२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने बताएका छन् । बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो । त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ ।’
उनले थपे, ‘धरहरा कसले बनाएको – मैले बनाएको, फलानो कसले बनाएको – मैले बनाएको भन्ने । गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’
उनले बंगलादेश लगायतमा चलेका आन्दोलनहरूमा पहिलो दिन नै यसरी मानवीय क्षति नभएको भन्दै तत्कालीन सरकारले पहिलो दिनको मानवीय क्षति किन रोक्न सकेन छानबिन गर्नुपर्ने बताए ।
‘त्यसमा दोषी जो संलग्न छन्, प्रमाणित मानिसहरूलाई कारबाही गर्नुपर्छ,’ उनले भने ।
उपाध्यक्ष पाण्डेले भदौ २४ गतेको घटना पनि त्यत्तिकै अक्षम्य रहेको बताए । ‘सिंहदरबार जलाउन पाइन्छ? व्यक्तिका घर, अदालत जलाउन पाइन्छ, या अरू कुरा गर्न मिल्छ? मिल्दै मिल्दैन,’ उनले भने ।
‘पार्टी कार्यालय जलाउने, अरूका सम्पत्ति तोडफोड, आगजनी र लुटपाट चोरी किन गर्ने? यदि कानुनी शासन भएन र जे पनि गर्न पाइन्छ भन्ने हो भने नेपालमा कोही बस्छ?’ उनले भने, ‘अनि देश रहन्छ, देश चल्छ ?’
नेता पाण्डेले जतिसुकै भए पनि अपराधीहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘डरै भएन भने के हुन्छ?’
उनले भदौ २३ र २४ को अन्तरसम्बन्ध रहेको भन्दै २३ नभएको भए २४ नहुने तर्क गरे । उनले गम्भीर अपराधमा संलग्नहरूलाई कारबाही नगरे दण्डहीनता बढ्ने बताए ।
‘संलग्न छन् भने एमालेमाथि पनि कारबाही गर्ने र हामीले त्यसमा समर्थन गर्ने कुरा हुनैपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4