+
+
Shares

जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित, दाताको खोजी

जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन अझै मर्मत भइरहेको छ । बैठक कहिले बस्ने टुंगो छैन । सचिवालयले आवश्यक उपकरणका लागि दातासँग सहयोग मागेको छ ।

जनक विष्ट जनक विष्ट
२०८२ कात्तिक १० गते ८:१४

१० कात्तिक, धनगढी । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहितका संरचना जलाइएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

प्रदर्शनकारीले प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारी साधनहरुमा आगजनी गर्दै ठूलो क्षति पुर्‍याएका थिए । त्यसपछि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक कहिले बस्ने भन्ने टुंगो अझै छैन ।

मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएलगत्तै बैठक बोलाउन सचिवालयलाई तयारी गर्न निर्देशन दिएका थिए । तर, सचिवालयका अनुसार आगजनीमा जलेर ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा मर्मतमा समय लाग्ने भएकाले बैठक तत्काल सम्भव छैन ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार भवनभित्र रहेका फर्निचर, प्राविधिक उपकरणलगायत सबै सामग्री जलेका कारण हाल सोही भवनमा बैठक सञ्चालन गर्न नसकिने अवस्था छ । उनका अनुसार कोटेसन प्रक्रियामार्फत झ्याल–ढोका जडान र प्राथमिक मर्मतका काम सुरु गरिएको छ ।

‘क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण र मर्मत सम्पन्न गर्न कम्तीमा दुई महिना लाग्ने देखिन्छ,’ सचिव बोगटीले भने, ‘अहिले तत्काल गर्न सकिने काम अघि बढाएका छौं, तर बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।’

दातृ संस्थासँग सहयोगको अनुरोध

आवश्यक सामग्री खरिदका लागि सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रिया सुरु गर्दा समय लाग्ने भएकाले सचिवालयले दातृ निकायसँग सहयोग मागेको छ । बोगटीका अनुसार सभा सञ्चालनका लागि क्यामेरा, कम्प्युटर, माइक लगायतका उपकरण खरिद गर्न करिब ४३ लाख रुपैयाँ आवश्यक छ, तर वार्षिक बजेटमा त्यस्तो शीर्षक छैन ।

‘त्यसैले युएनडीपी, युनिसेफ, युएनएफपीए लगायतका दातृ संस्थाहरुलाई सहयोगका लागि अनुरोध गरेका छौं,’ उनले भने, ‘उनीहरू हाम्रो प्रस्तावप्रति सकारात्मक छन् ।’

वैकल्पिक स्थानको खोजी

अहिलेको प्रदेश सभा भवन तत्काल प्रयोग गर्न नसकिने भएकाले वैकल्पिक स्थानको खोजी पनि सुरु भएको सचिवालयले जनाएको छ । बोगटीका अनुसार अत्यावश्यक परेमा प्रदेश सभा परिसरमै टेन्ट गाडेर बैठक सञ्चालन गर्न सकिनेछ ।

साथै, धनगढी उपमहानगरपालिकालाई सिटी हल मर्मत गरी भाडामा उपलब्ध गराउन अनुरोध गर्ने विकल्प पनि विचाराधीन छ ।

‘अर्को विकल्पमा निजी भवन भाडामा लिएर पनि बैठक सञ्चालन गर्ने सम्भावना छ,’ बोगटीले बताए । कुन विकल्प उपयुक्त हुन्छ भन्नेबारे छलफल गरी निर्णयमा पुगिने उनले बताए ।

२४ भदौमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि प्रदेश सभा भवनमा आगजनी र तोडफोड गरिएको थियो । आगलागीबाट भवनका विभिन्न भाग, फर्निचर र यन्त्र उपकरणहरु ध्वस्त भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार सातवटा चारपांग्रे र आठवटा दुईपांग्रे सवारीसाधन समेत जलेका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?