+
+
Shares

को हुन् बोलिभियामा २ दशक लामो वामपन्थी शासन अन्त्य गर्ने नयाँ राष्ट्रपति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १५:१८

३ कात्तिक, काठमाडौं । आइतबार भएको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा जितेका बोलिभियाका नवनिर्वाचित राष्ट्रपति रोड्रिगो पाज पूर्व राष्ट्रपतिका छोरा हुन् । उनी सैनिक शासनकालमा निर्वासनमा जन्मिए र अमेरिकामा पढे ।

समाचार संस्था रोयटर्सका अनुसार, ५८ वर्षीय पाज क्रिश्चियन डेमोक्रेटिक पार्टी (पीडीसी) का नेता हुन् । उनले प्रतिद्वन्द्वी दक्षिणपन्थी नेता जोर्ज ‘टुटो’ क्विरोगालाई हराउँदै झन्डै दुई दशकदेखि चलिरहेको वामपन्थी शासनको अन्त्य गरेका हुन् ।

पाजको मध्यमार्गी नीतिले वामपन्थी शासनको भ्रष्टाचार र आर्थिक संकटबाट निराश जनमतको मन जित्न सक्यो । सत्तारूढ पार्टी मूभमेन्ट टु सोसलिज्म (मास) पूर्व राष्ट्रपति इभो मोरालेजले स्थापना गरेका थिए ।

‘यो २१औं शताब्दीमा बोलिभियन लोकतन्त्रको नयाँ चरण हो,’ पाजले चुनावअघि रोयटर्ससँगको अन्तर्वार्तामा भनेका थिए।

पाजले नोभेम्बर ८ मा पदभार ग्रहण गर्नेछन् । उनले अर्थतन्त्रका केही क्षेत्रमा निजी लगानी खुला गर्ने र घाटामा रहेका राज्य स्वामित्वका उद्योग बन्द गर्ने योजना दोहोर्‍याएका छन् । तर गरीब वर्गलाई दिइने नगद सहयोग भने निरन्तर रहने स्पष्ट पारेका छन् ।

‘राज्य आफैं बाधक बनेको छ’ उनले भने, ‘धेरैजसो मानिस तलब त पाउँछन् तर काम केही गर्दैनन् ।’

पाजको जन्म स्पेनको सान्टियागो डे कोम्पोस्टेलामा भएको थियो। उनको परिवार बोलिभियाको सैनिक शासनकालमा निर्वासनमा थियो । उनले बाल्यकालमा विभिन्न जेसुइट विद्यालयमा पढे र पछि वासिङटनस्थित अमेरिकन युनिभर्सिटीबाट स्नातक गरे।

उनका बुबा पूर्व राष्ट्रपति जेइम पाज जामोरा हुन् । उनले सन् १९८९ देखि १९९३ सम्म बोलिभियाको शासन गरेका थिए।

उनका बुबा सन् १९८० को कू प्रयासअघि भएको एउटा विमान दुर्घटनाबाट एक्लै बाँच्न सफल भएका थिए । उक्त दुर्घटना पछि नियोजित आक्रमण भएको खुलासा भयो।

आमाको पनि निर्वासनमा रहँदा रहस्यमय कार दुर्घटनाबाट ज्यान जोगिएको थियो। यी घटनाहरूले पाजको राजनीतिक दृष्टिकोणमा गहिरो प्रभाव पारेका थिए।

परिवार सन् १९८० दशकमा बोलिभिया फर्किएपछि पाजले तारिजाबाट राजनीतिक यात्रा सुरु गरे। उनले नगर परिषद सदस्यदेखि सिनेटरसम्मको यात्रा तय गरे। आफ्नो राजनीतिक करियरमा उनले वामपन्थी र दक्षिणपन्थी दुवै खालका दलहरूसँग गठबन्धन गरेका छन्।

यस निर्वाचनमा उनले आफूलाई मध्यममार्गी उम्मेदवारका रूपमा प्रस्तुत गरे। गरिब वर्गका सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि गर्ने वाचा गरे। उनको आर्थिक योजनामा साना व्यवसाय तथा स्वरोजगारका लागि कर छुट तथा प्रदेश सरकारलाई थप वित्तीय स्वायत्तता दिने प्रस्ताव छ।

‘विचारधाराले पेट भरिँदैन,’ उनले बताउन गरेका छन् ।

पाज र उनका प्रतिद्वन्द्वी क्विरोगा दुवैले पश्चिमी मुलुकहरू विशेषगरी अमेरिकासँग कूटनीतिक सम्बन्ध सुधार्ने वाचा गरेका छन्। बोलिभिया अघिल्ला वर्षहरूमा रूस र चीनतर्फ झुकेको थियो।

पाजले देशको बढ्दो विदेशी ऋणप्रति चिन्ता व्यक्त गर्दै तत्काल पुनःवार्ता आवश्यक भएको बताए। गत महिना उनले वासिङटनमा इन्टर-अमेरिकन डेभलपमेन्ट बैंक, वर्ल्ड बैंक र आइएमएफका प्रतिनिधिसँग भेटेका थिए।

‘यी ऋणहरूबारे हामी पुनःसम्झौता गर्दैछौं,’ उनले भने।

वाचा र चुनौतीहरू

वामपन्थी समर्थक तर कटौती योजनाप्रति सशंकित मतदातालाई आकर्षित गर्न पाजले दोस्रो चरणमा बढी लोकप्रिय भाषण शैली अपनाए।

‘पहिलो दिनदेखि नै इन्धन हुनेछ, कर छुट हुनेछ। सबै सामाजिक सुविधा जोगाइनेछ,’ उनले अक्टोबर १२ को टेलिभिजन बहसमा भनेका थिए ।

तर विपक्षीहरूले यी वाचालाई अव्यावहारिक भने र अर्थशास्त्रीहरूले जसले चुनाव जिते पनि कठोर आर्थिक चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

‘राजस्व घाटा विशाल छ,’ इन्टरनेशनल फाइनान्स इन्स्टिच्युटका जोनाथन फोर्चुनले भने, ‘समायोजन नआउने होइन, प्रश्न कति छिटो र कडा हुनेछ भन्ने हो ।’

बोलिभियाको संसद विभाजित अवस्थामै छ। कुनै पनि दलले स्पष्ट बहुमत नपाएकाले पाजलाई प्रभावकारी शासनका लागि गठबन्धन निर्माण गर्नुपर्नेछ। पाजको पार्टीले तल्लो सदनमा १३० मध्ये ४९ सिट र माथिल्लो सदनमा ३६ मध्ये १६ सिट जितेको छ।

(रोयटर्सबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?