+
+
Shares

मंसिरका लागि थप घट्यो ब्याजदर, १० बैंकले राखे स्थिर

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २० वटा वाणिज्य बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकको तुलनामा ०.१६ प्रतिशत विन्दुले घटाएको छ।
  • ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ६ प्रतिशत ब्याजदर कायम राखेको छ।
  • बैंकहरूले लगानीयोग्य रकम पर्याप्त रहेको र कर्जा प्रवाह नहुँदा ब्याजदर घटिरहेको राष्ट्र बैंकले जनाएको छ।

३० कात्तिक, काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।

कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।  १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिनेछन्।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वत: घट्छ ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर सूची

बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर %
कृषि विकास ४.९५ ४.९५
एभरेस्ट ५ ५
नेपाल ५.२५ ५.२५
लक्ष्मी सनराइज ५ ५
माछापुच्छ्रे ५ ५
एनआईसी एसिया ५.७५ ५
प्रभु ४.९५ ४.९५
स्टान्डर्ड चार्टड ५ ४.७
राष्ट्रिय वाणिज्य ५.५ ५.५
नबिल ४.९५ ४.७५
ग्लोबल आईएमई ६ ६
सिद्धार्थ ५.५ ५
प्राइम कमर्सियल ५ ४.७५
कुमारी ५.०१ ४.९१
सानिमा ५.१५ ५
हिमालयन ६ ५.५
नेपाल एसबीआई ५ ४.८
इन्भेस्टमेन्ट मेगा ५ ५
एनएमबी ५ ५
सिटिजन्स ५ ४.७५

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?