News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायत सरकारले शरणार्थीहरूको सुरक्षामा कटौती गर्दै स्वतः प्राप्त सुविधाहरू घटाउने नयाँ नीति लागू गर्ने निर्णय गरेको छ।
- गृहमन्त्री शबाना महमूदले शरणार्थी मान्यताको अवधि पाँच वर्षबाट घटाएर ३० महिनामा सीमित गर्ने बताउनुभएको छ।
- सरकारले शरणार्थीहरूको दीर्घकालीन बसोबासका लागि आवेदन प्रक्रिया २० वर्षसम्म पर्खन लगाउने योजना बनाएको छ।
३० कात्तिक, काठमाडौं । बेलायतमा अब शरण लिन गाह्रो हुने भएको छ। शरणार्थीहरूका लागि सुरक्षामा कटौती गरिने भएको छ र शरण खोज्नेहरूलाई स्वतः प्राप्त हुने सुविधाहरू सम्बन्धी व्यवस्था पनि कटौती गरिएको छ ।
लेबर पार्टी नेतृत्वको सरकारले शनिबार अबेर राति यी नयाँ व्यवस्थाहरू घोषणा गरेको हो। सरकारले अनियमित अध्यागमनलाई कम गर्न र कट्टर दक्षिणपन्थीहरूको सामना गर्ने उद्देश्यले यो घोषणा गरेको स्पष्ट पारेको छ।
एन्टी-इमिग्रेसन रिफर्म यूके पार्टीको बढ्दो लोकप्रियताले सिर्जना गरेको दबाब सामना गर्न प्रधानमन्त्री कियर स्टार्मर यी नयाँ निर्णयमा पुगेको विश्लेषण गरिएको छ ।
गृहमन्त्री शबाना महमूदले भनिन्, ‘म शरणार्थीहरूका लागि बेलायतको गोल्डन टिकट समाप्त गरिदिनेछु।’ यद्यपि, बेलायतको शरणार्थी काउन्सिलका प्रमुखले सरकारलाई चेतावनी दिँदै यी निर्णयहरूले मानिसहरूलाई बेलायत पुग्नबाट नरोक्ने चेतावनी दिएका छन् । साथै, उनले यसमाथि पुनर्विचार गर्न आग्रह गरेका छन्।
शरणार्थी मान्यताको अवधि घटाइने
अहिले रहेको शरणार्थीको मान्यता मानिसहरूलाई पाँच वर्षका लागि मिल्छ, यसपछि उनीहरूले अनिश्चितकालीन बसोबास र अन्त्यमा नागरिकताका लागि आवेदन दिन सक्छन्। तर, महमूदले नेतृत्व गरिरहेको गृह मन्त्रालयले शरणार्थी मान्यताको अवधि घटाएर ३० महिनामा सीमित गर्ने बताएको छ।
यो सुरक्षाको ‘नियमित समीक्षा’ गरिनेछ र शरणार्थीहरू सुरक्षित रहेको पाइएमा उनीहरूको देश फर्कन बाध्य पारिनेछ। मन्त्रालयले यसको उद्देश्य शरण दिइएका शरणार्थीहरूलाई बेलायतमा दीर्घकालीन बसोबासका लागि आवेदन दिनुअघि २० वर्षसम्म पर्खन लगाउनु रहेको बताइएको छ । अहिले उनीहरू पाँच वर्षपछि नै दीर्घकालीन बसोवासको प्रक्रिया अगाडि बढाउन सक्छन् ।
प्रतिक्रिया 4