२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि प्रस्ताव गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो मिति प्रस्ताव गरेका हुन् ।
बैठकमा नियमित महाधिवेशनको अध्याय सकिएको जिकिर गर्दै उनले मंसिर २७ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो,’ उनले भने, ‘त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो । अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ ।’
साथै, उनले अधिवेशनबाट पार्टी नयाा भएर अघि बढ्ने र नयाँ पुस्ताको मागअनुसार पार्टीलाई बदल्ने पनि बताए ।
‘नेपाली कांग्रेस नयाँ भएर आउँछ । नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ उनले भने, ‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी अस्वीकार गर्दै जनादेश माग्न जानु हो ।’
यस्तो अवस्थामा जनताले साथ नदिने उनको भनाइ थियो ।
‘कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने होइन, सम्हाल्ने हो,’ उनले भने ।
भदौ २३ को घटना हुँदा कांग्रेस पनि सरकारमा रहेको स्मरण गर्दै उनले आफ्नो भागमा परेको जिम्मा लिने बताए ।
प्रतिक्रिया 4