२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य प्रतिमा गौतमले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार १५ औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताएकी छन् ।
केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गौतमले महाधिवेशनपछि मात्र चुनावमा जाने निर्णयले गर्नुपर्ने बताइन् ।
‘चार वर्षे कार्यकाल यही मङ्सिरमा समाप्त हुँदैछ । मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गरी नयाँ जनादेश लिएर मात्र देशको जनादेश लिन चुनावी मैदानमा जानुपर्छ,’ गौतमले भनिन्, ‘त्यस समयमा नभ्याउने हो भने महामन्त्रीले प्रस्ताव गरेको पुस १६ देखि १९ सम्म महाधिवेशन गर्न सकिन्छ । तर विशेष महाधिवेशन गर्नैपर्ने पुष २९ भित्र विशेष होस् वा नियमित मध्य एक विकल्पमा गएर मात्रै संसदीय चुनावमा पार्टीलाई लैजानुपर्छ ।’
महाधिवेशन नगरी चुनावमा जाने बहाना नखोज्न नेताहरुलाई उनले चेतावनी दिइन् । पुरानै नेतृत्वले अस्थायी रूपमा चुनावमा जान खोज्नु नेतृत्व संक्रमणलाई अनिश्चित बनाउने र संगठनलाई कमजोर पार्ने गल्ती हुने गौतमको भनाई छ । २ हजार ४८८ महाधिवशेन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको हुँदा उनीहरुको मागको सम्बोधन हुनुपर्ने गौतमले जोड दिइन् ।
प्रतिक्रिया 4