+
+
Shares

बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ?

यो एउटै किस्साले पनि त्यहाँको चुनावी नतिजाको रहस्य खोतल्न सघाउँछ ।

राजनीतिक ब्युरो राजनीतिक ब्युरो
२०८२ कात्तिक २८ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धनले २०० भन्दा बढी सिट जितेर ऐतिहासिक विजय हासिल गरेको छ।
  • महिला मतदाताको अभूतपूर्व सहभागिताले नितिश कुमारको नेतृत्वमा रहेको सरकारलाई ठूलो समर्थन दिएको छ।
  • एनडीएले विकास र स्थिरताको वाचा गर्दै जातीय सन्तुलन कायम राखेर विपक्षी महागठबन्धनलाई पराजित गरेको छ।

२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजाको प्रारम्भिक रुझानमा एनडीए गठबन्धनले २०० भन्दा बढी सिटको आंकडा पार गरिसकेको छ। उता विपक्षी महागठबन्धन जम्मा ३५ सिटमा मात्र अगाडि छ।

कसरी सम्भव भयो यो नतिजा ? यसलाई बुझ्न चुनावमा प्राप्त अंक केलाएर मात्रै पुग्दैन । बिहारको सामाजिक-आर्थिक-राजनीतिक पृष्ठभूमि खोतल्नुपर्ने हुन्छ । बिहारका नागरिक के चाहन्छन् ? उनीहरूको खास पहिचान के हो ? यसलाई नखोतली एनडीएले १५ वर्षपछि बिहारमा फर्काएको शक्तिशाली नतिजा बुझिंदैन ।

भारतीय सञ्चार माध्यमहरूले एउटा किस्सालाई महत्व दिएर प्रसारण गरिरहेका छन् । बिहारको एक अत्यन्त पिछडिएका वर्ग (ईबीसी) बाहुल्य गाउँमा युवा मतदाताहरूले भनेछन्, ‘हामीलाई पुरानो तरिकाको मासु-भात वाला चुनाव चाहिँदैन। हाम्रो गाउँमा सडक बनेको छ, बिजुली आएको छ र महिलाहरूलाई साइकल मिलेको छ। नेता बदल्दा यी कामहरू रोकिनेछन्, त्यसैले हामी काम गर्नेलाई नै चुन्नेछौं ।’

यो एउटै किस्साले पनि त्यहाँको चुनावी नतिजाको रहस्य खोतल्न सघाउँछ गर्छ । किनकि चुनावी परिणामपछि विश्लेषकहरू नेताको जिततर्फ बढी ध्यान दिन्छन् तर बुझ्नुपर्ने हुन्छ- मतदाताको सोच र समझदारीको बदलाव ।

मोदी-नितिश गठबन्धन

सन् २०१० मा एनडीएले कीर्तिमानी २०६ सिट जितेको थियो । त्यतिबेला जेडीयूले ११५ सिट जित्दा बीजेपीको पोल्टामा ९१ सिट परेको थियो । उक्त चुनावमा एनडीएले विकास र स्थिरताको वाचा दिएको थियो।

सन् २०२५ मा एकपटक फेरि २०१० दोहोरिएको छ । मोदी-नितिशको गठबन्धनले फेरि नतिजा निकालेको छ । सिट संख्या झन्डै दोब्बर बनाउँदै नितिश कुमार यस चुनावका एक ठूला विजेता साबित भएका छन् । सन् २०२० मा जम्मा ४३ सिटमा जित हासिल गरेको जदयूले ४१ सिट बढाएर ८४ स्थानमा अग्रता हासिल गरिरहेको छ ।

बिहारको विविधता प्रतिनिधित्व गर्ने हरेक मतदाता वर्गले यही गठबन्धनलाई अनुमोदन गरेको छ । सहरदेखि गाउँका मतदातालाई पनि रिझाएको छ ।

निर्णायक बनेका महिला मतदाता

सामान्यतः लगातार २० वर्षसम्म सत्तामा रहँदा मतदाताले मत बदल्नुपर्ने हो । तर, यस्तो भएन । उनले त बरू आफ्नो शक्ति डबल गरे ।

यो नतिजा आउनुका पछाडि महिला मतदाताको साथ महत्वपूर्ण रहेको विश्लेषकहरूले बताएका छन् । चुनावमा महिला मतदाताको अभूतपूर्व सहभागिताले केही नतिजा दिंदैथियो । राजनीतिक हल्लाहरूमा दबिने सीमान्तकृत महिला आवाजले चर्कोगरी हल्ला गरेका छन् ।

ब्यालेटमा महिलाको उपस्थितिले हामी बदलिन चाहन्छौं, बदलिएका छौं भन्ने सन्देश पनि दिएको छ । कसरी ? सबैभन्दा महत्वपूर्ण पक्ष हो- महिला मतदातामा नितिशको छवि। उनको सरकारले चुनावभन्दा ठीक अघि बिहारका महिलाहरूको खातामा दस-दस हजार रुपैयाँ पठाएको थियो।

बिहार में मतदान

बितेको दुई दशकमा उनले नीतिहरूको केन्द्रमा महिला राखे । चुनावमा ५० प्रतिशत महिला आरक्षण सुनिश्चित गरे । बिहार पुलिसमा ३५ प्रतिशत पद महिलाका लागि आरक्षित गरे ।

बिहारमा मदिरा निषेधदेखि महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरण गर्न अनेकौं काम गरे । स्कुले छात्राहरूलाई साइकल दिने योजना पनि जनताले निकै मन पराएका छन् । तब न उनीहरूले सडक, बिजुली, पानी र महिला सुरक्षाजस्ता मुद्दाको पक्षमा मत व्यक्त गरे । यो एकप्रकारले एनडीएले बनाएको महिला केन्द्रित नीतिहरूको प्रतिफल हो ।

यी सबै नीतिहरूको व्यवहारिक कार्यान्वयनले महिला सशक्तीकरण भएको छ । मतदानमा उनीहरूको अभूतपूर्व सहभागिता यसैको नतिजा थियो । सबै जाति र क्षेत्रका महिला मतदाताहरूले नितिशको नेतृत्वमा रहेको सरकार र प्रधानमन्त्री मोदीको पक्षमा ठूलो संख्यामा मतदान गरेको स्पष्ट देखिन्छ।

बदलिएको बिहार राजनीति

मोदी-नितिश दुवै सत्ता विरोधी लहर (एन्टी-इन्कम्बेन्सी) बाट एनडीएलाई जोगाउन सफल भएका छन् । केन्द्रमा स्थिरता छ, राज्यमा अस्थिरता ठिक हुन्न भन्ने नारालाई उनीहरूले कुशलतापूर्वक फ्रेमिङ गर्न सके।

यो गठबन्धनलाई उनीहरूले ‘डबल-इन्जिन’ को रूपमा प्रस्तुत गरे । यो अपिलले मतदाताको मनमा विकास र स्थिरताका लागि केन्द्र र राज्यमा एउटै सत्ता आवश्यक छ भन्ने विश्वास बलियो बनाइदियो।

जनअपेक्षाअनुसार परिवर्तन भइरह्यो भने मतदाताले एउटै सत्ता शक्तिको निरन्तरता दिइरहन्छन् । बिहारको चुनावी नतिजाको एउटा शक्तिशाली सन्देश यो पनि हो ।

यो नतिजाले महागठबन्धनलाई ठूलो नोक्सानी भएको छ । उनीहरू नयाँ र शक्तिशाली चुनौतीहरूले jcfiघेरिएका छन् । सबै शक्तिहरूका अगाडि बीजेपी र जेडीयू भारती बनेको छ । पहिले नम्बरको पार्टी आरजेडी तेस्रो नम्बरमा खस्किएको छ।

तेजस्वी यादव और सम्राट चौधरी

यसको स्पष्ट सन्देश हो- महागठबन्धनका वाचा र मतदाताका आकांक्षा मेल खाएनन्। बरू, एनडीएले बिहारको भविष्य बदल्ने आशा सञ्चार गर्न सक्यो ।

महागठबन्धनले मत चोरी, बेरोजगारी, भ्रष्टाचार र आर्थिक मन्दीका नारा दिएर संस्थापनलाई निशाना बनाइरह्यो तर, आफूले बनाउन चाहेको बिहार कस्तो हो भन्ने स्पष्ट र एउटै सन्देश दिन सकेन । जति दियो, जसरी दियो त्यसलाई मतदाताले पत्याएनन् ।

गठबन्धन राजनीतिको प्रमुख समस्या हो – समयमै भागबन्डा र एजेन्डामा एकरूपता । चुनावी प्रचार सुरु हुनुअघि नै गठबन्धनको तस्बिर पनि स्पष्ट भयो । सँगै, चुनावी नतिजाले बदल्ने बिहारको भविष्य पनि ।

किनकि एनडीएले कुशल राजनीतिक इन्जिनियरिङ र व्यवहारिक गठबन्धन बनाइरहँदा विपक्षी महागठबन्धन आन्तरिक खिचातानी र कमजोर राजनीतिक व्यवस्थानबाट ग्रस्त थियो ।बिहार चुनावको नतिजाले भनेको छ- दलको चुनावी रणनीति, मतदाताको पहिचान र अपेक्षाहरूले चुनावी परिणामहरूलाई आकार दिएको हो ।

जंगलराज विरुद्ध सुशासनको भाष्य

एनडीएले ‘जङ्गलराज’ को डरलाई जीवित राख्न सक्यो । त्यसरी नै चुनावी प्रचार गर्‍यो । जबकि यो निकै पुरानो कुरा हो । प्रधानमन्त्री मोदी र अमित शाहदेखि योगी आदित्यनाथसम्मले आफ्नो हरेक र्‍यालीमा विधिको शासनविरुद्धको पुरानो बिहारका दृश्यहरू बताइरहे ।

बारम्बार दोहोऱ्याइने यी कथाहरूले लालु राजपछि जन्मेका युवा मतदाताहरूको मन पनि बदल्यो । जबकि उनीहरूले लालु राज देखेकै थिएनन् । एनडीएले विकासका साथसाथै सुरक्षित वातावरण दिन सक्ने पार्टी आफू नै भएको स्पष्ट पार्‍यो ।

जेडीयू कार्यालय

यसलाई विरासतको बोझ पनि भन्न सकिन्छ । कुनै चुनावमा विरासत शक्ति बनिदिन्छ भने कुनैमा बोझ । लालुको विगतका कारण समाजका शिक्षित युवाले तेजस्वी यादवलाई ‘पुरानो राजनीति’ को प्रतिनिधि ठानिदिए। यादव समुदायकै युवाहरूले रेडिटमा अपिल गरे – ‘जातिवादभन्दा माथि उठौं, तर तेजस्वीजस्ता अनपढ नेतालाई नचुनौं।’

जोखिम मोलेनन् मतदाताले

बिहार जति बदलिएको छ, यो रफ्तारलाई निरन्तरता दिने पक्षमा मतदाताले मत व्यक्त गरे । केन्द्र र राज्यले ल्याएका कल्याणकारी योजनाहरूबाट लाभान्वित विशाल मतदाता पंक्तिले यसमा तलमाथि हुनसक्ने सम्भावित जोखिम व्यहोर्न चाहेनन् । उनीहरूले आफ्नो हित रक्षाको यही अवस्थालाई निरन्तरता दिन चाहे । समाजको तल्लो तहमा रहेको यो वर्ग कुनै पनि विरोधको लहरबाट प्रभावित बनेन ।

जातिमा टिकेको बिहारको राजनीतिमा जातीय सन्तुलन राख्न पनि आरजेडी चुक्यो । आरजेडीको भोट बैंक मुख्य रूपमा मुस्लिम-यादव समीकरणमा निर्भर छ, तर यो चुनावमा यादव उम्मेदवारहरूको अधिकताले ‘यादव राज फर्कनेछ’ भन्ने डर समाजमा पैदा गर्‍यो।

यसबाट आरजेडीबाट पिछडिएका जातिहरू (ईबीसी-ओबीसी) त टाढा भए नै, सँगै यादव समाजमा पनि असन्तुष्टि बढ्यो। चुनावी लहर आफ्नो पक्षमा पार्नुका साथै चुनावका सानातिना प्राविधिक तयारीमा पनि एनडीएले आफूलाई अब्बल उतार्‍यो । भाजपाको संगठनात्मक संयन्त्रको दक्षताले सिटहरूको सानो अन्तरलाई निर्णायक जितमा बदल्यो।

एनडीएले बुथ व्यवस्थापन, मतदाता परिचालन र कार्यकर्ताको सक्रियताको सवालमा विपक्षीलाई निकै पछि छाड्यो। कतिपय ठाउँमा यही कुशल परिचालन नै जितका लागि निर्णायक बन्यो ।

(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

लेखक
राजनीतिक ब्युरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?