News Summary
Generated by OK AI. Editorially reviewed.- डडेलधुराका युवा सागर ढकालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन्।
- ढकालले सरकारको रफ्तार र काम देखेर डर लागेको र चुनाव जेनजीले चाहेजस्तो गराउने जिम्मेवारी कसको हो भनेर प्रश्न उठाएका छन्।
- उनी प्रविधिको प्रयोग गरेर निर्वाचन नगराए पुराना दलका बुढा नेताहरू निर्वाचित हुने चिन्ता व्यक्त गर्दै सरकार र निकायहरूलाई जिम्मेवारीबाट पन्छिने आरोप लगाएका छन्।
२४ कात्तिक, काठमाडौंं । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ०७९ मा प्रतिनिधि सभा चुनाव लडेका युवा सागर ढकालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले सरकारको रफ्तार र काम देखेर आफूलाई डर लागेको बताएका छन् ।
सरकार र राजनीतिक दलहरूसँगको छलफलमा जेनजी युवाहरूसँगै बालुवाटार समेत पुगेका ढकालले जेनजी आन्दोलनले इतिहास रचेको तर, सरकार विद्यमान अवस्थामै चुनाव गराउने ध्याउन्नमा रहेको भन्दै गुनासो गरेका हुन् ।
प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै ढकालले लेखका छन्, ‘प्रिय सुशीला आमा, माफ गर्नुस् डडेलधुरा यत्तिकै जान सक्दिन, मलाई यो सरकारको रफ्तार र काम देखेर निकै डर लागेको छ । विश्व इतिहास बनायौँ, पूरै सिस्टम करिब जस्ताको त्यस्तै चुनाव गराउने मुडमा छ । हरेक पाइलामा बाहाना खोजेको छ ।’
गृहमन्त्री, कानुनमन्त्री, निर्वाचन आयोगका कर्मचारी प्रविधिबारे जानकार नरहेको दाबी गर्दै ढकालले बेजिल्ला र विदेशमा रहेका नेपालीलाई प्रत्यक्ष र समानुपातिकमा मतदानको अधिकार दिन आफूहरू कस्सिएर लागेको दाबी गरेका छन् । प्रविधिको प्रयोग गरेर निर्वाचन नगराए फेरि पनि पुराना दलमा बुढा नेताहरू नै निर्वाचित भएर आउने उनको चिन्ता छ ।
सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन जाँदा सबै जिम्मेवारीबाट पन्छिने गरेको भन्दै ढकालले भनेका छन्, ‘निर्वाचन आयोग गयो– गृह र कानुन देखायो पन्छियो, गृह र कानुन गयो निर्वाचन आयोग देखायो बस्यो , प्रधानमन्त्री कार्यालय गयो टाइमलाइन एन्ड एक्सन दिने हाम्रो जिम्मेवारी होइन भन्नुहुन्छ ।’
सरकारी संयन्त्रको बहानाबाजीबाट आजित भएर प्रधानमन्त्री कार्कीलाई गुहार लगाएको उनको भनाइ छ ।
ढकालको प्रश्न छ, ‘यो चुनाव जेनजीले चाहेजस्तो गराउने जिम्मेवारी कसको हो ? हामी कहाँ गए पूर्ण सूचना पाउन सक्छौं र ढुक्क हुन सक्छौं ? को हो यो निर्वाचन केन्द्र ? ।’
प्रतिक्रिया 4