+
+
Shares

अघि बढ्यो नेवानिको महाप्रबन्धक पदपूर्ति प्रक्रिया, खुल्यो दरखास्त

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ७:२९

२७ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदको पदपूर्ति छनोट समितिले आज दरखास्त आह्वान गरेको छ ।

नेवानिको महाप्रबन्धक पदमा पदपूर्ति गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले यही कात्तिक २५ गते पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् ।

आज छनोट समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । ‘नेपाल वायु सेवा निगम, काठमाडौंको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ आज जारी सूचनामा लेखिएको छ ।

आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

नेवानि महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्रीले सचिव मैनालीको संयोजकत्वमा १४ कात्तिकका दिन छनोट समिति गठन गरेकी थिइन् ।

समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने कार्यभार दिइएको थियो । तर, समितिको एउटा पनि बैठक नबसेपछि प्रधानमन्त्रीले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायसमेतको उपस्थितिमा पर्यटन मन्त्रालयका सचिव मैनालीसँग स्पष्टीकरण सोधेकी थिइन् । पर्यटन मन्त्रालयको विभागीय जिम्मेवारी अहिले प्रधानमन्त्रीसँगै रहेको छ ।

निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको ७ कात्तिकमा कार्यकाल सकिएपछि हाल नेपाल वायु सेवा निगम नेतृत्वविहीन छ । जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको भूमिकामा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?