेम्बर ६ र ११ तारिखमा दुई चरणमा निर्वाचन हुँदैछ । मुख्य दलहरूले उम्मेदवारहरूको सूची जारी गर्दै आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
को हुन् प्रशान्त किशोर ?
प्रशान्त किशोर, जसलाई पी.के. भनेर चिनिन्छ । उनी एक पूर्व चुनावी रणनीतिकार र सामाजिक अभियन्ता हुन् ।
अभियानको क्रममा उनले ३ हजार ५०० किलोमिटर पदयात्रा गरेका थिए, जसको उद्देश्य जनताको भावना र आवश्यकता बुझ्दै उनीहरुको आवश्यकतासँग मेल खाने शासनको खाका तयार पार्नु थियो । त्यसपछि उनले सन् २०२४ मा महात्मा गान्धी जयन्तीको अवसर पारेर ‘जन सुराज पार्टी’ घोषणा गरेका थिए ।
प्रशान्त किशोरले बिहारका १०० सबैभन्दा भ्रष्ट नेता र नोकरशाहहरूको सम्पत्ति जफत गर्ने योजना सार्वजनिक गरेपछि उनी चर्चामा छन् । कतिपयले उनलाई भ्रष्टाचारविरुद्धको संघर्षको प्रतीकका रूपमा प्रस्तुत गरिरहेका छन् ।
यसका साथै, पार्टीले उम्मेदवार छनोटमा अमेरिकी शैलीका प्राथमिकताहरू, जनताले आफूले निर्वाचित गरेका जनप्रतिनिधिलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) र ९० प्रतिशत नयाँ उम्मेदवारको चयन जस्ता सुधारात्मक कदमहरू अघि सारेको छ ।
उनी नेतृत्वको पार्टीले २०२५ को बिहार विधान सभा चुनावमा सबै २४३ सिटमा उम्मेदवार उतार्ने योजना बनाएको छ ।
प्रतिक्रिया 4