७ कात्तिक, चितवन । भाइटीकाको अघिल्लो दिन, ५ कात्तिकको बेलुकी । दीपावलीको रौनकसँगै मानिसको हतारो मिसिएको साँझ ।
चितवनको भरतपुरस्थित पुलचोक बजारमा बाक्लै भीड थियो । त्यही भीडभाडबीच एक्ली विदेशी युवती बारम्बार ओहोरदोहोर गरिरहेकी थिइन् । उनको अनुहारमा त्रास थियो, आँखाले केही खोजिरहे जस्तो । तर बोल्न सक्दिनथिइन् ।
त्यो दृश्य नियालिरहेका थिए– एक नेपाली युवकले । उनी सोचमग्न भए, ‘यो विदेशी पर्यटक किन आत्तिएकी ? कतै कसैले दुर्व्यवहार त गरेको होइन ?’
उनी ती विदेशी पर्यटक नजिक गएर सोधे, ‘तपाईंलाई कुनै समस्या परेको छ ? के म सहयोग गर्न सक्छु ?’
तर विदेशी युवतीले उनको आवाज सुने पनि सुरुमा बेवास्ता गरिन् । केही क्षण चुप लागिन् । फेरि त्यही भीडमा ओझेल परिन् ।
तर केही बेरपछि, उनी फर्किइन् । सीधै ती नेपाली युवकको अघिल्तिर आएर रुँदै भन्न थालिन्– ‘काठमाडौंबाट गाडी चढेर आउँदा मेरो ब्याग हरायो ।’
काठमाडौंबाट नारायणगढसम्म विनाटिकट आएको, दुईवटा ब्यागमध्ये एउटा गाडीमै छुटेको र त्यही ब्यागमा आईप्याड र अरू महत्वपूर्ण कागजातहरू रहेको उनले सुनाइन् ।
त्यो सुनेर युवक सहयोग गर्न तयार हुन्छन् र भन्छन्, ‘नआत्तिनुस् खोज्न म सहयोग गर्छु ।’
उनी ती युवतीलाई आफ्नो अटोमा बसालेर नजिकैको वडा प्रहरी कार्यालय पुग्छन् । प्रहरीलाई घटना सुनाउँछन् र सहयोग माग्छन् ।
प्रहरीले तुरुन्तै सीसीटीभी फुटेज हेरेर सम्भावित लोकेसनबारे जानकारी दिन्छ ।
प्रहरीको सुझाव अनुसार नै उनी फेरि तिनै विदेशी पर्यटकलाई आफ्नो अटोमा राखेर पारस बसपार्कतिर हुइँन्छिन् । त्यहाँ त्यो गाडी थिएन । त्यसपछि फेरि दोस्रो लोकेसन आँपटारी पुग्छन् ।
ती युवतीलाई गाडीको नम्बर थाहा थिएन, ब्रान्ड पनि थाहा थिएन । त्यसैले खोजीमा समस्या थियो । तर आशा छोडेनन् उनले ।
मनमा एउटा अनुमान आयो– ईभी गाडी पो थियो कि !
त्यसपछि आँपटारीको ईभी चार्जिङ सेन्टर पुगेर सोधपुछ गर्छन् ।
सञ्चालकले भन्छन्, ‘काठमाडौँबाट आएको एउटा ईभी भर्खरै चार्ज गरेर गयो ।’
संयोगवस त्यस गाडी चालकको नम्बर ईभी चार्जिङ सेन्टर सञ्चालकसँगै रहेछ ।
उनले तुरुन्त फोन गर्छन् र सोध्छन्– ‘तपाईंको गाडीमा काठमाडौंबाट कोही विदेशी महिला चढेर नारायणगढ आएको थियो ?’
उताबाट उत्तर आउँछ, ‘हो, एउटी जर्मन महिलाले यात्रा गरेकी थिइन् ।’
त्यसपछि उनी त्यस गाडी भएको ठाउँमा पुग्छन् र हराएको ब्याग फेला पारेर ती जर्मन पर्यटकलाई फिर्ता गर्दछन् ।
चार घन्टाको यो दौडधूपपछि, विदेशी युवतीको आँखामा चमक फर्किन्छ । पहिले रुँदै गरेकी ती युवती आफ्नो ब्याग पाएपछि खुसी, विश्वास र कृतज्ञता व्यक्त गर्छिन् ।
यसरी नि:स्वार्थ सहयोगमार्फत् विदेशी युवतीको मात्र नभई नेपाली मनको इमान र करुणाको मुस्कान ल्याउन सफल युवक हुन्– चितवनको भरतपुर महानगरपालिका–१६ का आकाश अर्याल ।
नाम जस्तै मन पनि आकाशजस्तो सफा र स्वार्थविहीन छ उनको । चितवनका गल्लीहरूमा अटो चलाउँदै परिवार पाल्दै आएका उनको पहिचान केवल चालकको मात्र नभई सेवकको पनि छ । उनले क्यान्सर पीडित बिरामी र उनका आफन्तहरुलाई अस्पताल आउजाउ गर्न नि:शुल्क अटो सेवा दिन्छन् ।
बिहान सबेरै उनी पुलचोक र चौबिसकोठी चहारिरहेका हुन्छन् क्यान्सर अस्पताल जाने बिरामी खोज्दै । त्यस्ता बिरामी र बिरामीका आफन्तहरूलाई आफ्नो अटोमा बसालेर क्यान्सर अस्पतालसम्म नि:शुल्क पुर्याइदिन्छन् ।
उनी भन्छन्, ‘समस्यामा परेकाहरूलाई सहयोग गरौं भन्ने भावनाले क्यान्सर पीडित बिरामीका लागि केही घण्टा नि:शुल्क अटो चलाउँछु ।’
बिहान १० बजेसम्म उनी नि:शुल्क बिरामी बोक्छन्, त्यसपछि मात्र आफ्नो नियमित काममा फर्कन्छन् ।
उनी बिरामीको सहमतिको आधारमा छोटा भिडियो पनि बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्छन् र अरूलाई पनि सहयोग गर्न प्रेरणा प्रदान गर्छन् ।
त्यही मानवीय भावनाको यात्रा बीचमै उनले जर्मन पर्यटकको पनि आँसु पुछ्ने काम गरेका हुन् ।
उनले विदेशी पर्यटकलाई सहयोग गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘उहाँ चाहिँ जर्मनबाट नेपाल घुम्न आउनु भएको रहेछ, एक्लै चितवन आउने क्रममा महँगो सामान भएको ब्याग चाहिँ त्यही माइक्रोमा छुटेपछि आतिँदै, रुँदै हिंडिरहनुभएको थियो ।’
उनले अगाडि लेखेका छन्, ‘मैले उहाँलाई आफ्नो काम छोडेर भए पनि सहयोग गर्ने निर्णय लिएँ र सहयोग पनि गरेँ । म नेपाली हो र कसैको पीडा पनि देख्न सक्दिनँ । पर्यटक भनेको हामी नेपालीहरूका लागि भगवान आए जस्तो लाग्छ मलाई । त्यसकारण हामीहरूले उहाँहरूलाई सकेको सहयोग गरेर खुसी बनाएर पठाउनु पर्छ ।’
यो स्टाटससँगै उनले राखेको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा हालेको त्यो भिडियो मिलियन बढीले हेरिसकेका छन् । अधिकांश फेसबुक प्रयोगकर्ताले आकाशले गरेको सहयोगको प्रशंसा गरेका छन् ।
यस्तै मध्येका निशान थापा लेख्छन्, ‘महान काम भाइ, तपाईंले गर्दा नेपालीको इज्जत विश्व बजारमा केही भए पनि बढ्यो ।’
यसैगरी फेसबुक प्रयोगकर्ता स्नेही शिव लेख्छन्, ‘आकाश सर, हजुरले एकपटक फेरि नेपाल र नेपालीको शीर सगरमाथा जत्तिकै उच्च बनाइदिनुभयो । हार्दिक हार्दिक नमन छ हजुरलाई ।’
यस्तै अर्का फेसबुक प्रयोगकर्ता मोहन लामा रुम्बा लेख्छन्, ‘नेपालको नाम राखेछ भाइ । एकजना पर्यटकले सुखद् अनुभूति गर्दा हजारौं पर्यटकलाई प्रभाव पार्छ ।’
तर आकाश आफू भाइरल हुन विदेशी पर्यटकलाई सहयोग नगरेको बताउँछन् । आफूले गरेको सहयोगले नेपालीहरू कतिसम्म इमान्दार हुँदा रहेछन् भन्ने कुरा विदेशी पर्यटकमा पर्न गएकोमा खुसी लागेको उनी बताउँछन् ।
ड्राइभर पनि इमान्दर भएकै कारण विदेशी पर्यटकको सामान फेला परेको आकाश बताउँछन् । झण्डै ४ घण्टा राति भौंतारिंदै विदेशी पर्यटकको हराएको खुसी फर्काउन पाउँदा आफैंलाई नेपाली हुनुमा गर्व लागेको उनी सुनाउँछन् ।
विदेशी पर्यटकलाई सहयोग गरेको ३ मिनेटको भिडियो हेरेपछि धेरै पर्यटन व्यवसायीहरूले देशभरिबाट फोन गरेर धन्यवाद दिएको उनी बताउँछन् ।
हराएको ब्याग फेला परेपछि नेपाली साँच्चिकै इमान्दर, सहयोगी र महान हुने रहेछन् भन्ने सन्देश विश्वभरि दिएको प्रतिक्रिया ती विदेशी पर्यटकले दिंदा खुसी लागेको उनी सुनाउँछन् ।
प्रतिक्रिया 4