+
+
Shares

सुर्खेतमा भतिज हत्या आरोपमा काका पक्राउ 

चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमलाको हत्या आरोपमा सोही ठाउँका उनका काका पर्ने २० वर्षीय हेमन्त धमला (हिरा) पक्राउ परेका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते २०:२३

१२ कात्तिक, सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेमा आफ्नै भतिजको हत्या आरोपमा काका पक्राउ परेका छन् ।

चौकुने गाउँपालिका–७, गुटुका २१ वर्षीय भुवन धमलाको हत्या आरोपमा सोही ठाउँका उनका काका पर्ने २० वर्षीय हेमन्त धमला (हिरा) पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौर र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरू पश्चिम सुर्खेतको चौकुने–१०, घाटगाउँमा ३ कात्तिक राति लाग्ने भुवा जात्रा हेर्न सँगै गएका थिए ।

तिहार आसपासमा लाग्ने यो जात्रा प्रत्येक वर्ष लाग्दै आएको छ । सोही जात्रा हेर्न ३ कात्तिक राति गएका भुवन ४ कात्तिक बेलुकासम्म पनि घर फर्केनन् । परिवारजनले रातभर खोजी गरे, तर कतै पत्ता नलागेपछि भुवन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा निवेदन दिएका थिए ।

भुवनको खोजीमा प्रहरी र आफन्तहरू दिनरात खटिए । त्यसको तीन दिनपछि ७ कात्तिक दिउँसो चौकुने–१० को ताताथाई भन्ने ठाउँमा भुवनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढ्थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार उनको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । शवको प्रकृति र घटनास्थलको अध्ययनबाट भुवनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

अनुसन्धानका क्रममा जात्रा हेर्न गएका काका हेमन्तले नै उनको हत्या गरेको रहस्य खुलेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमन्तको ज्याकेटमा रगत लागेको फेला परेको थियो । सुरुमा घटनाबारे जानकारी लुकाउन खोजेका हेमन्तको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनी केन्द्रित अनुसन्धान थालेको थियो । स्थलगत, प्राविधिक र अन्य प्रमाणहरू जुटाउँदै जाँदा हेमन्तले नै भुवनको हत्या गरेको ठम्याउन कठिन नभएको डीएसपी बुढ्थापाले बताए ।

प्रहरीका अनुसार भुवन र हेमन्तबिच ३ कात्तिक राति जात्रामा मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा सामान्य विवाद भएको थियो । पछि दुवैले एक आपसमा कुटपिट गरेका थिए । हेमन्तलाई पनि चोट लागेको प्रहरीले जनाएको छ ।

विवाद बढ्दै जाँदा ३ कात्तिक राति १२ बजेतिर मदिराले लठ्ठ हेमन्तले भुवनलाई निर्घात कुटपिट गरेको र सोही कुटपिटले नै भुवनको ज्यान लिएको प्रहरीको निष्कर्ष छ । मृतकका आफन्तले हेमन्तकै नाममा किटानी जाहेरी दिएका छन् ।

प्रहरीले हेमन्तलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी बुधबार म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?