१६ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग गरेको छ ।
विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने सरकारको तयारी छ । यसका लागि मन्त्राललयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोग पठाएको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर अगाडि बढाउने गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् ।
तर, निर्वाचन आयोगले गत बिहीबार नै पठाउने भनेको राय अझै पठाएको छैन । गृह मन्त्रालयले निर्वाचन आयोगले राय पठाउन विलम्ब गरेको गूनासो गरेको छ ।
गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यससम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे आयोग छलफलमा रहेको बताउँछन् । गृह मन्त्रालयमा राय पठाउने तयारी भइराखेको उनले जानकारी दिए ।
गृह मन्त्रालयका अधिकारीहरू भने तिहार अगाडि नै मस्यौदा पठाएको तर अझै राय प्राप्त हुन नसकेको बताउँछन् । एक अधिकारी भन्छन्, ‘निर्वाचन आयोगबाट छिट्टै राय प्राप्त हुने अपेक्षा छ ।’
गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल विदेशमा बस्ने नेपाली मतदाताहरूलाई विदेशबाटै मत हाल्न दिनेबारे छलफल चलिरहेको बताउँछन् ।
रिजाल भन्छन्, ‘विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फ भोट हाल्न दिने गरी ऐन संशोधनको प्राविधिक मस्यौदा तयार भएको छ । उक्त मस्यौदालाई निर्वाचन आयोगमा पठाएका छौं । उताबाट आएपछि थप छलफल हुन्छ ।’
उनकाअनुसार मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ । उनी भन्छन्, ‘मतदाता नामावली संकलनको कुरा हुन्छ । अहिले भोट हाल्न दिन खोजेको समानुपातिकमा मात्रै हो ।’
प्रतिक्रिया 4