+
+
Shares

‘मानव र हात्तीबीचको द्वन्द्व कम गर्न समुदायस्तरमा सचेतना आवश्यक’

कोल्हवी नगरपालिका र वाईल्ड केयर नेपालको संयुक्त आयोजनामा यहाँ आयोजना गरिएको ‘मानव हात्ती सहअस्तित्व प्रशिक्षक सीप विकास कार्यशालाका वक्ताहरूले वनजङ्गल फँडानी, जङ्गली हात्तीको बासस्थान र आहारविहार लगायतको अभावको कारणले पनि दुवैबीच द्वन्द्व बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोल्हवी नगरपालिका र वाइल्ड केयर नेपालले मानव र हात्तीबीच सहअस्तित्व कायम गर्न समुदायस्तरमा काम गर्नुपर्ने बताएका छन्।
  • वनजङ्गल अभाव र हात्तीको बासस्थान नपुग्दा मानव-हात्ती द्वन्द्व बढेको छ र यसलाई कम गर्न जरुरी रहेको छ।
  • वन्यजन्तु विज्ञले नेपालमा करिब दुई सय २७ जङ्गली हात्ती र एक सय ७७ घरपालुवा हात्ती रहेको उल्लेख गरेका छन्।

१९ कात्तिक, वीरगञ्ज। मानव र हात्तीबीचकोद्वन्द्व कम गर्न समुदायस्तरमा सहअस्तित्वको सम्बन्धलाई कायम गर्दै अघि बढ्न जरुरी भएको सरोकारवाला निकायले औंल्याएका छन्।

कोल्हवी नगरपालिका र वाईल्ड केयर नेपालको संयुक्त आयोजनामा यहाँ आयोजना गरिएको ‘मानव हात्ती सहअस्तित्व प्रशिक्षक सीप विकास कार्यशालाका वक्ताहरूले वनजङ्गल फँडानी, जङ्गली हात्तीको बासस्थान र आहारविहार लगायतको अभावको कारणले पनि दुवैबीच द्वन्द्व बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। कोहल्वी नगरपालिका प्रमुख रामप्रसाद चौधरीले मानव र हात्तीबीचको द्वन्द्व चर्काउने भन्दा पनि कम गर्नेतर्फ अघि बढ्न जरुरी भएको बताए ।

‘कोहल्वी नगरपालिकाको धेरै वडा जङ्गली हात्तीबाट प्रभावित रहँदै आइरहेका छन्,’ उनले भने, ‘मानव र हात्ती दुवै प्रकृतिका अनुपम चिज भएकाले दुवैको सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्न जरुरी रहेको छ । त्यसैले नगरपालिकाले पनि सोतर्फ ध्यान दिइरहेको छ।’

लाइफ ट्रष्ट इन्डियाका निर्देशक डा बिए ड्यानियलले हात्ती र मानवबीचको सम्बन्ध निकै जटिल प्रकृतिको भएकाले पनि मान्छेले हात्तीको आनीबानीलाई हेरेर व्यवहार गर्नुपर्ने बताए। ‘पछिल्लो समय विश्वमा हात्तीको सङ्ख्या अस्वाभाविक रूपमा घटिरहेको छ ।

सो घट्नुमा मानव र हात्तीबीचको द्वन्द्व पनि प्रमुख कारण रहेको छ,’ उनले भने, ‘भविष्यका पुस्तालाई हात्ती देखाउनको लागि पनि मानव र हात्तीबीचको सहअस्तित्वलाई अघि बढाउँदै लैजान जरुरी छ।’

उनका अनुसार वनजङ्गलको जभा दुवैबीच द्वन्द्व बढेकाले सोलाई न्यूनीकरण गर्न सहअस्तित्वलाई ध्यान दिनु जरुरी छ। निर्देशक ड्यानियलले भारतमा गरिएको एक अध्ययनले जङ्गली हात्तीले भन्दा मुसाको कारणले भारतमा धानको क्षति धेरै गुणा ठूलो हुने भए पनि मान्छेले नजरअन्दाज गर्दै आइरहेको बताए । उनका अनुसार एउटा मुसाले प्रतिवर्ष साढे छ किलोग्रामभन्दा धेरै धान खाने गर्दछ।

वाइल्ड केयर नेपालका कार्यकारी निर्देशक डा.रमा मिश्रले मानव र हात्तीबीच देखिएको द्वन्द्व न्यूनीकरण गर्नका लागि समुदायस्तरमा विभिन्न खालका जनचेतना र जागरणमुलुक अभियान सञ्चालन गर्दै आइरहेको बताए ।

‘जङ्गली हात्तीको कारणले हुने क्षति र नोक्सानीको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रावधान केही झन्झटिलो र प्रक्रियामुखी हुँदा पनि वास्तविक पीडितले राहत प्राप्त गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘राज्यले पनि झन्झटिलो प्रावधानलाई सहज गराउनेतर्फ अग्रसर हुन जरुरत छ।’

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोहल्वीका प्रधानाध्यापक विकीकुमार चौधरीले पनि विद्यालयस्तरमा पनि मानव र हात्तीबीचको द्वन्द्वको विषयमा विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको बताए। कोहल्वी नगरपालिका–४ का वडाध्यक्ष विष्णुप्रसाद मैनालीले हात्ती प्रभावित जनताले क्षति र राहत पाउन निकै समस्या भोग्नुपरेको गुनासो गरे ।

वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले नेपालमा करिब दुई सय २७ को हाराहारीमा जङ्गली हात्ती रहेको बताए। ‘नेपालका तराई भू–भागका १९ जिल्लामा दुई सय २७ को सङ्ख्यामा जङ्गली हात्ती रहेको विभिन्न अध्ययनले देखाएको छ,’ उनले भने, ‘घरपालुवा हात्तीको सङ्ख्या भने एक सय ७७ रहेको छ।’

वन्यजन्तु विज्ञ लामिछानेले मानवले हात्तीलाई असल व्यवहार गरेको खण्डमा हात्तीले पनि असल र प्रेमपूर्वक व्यवहार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?