 
																			१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका संस्थापन इतर नेताहरूले पार्टीलाई विभाजनबाट रोक्न माओवादीसँग तय गरिएको एकता प्रक्रिया रोक्न आग्रह गरेका छन् ।
बुधबारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेताहरूले माओवादीसँग तय भएको एकता प्रक्रिया रोक्नुपर्ने धारणा राखेका हुन् ।
पार्टीका सम्मानित नेता खनालले माओवादीसँग तत्काल हुन लागेको एकता रोक्ने आग्रह गर्नकै लागि दिल्लीबाट फर्किएको जानकारी बैठकलाई दिएका थिए ।
‘उपचार (आगलागीमा परेकी पत्नीको) चलिरहेको छ, साथीहरूले यहाँ माओवादीमा पार्टी मिलाउने तयारी भइसक्यो, तपाईं आउनुपर्यो भन्नुभयो,’ खनालले आफ्नो सम्बोधनको सुरुमै भने, ‘माओवादीमा मिसिनुअघि अन्तिम केन्द्रीय कमिटी बैठक हुन्छ होला भन्ने कुराले म आउनु पर्यो ।’
खनालले केन्द्रीय कमिटीको यो अन्तिम बैठक बन्न नहुने तर्क गरे । अर्थात् माओवादीसँग तय भएको एकता रोकेर पार्टीलाई वैचारिक रुपले थप प्रष्ट बनाउँदै लैजान उनले आग्रह गरे । जेनजी आन्दोलनका क्रममा आगलागीमा परेर घाइते भएकी पत्नीलाई दिल्लीमा उपचार गरिरहेका खनालले माओवादीसँग अहिले एकता गर्नु बिसर्जन हुने तर्क गरे । ‘हिजो कांग्रेसतिर लागेर दक्षिणपन्थी भड्कावलाई साथ दिन पुग्यौं । अहिले पार्टी कमजोर भयो भन्दैमा माओवादीतिर मिसिनु विसर्जन हो,’ खनालले भने ।
पार्टीलाई विसर्जनबाट रोक्नुपर्ने तर्क खनालले गरे ।
एकीकृत समाजवादी गठनदेखि नै इतर समूहको नेतृत्व गर्दै आएका खनालले आजको बैठकबाट पनि अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागे । पार्टीको पुनर्गठन अहिलेको आवश्यकता भएको निष्कर्षसहित खनालले राजीनामा मागेका हुन् । भ्रष्टाचार आरोपको मुद्दा लाग्नासाथ राजीनामा दिनु राम्रो हुने सुझाव पहिले दिएको सम्झँदै भने, ‘यो बैठकबाट पनि भन्छु– तपाईंले राजीनामा दिनुस् ।’
बुधबारको बैठकमा वरिष्ठ नेता वेदुराम भुसालले माओवादीसँग एकता गर्ने सहमति लगभग टुंगो लागेको ब्रिफिङ गरेका थिए ।
उनको ब्रिफिङ अनुसार, एकतापछि बन्ने पार्टीको नाम र चुनाव चिन्ह नराख्ने राख्ने सहमति भइसकेको छ । सम्मानजनक संगठनात्मक समायोजन हुने र मार्गदर्शक सिद्धान्तमा पनि कुरा मिलिसकेको ब्रिफिङ भुसालले गरेका थिए ।
माओवादीसहित वाम शक्तिहरूसँग वार्ता गर्न भनेर वेदुराम भुसालको नेतृत्वमा प्रमेश हमाल र प्रकाश ज्वाला रहेको समिति बनेको थियो । उक्त समितिले विभिन्न पक्षसँग वार्ता गरेपनि माओवादीसँग एकता गर्न लगभग टुंगो लागेपछि केन्द्रीय कमिटी बैठक राखिएको थियो ।
तर, माओवादीसँग एकताबारे भुसालको ब्रिफिङ सुनेपछि पूर्वप्रधानमन्त्री खनाल र महासचिव भूसाल पक्षधरले असहमति जनाएका छन् । ‘शीर्ष नेताहरूले आफ्नो कुरा राखेपछि केन्द्रीय कमिटीका ३१ जनाले आज बोल्नुभयो,’ बैठकका एक सहभागी भन्छन्, ‘झलनाथ र घनश्याम नजिक मानिनेहरूले एकताको विरोध गरेरै बोल्नुभयो ।’
राष्ट्रिय राजनीति जेनजी विद्रोहसम्म आइपुग्दा राजनीतिक नेतृत्व कहाँ चुके भन्नेबारे लामै सैद्धान्तिक विश्लेषण बैठकमा सुनाएका भूसालले पनि माओवादीसँगको एकतालाई अस्वीकार गरेका छन् ।
३ जेठ २०७५ मा भएको एमाले र माओवादीको एकतालाई उदाहरण दिँदै महासचिव भूसालले नेताहरू भेला पारेर मात्र नहुने निष्कर्ष सुनाएका छन् । जेनजी आन्दोलनको म्याण्डेट घुस नखानेहरूको पार्टी बनाउनु भए पनि त्यस्तो सन्देश दिने प्रस्ताव एकता प्रक्रियामा नआएको उनले बताएका छन् ।
‘धेरै मान्छेले हुन्थ्यो भने तेत्रो संख्या भएको एमाले–कांग्रेसको सरकार किन एकछिनमै ढल्यो,’ भूसालको प्रस्ताव छ, ‘बृहत वाम एकताको लागि मुख्य काम भनेको आजको संकट र समाधानको एजेन्डा नै हो ।’
आजको संकट हल गर्ने थालनी अहिलेको मूल नेतृत्वको विदाइबाट हुने पनि भूसालले बताएका छन् । ‘..प्रचण्ड कमरेड, माधव कमरेडको अगाडि भनेको छु– तपाईंहरूले छोड्नुहोस्, भूमिका बदल्नुस् । त्यो भूमिका सान्दर्भिक होला,’ भूसालले भने, ‘यो भूमिकामा अब समाजले मानेन के गर्नु हामीले ? हामीले त मानेकै हो, कार्यकर्ताले त मानेकै हो, सदस्यले त मानेकै हो, तर समाजले मानेन कमरेड, मानेन ।’
नेताहरूका अनुसार माओवादी र एकीकृत समाजवादीको पुनर्गठन पछि मात्रै वाम एकता भन्नेमा घनश्याम भूसाल सहमत छन् ।
‘तत्काल माओवादीसँग एकता गर्न सकिदैन भन्ने निष्कर्ष सहित आज बोल्नुभयो,’ उनी निकट एक नेता भन्छन्, ‘तर निर्वाचन अगाडि नेतृत्व छोड्ने ग्यारेन्टी भए एकतामा जान सकिने उहाँको कुरा छ ।’
तर अहिलेकै नेतृत्वलाई लिएर चुनावमा जान नसकिने भूसालको निष्कर्ष छ ।
‘निर्वाचन अगाडि नेतृत्व छोड्छु भन्ने सुनिश्चित गराउनुस्, एकता गर्न सकिन्छ । तर तपाईँहरूलाई कार्यकारी नेतृत्व मानेर चुनावमा जान सकिँदैन भन्ने महासचिवको कुरा हो,’ उनी भन्छन् ।
बैठकमा सहभागी एक पोलिटब्यूरो सदस्यको बुझाइमा पार्टी विभाजनबाट जोगाउन माओवादीसँग हुन लागेको एकता प्रक्रिया रोक्नु भन्ने नै संस्थापन इतरको सन्देश छ । पूर्वप्रधानमन्त्री खनालले त प्रष्ट भाषामै भने, ‘पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ ?’
नेतृत्व पुनर्गठन पछि मात्र एकता भन्ने अडान लिनेहरूलाई वरिष्ठ नेता प्रमेश हमालले आश्वस्त पार्नेगरी बोलेका थिए । एकता प्रक्रियाका क्रममा भइरहेका तीन काम भनेर नेतृत्व पुनर्गठन पनि गरिने सहमति रहेको बताएका थिए । उनको भनाइ अनुसार समाजवादी कार्यदिशा, सम्मानजनक संगठनात्मक समायोजन र पार्टी एकताको ६ महिनाभित्र नेतृत्व पुनर्निर्माण गर्न सकिनेछ ।
तर संस्थापन इतर पक्षका नेताहरूले यी कुनै पनि कुरा सुन्ने मुडमा छैनन् । उनीहरूको प्रष्ट सन्देश छ– पार्टीलाई माओवादीमा मिसाउने निर्णयमा सहमत हुन सकिन्नँ ।
स्रोतका अनुसार विजय पौडेल, लक्ष्मण लम्साल, अषेश घिमिरे, कृष्णकुमार विश्वकर्मा, प्रेमल खनाल लगायतले पार्टी पुनर्गठन पश्चात मात्र वाम एकताको कार्यदिशा अगाडि बढाइनुपर्ने तर्क गरेका थिए ।
‘माओले पनि पछि हटेको इतिहास छ, संसारमा असफलताको जिम्मेवारी लिएर आन्दोलनलाई नयाँ शिराबाट उठाएको प्रशस्त उदाहरणा छन्,’ घिमिरेले नेतृत्व त्याग्न माधव नेपालसँग आग्रह गरेका थिए ।
यद्यपि माधव नेपाललाई साथ दिनेहरूले भने बचाउमा बोलेका छन् । ‘हिजो र आज दुवै दिन माधव नेपाललाई मानेर जानुपर्छ, नेतृत्वको रक्षा गर्नुपर्छ भन्ने नेताहरू पनि ठूलै संख्या हुनुहुन्छ,’ अर्का एक सहभागीले भने ।
केन्द्रीय सदस्यहरू अघि बोलेका नेताहरू मध्ये प्रमेश हमाल, राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडाले एकताको पक्षमा बोलेका थिए । ‘प्रचण्डले गलेका छन्, माओवादीले पनि हाम्रै जस्तो संकट खेपिरहेका छन्,’ खतिवडाले भनेका थिए, ‘अहिले सम्मानजनक एकताको कुरा गर्दा हामी तयार हुनुपर्छ ।’
कोही नछुटी एकताबद्ध बनेर माओवादीसँग एकतामा जानुपर्ने मत उनले राखेका थिए ।
हलबाट बोल्ने क्रममा सर्मिला पौडेल, लक्ष्मण कुँवर, येशु लामा, भीम रसाइली लगायतले माधव नेपालले लिएको निर्णयलाई स्वीकारेर जानुपर्ने मत राखेका थिए ।
माओवादीसँग एकता गर्ने वा नगर्ने भन्ने एजेण्डा छलफलको मुख्य एजेन्डा बनेको यो केन्द्रीय कमिटीमा तेस्रो धारको आवाज पनि आज उठ्यो । त्यो धार हो– जे गर्ने हो, एकताबद्ध भएरै गरौं । कृष्ण बिसी लगायतका नेताहरूले जुन निर्णय लिए पनि विभाजित भएर लिन नहुने मत राखेका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4