+
+
Shares

चितवन मेडिकल कलेजले सुरु गर्‍यो रोबटिक सर्जरी

अत्यधुनिक प्रविधिमा आधारित रोबटिक सर्जरी संसारमा नै विश्वसनीय मानिने गरेको कलेजको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १४:१४

२८ कात्तिक, चितवन । चितवन मेडिकल कलेजले रोबटिक सर्जरी सेवा सुरु गरेको छ । राजधानी बाहिर पहिलोपटक कलेजले यो सेवा सुरु गरेको भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत सेक्टेम्बर महिनादेखि थालेको सेवा हालसम्म १४ जनाले लिइसकेका छन् । तीमध्ये ८ जनाको मेजर सर्जरी गरिएको हो । अधिकांश युरोलोजीसँग सम्बन्धित बिरामीको शल्यक्रिया गरिएको हो ।

अत्यधुनिक प्रविधिमा आधारित रोबटिक सर्जरी संसारमा नै विश्वसनीय मानिने गरेको कलेजको दाबी छ । झन्डै ३२ करोडको लगानीमा रोबर्टसहितको सेटअप तयार गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनले कलेजले नयाँ नयाँ प्रविधिहरू ल्याएर राजधानी बाहिर विशिष्टीकृत सेवा प्रदान गरेको बताए ।

कलेजले रोबटिक सर्जरी गर्ने प्राविधिक तथा चिकित्सकहरूलाई तालिमका लागि चीन पठाइसकेको छ । अहिले कलेजमा रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङको नेतृत्वमा रोबर्टिक सर्जरी भइरहेको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनको टिममा जीआई सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्र लगायतका चिकित्सकहरूको टिम छ ।

डा.गुरुङका अनुसार ओपन सर्जरी (चिरेर गरिने) र दुरबिन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबटिक शल्यक्रिया धेरै आधुनिक, सहज र बिरामी चाँडै निको हुने खालको भएको हुन्छ । ‘रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो । यसमा कम्प्युटर डिभाइस, सिस्टम र राम्रो प्रविधि जडित हुन्छ ।’ डा. गुरुङले भने चिकित्सकको निर्देशन र योजनाअनुसार रोबर्टको सहायता लिएर शल्यक्रिया गर्ने हो ।’

यो प्रविधिबाट सर्जरी गरेको बिरामीले भोलिपल्ट वा पर्सिपल्ट नै अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि डा. गुरुङले बताए ।

सानो प्वाल बनाएर शल्यक्रिया गरिने र त्यस क्रममा रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने, संक्रमणको सम्भावना पनि कम हुने लगायतका कारणले बिरामीलाई असहज नहुने उनको भनाइ छ ।

शल्यक्रियामा ५० हजारदेखि दुई लाखसम्म शुल्क लिएर रोबर्टिक सर्जरी गरिएको अस्पतालले जनाएको छ । न्यूनत्तम दुई लाख शुल्क अप्रेसनको पर्ने भए पनि हाल कलेजले सहुलियत दरमा बिरामीलाई सेवा दिएको छ । सोही प्रकारको सेवा लिन भारतमा ३ लाख देखि ८ लाखसम्म भारुसम्म लाग्ने डा. गुरुङले बताए ।

रोबटिक सर्जरी धेरै जसो युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा प्रयोग हुने गरेको छ ।

रोबोटिक सर्जरीमा प्रयोग हुने उपकरणहरू अत्यन्त संवेदनशील र सूक्ष्म हुने डा. गुरुङको भनाइ छ । ‘उपकरणहरूले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्मी र सानातिना गतिका शल्यक्रिया गर्न सक्छन् । यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र अप्रेसनको परिणाम अत्यन्तै विश्वासिलो र सुरक्षित हुन्छ,’ डा. गुरुङले भने ‘जटिल शल्यक्रियाहरू सजिलै सम्पन्न गर्न, पुनः स्वास्थ्य लाभको समय घटाउन, र बिरामीको दुखाइ कम गर्न लतायत छिटो स्वास्थ्य लाभ गर्न मद्दत गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?