News Summary
Generated by OK AI. Editorially reviewed.- शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी थिए ।
- विशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिले नै गर्नुपर्ने र हस्ताक्षरलाई प्रेसरको रूपमा लिनुपर्ने ती नेताहरूले बताएका छन्।
- नेता कोइरालाको सचिवालयले विशालनगर छलफललाई अनौपचारिक भनेको छ ।
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको छ ।
काठमाडौंको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको हो ।
कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी थिए ।
कोइरालाले उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि छलफलमा बोलाएका थिए । तर, उपसभापति गुरुङ उपत्यका बाहिर र महामन्त्री शर्मा काम विशेषका कारण छलफलमा उपस्थित हुन नसकेका कोइरालाको सचिवालयले जनाएको छ ।
उनीहरूले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुलाई निकासको उपयुक्त विकल्पका रूपमा अघि सारेका छन् । छलफलमा नेताहरूले विशेष महाधिवेशनमा जाने निष्कर्ष निकाले पनि यसको प्रक्रियामा भने सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।
छलफलमा सहभागी विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेतामध्येका एक देवराज चालिसेले विशेष महाधिवेशनमा जाने विधि र परिणाममुखी बनाउने उपायबारे छलफल भएको जानकारी दिए ।
‘नियमित महाधिवेशनको सम्भावना लगभग टर्दै गयो । अब विशेष महाधिवेशनमै हो जाने,’ उनले भने, ‘यसमा जाने कसरी र टुंग्याउने कसरी, कसरी परिणाममुखी बनाउने भन्ने कुरामै छलफल भयो ।’

नेता चालिसेले विशेष महाधिवेशनका लागि संकलन गरिएको हस्ताक्षरले कार्यकर्तामा देखिएको उत्साहका बारेमा नेता कोइराला र महामन्त्री थापालाई जानकारी गराएको र छलफल उत्साहपूर्ण भएको पनि बताए ।
‘हामीले कार्यकर्ताको उत्साह उहाँहरूलाई अवगत गरायौँ । त्यसमा साझा धारणा बनाउन अनुरोध गर्यौँ,’ उनले भने, ‘त्यही विषयमा छलफल भयो । लगभग लगभग उत्साहजनक रूपमा समापन गर्यौँ । छलफल उत्साहपूर्ण नै रह्यो ।’
नेता चालिसेले हस्ताक्षरकर्ताहरूको भावनालाई सम्बोधन गरेर केन्द्रीय कार्यसमिति बैठकले नै विशेष महाधिवेशनको निर्णय गर्ने विषयमा आफूहरू सहमत भएको पनि दाबी गरे ।
‘हस्ताक्षरकर्ताको भावनालाई सम्बोधन गरेर, माग बमोजिम त्यसको मर्यादा राखेर पार्टीले पनि बोलाउन सक्ने विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउने कुरामा सहमत भयौँ,’ उनले भने, ‘विशेष महाधिवेशनको विषयमा शेखर–गगन एक ठाउँमा आउनुभयो ।’
हस्ताक्षर अभियानको नेतृत्वकर्ताका तर्फबाट छलफलमा सहभागी नेता गुरूराज घिमिरेले पनि नेतृत्व परिवर्तनसहितको विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिले निर्णय गरे आफूहरूलाई आपत्ति नभएको बताए ।
‘केन्द्रीय कार्यसमितिले हामीसँगको समझदारीमा नेतृत्व परिवर्तन गर्ने उद्देश्यसहितको विशेष महाधिवेशन आफैं बोलाउँछ भने त्यसमा हामीलाई आपत्ति छैन,’ उनले भने ।
तर, नेता घिमिरेले केन्द्रीय कार्यसमितिले पार्टीको १५ औँ महाधिवेशन बोलाउँछ भन्नेमा आफूहरू विश्वस्त नभएको पनि जिकिर गरे । ‘अहिले पनि भन्नुपर्दा हामीलाई केन्द्रीय कार्यसमितिले १५ औं महाधिवेशन बोलाउँँछ भन्ने विश्वास छैन,’ उनले भने, ‘त्यसैले विशेष महाधिवेशनको सान्दर्भिकता झन् बढेर भयो । विशेष महाधिवेशनमात्रै यो समस्याको समाधान हो । निकासको एउटामात्रै विकल्प हो ।’
विशालनगरमा सम्पन्न छलफलमा विशेष महाधिवेशनमा जानेबारे कुराकानी भएको घिमिरेले जानकारी दिए । ‘हिजो कुरा के भएको हो भने अब निमित महाधिवेशनको औचित्य लगभग सकिदै गयो । विशेष महाधिवेशनमै जाऔँ । त्यसमा शेखर दाइले केन्द्रीय कार्यसमितिले बोलाओस्, हस्ताक्षरकर्ताको समन्वयमा बोलाओस् भन्नुभयो,’ उनले भने ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको समूह संस्थापन पक्षले नेतृत्व परिवर्तनबाहेकको विषयमा छलफल गर्ने गरी विशेष महाधिवेशन बोलाउनेमा पनि सशंकित देखिन्छ ।
‘उहाँहरू (संस्थापन) ले मात्रै बोलाउँदा नेतृत्व नछान्ने बाँकी छलफल गर्ने सोचाइ बनाएर नीति महाधिवेशन बोलाउनु सक्नुहुन्छ,’ नेता घिमिरेले भने, ‘अब नीति महाधिवेशन गर्ने समय छैन । नेतृत्व बदल्नेबाहेकको अरू भेलाको पनि औचित्य छैन ।’
नेता कोइरालाको सचिवालयले विशालनगर छलफललाई अनौपचारिक भनेको छ । ‘सहमति गर्न राखेको मिटिङ होइन,’ डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘कसरी जाने, समस्याको गाँठो कसरी फुकाउने भनेर गरेको अनौपचारिक छलफल हो ।’
उनले नेता कोइराला आजका मितिमा पनि नियमित महाधिवेशनको पक्षमै रहेको बताए । पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने पक्षमा कोइराला रहेका थपलियाको भनाइ छ ।
‘उहाँ अहिले पनि नियमित महाधिवेशनको पक्षमा हुनुहुन्छ । किनभने चार वर्षभन्दा बढी लम्ब्याउनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘त्यस कारणले नियमित महाधिवेशन गर्नुपर्छ । मंसिरभरि क्रियाशील सदस्यताको समस्या समाधान गरेर पुसको अनितम सातासम्म भए पनि अधिवेशन सक्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’
छलफलमा नेता कोइरालाले हस्ताक्षरमार्फत् विशेष महाधिवेशनमा जाँदा पार्टी फुट्ने आशंका गर्दै नियमित सम्भव नभए केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् ।
‘विशेष महाधिवेशन पक्षधरको भनाइ हस्ताक्षरमार्फत् जाने भन्ने छ । हस्ताक्षरमार्फत् भोलि भेरिफिकेसनको कुरा उठ्छ, त्यतिबेला पार्टी टुक्रिन सक्छ । त्यसकारण हस्ताक्षरलाई प्रेसरको रूपमा लिउँ,’ कोइरालाको धारणाबारे छलफलमा सहभागी एक नेताले भने, ‘विशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितले नै गर्नुपर्छ । विशेष महाधिवेशनमा जाँदा हस्ताक्षरमार्फत् होइन कि केन्द्रीय कार्यसमितिले निर्णय गरेर जानुपर्छ भन्ने कुरा दाइको लाइन हो ।’
प्रतिक्रिया 4