+
+
Shares

निर्वाचन आयोग पुगेका विप्लवले भने- अहिले निर्वाचनको वातावरण बनिसकेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १५:३३

२१ कात्तिक, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् ।

महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रूपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरूले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर गरे ।

विप्लवले भने,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रूपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टीभन्दा बाहेक बाहिर अरू साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । र जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ ।’

कम्युनिष्ट पार्टी एकताको बहस जारी रहेको भन्दै उनले नेपालमा कम्युनिस्टहरूलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने प्रस्ताव आफूहरूको रहेको बताए ।

उनले अगाडि भने, ‘नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनै पनि काम गरेको छैन । र गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । र जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौं।’

‘जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईंहरूकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद् परिणामहरू छन् । त्यसको शिक्षासहित हामीले देशलाई अपिल पनि गरेका छौँ,’ उनले भने ।

अहिलेसम्म देशलाई सम्पूर्ण रूपले जीवन समर्पित गरेको भन्दै उनले त्यही आधारमा पार्टीले तीन वटा कुरा सोचेको बताए ।

पहिलो- एउटा नयाँ कम्युनिस्ट केन्द्रका लागि पहल गर्ने ।

दोस्रो- समाजवादी केन्द्र निर्माणका लागि पहल गर्ने ।

तेस्रो- देशको अस्थिर एवं संकटपूर्ण राजनीतिलाई निकास दिन देशभक्त, समाजवादी, कम्युनिस्टहरू मिलेर पहल गर्ने ।

नयाँ एउटा कम्युनिस्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा घनश्याम भूसाल र जनार्दन शर्मासँग छलफल गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?