+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

बिहारमा फेरि नितिश राज : गठबन्धन फेर्दै बन्छन् पटकपटक मुख्यमन्त्री

आफू र आफ्नो पार्टीलाई सत्तामा टिकाइरहन गठबन्धन बदलिरहने नितिश अर्थात् पल्टुरामले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने चरितार्थ गरेका छन् ।

विशाल सापकोटा विशाल सापकोटा
२०८२ मंसिर ४ गते २३:३०

४ मंसिर, काठमाडौं । भारतको बिहारमा नितिशकुमार बिहीबार मुख्यमन्त्री नियुक्त भए । पटनाको ऐतिहासिक गान्धी मैदानमा जनता दल युनाइटेड (जेडीयू)का अध्यक्ष नितिशले किर्तिमान कायम गर्दै १०औं पटक मुख्यमन्त्री पदको शपथ लिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विभिन्न प्रदेशका मुख्यमन्त्रीसहित उच्चपदस्थले शपथ समारोहमा उपस्थिति जनाउँदै नितिशलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री मोदीले शपथपछि सामाजिक सञ्जालमा पोस्ट गरेर नितिशलाई बिहारको कुशल प्रशासक भन्दै शुभकामना दिएका छन् ।

विपक्षीले ‘पल्टुराम’ उपमा दिएपनि जनस्तरमा निर्विवादित छवि बनाएका नितिशलाई बिहारका महिला, दलित र पिछडिएका वर्गले यसपटक पनि बलियो समर्थन दिएको देखिन्छ ।

७४ वर्षीय नितिश यसपटक दुई तिहाइ बहुमतसहितको मुख्यमन्त्री बनेका छन् । एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जित्दै बिहारमा यसपटक किर्तिमानी जित दर्ज गरेको छ ।

पटनाको ईलेक्ट्रिकल ईन्जिनियरिङ छात्र नितिशको राजनीति यात्रा रोचक छ । आफू र आफ्नो पार्टीलाई सत्तामा टिकाइरहन गठबन्धन बदलिरहने नितिश अर्थात् पल्टुरामले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने चरितार्थ गरेका छन् ।

नेपालको सीमावर्ती क्षेत्र बिहारमा फेरि मुख्यमन्त्री नियुक्त भएका नितिशकुमारलाई डिकोड गरौं ।

नितिशको पृष्ठभूमि

सन् १९५१ मार्च १ मा पटनाको बख्तियारपुरमा जन्मिएका हुन् नितिश । ४ भाई–बहिनीमध्ये नितिश सबभन्दा कान्छा हुन् । उनको पुख्र्यौली गाउँ नालन्दा जिल्लाको कल्याण बिघा हो ।

नितिशकुमारको जीवनीमा आधारित पुस्तक– ‘नितिश कुमार : अन्तरंग दोस्ती की नजर से’ अनुसार उनका पिता राम लखन सिंहले आफ्नो क्षेत्रमा वैद्यका रूपमा ख्याती कमाएका थिए ।

नितिशका पिता स्वतन्त्र सेनानी र कंग्रेस आईका कर्मठ नेता समेत थिए । नितिशका पिता राम लखन सिंहले पनि सन् १९५२ अघिको आम चुनाव लडेको बताइन्छ ।

कतिपय सन्दर्भ सामग्रीमा भने कंग्रेस आईबाट टिकट नपाएपछि नितिशका पिता लखनलाई चुनावी राजनीतिबाट मोहभंग भएको उल्लेख छ । नितिशकी आमा परमेश्वरी देवी भने गृहणी र खेतीको काम गर्थिन् ।

पढाइमा अब्बल नितिशकुमारलाई परिवारले इलेक्ट्रिकल ईञ्जिनियर अध्ययनका लागि बिहारकै पटनास्थित ईञ्जिनियरिङ कलेजमा भर्ना गराए ।

कलेजबाटै उनी विद्यार्थी राजनीतिकमा सक्रिय भएका थिए । तत्कालीन कंग्रेस आईले सरकारविरुद्ध गरेको आन्दोलनमा नितिश पनि सहभागी भए ।

राजनीतिमा नितिशको बढ्दो सक्रियतासँगै १९७२ मा बिहार ईञ्जिनियरिङ कलेज स्टुडेन्ट्स यूनियनको अध्यक्ष चुनिए ।

नितिश कुमारले राँचीमा प्रशिक्षार्थी ईञ्जिनियरको जागिर पाए । त्यतिबेला जयप्रकाश नारायण (जेपी) को नेतृत्वमा आन्दोलन सुरु भएको थियो ।

बेलायती उपनिवेशवादको विरुद्धमा भएको आन्दोलनमा विद्युत विभागको जागिर छाडेर नितिश पनि होमिए ।

जेपी नेतृत्वको सबै क्रान्ति आन्दोलनमा नितिशले कलेज बहिस्कार गरेर विद्यार्थीहरूलाई सहभागी गराए । आपतकाल घोषणापछि जेपीसहितका थुप्रै नेता गिरफ्तार भएपछि नितिश भूमिगत भए ।

जुन १९७६ मा नितिशलाई प्रहरी गिरफ्तार गर्‍यो । करिब ९ महिना उनी जेल बसे । बिहारका राम मनोहर लोहिया, सत्येन्द्र नाथ सिन्हा, कर्पूरी ठाकुर र वीपी सिंह जस्ता तत्कालीन समाजवादी युवा नेताहरूसँग जोडिए उनी ।

लालु यादव र नितिशकुमारको युवा जोडीले प्रशंसा पाएको बेला थियो त्यो । बिहार विधानसभामा लालू यादवलाई विपक्षीको बलियो नेता बनाउनसम्म नितिशकै अहंम भूमिका थियो ।

नितिशको चुनाव यात्रा

सन् १९७७ मा भएको बिहार विधानसभा चुनावमा जनता दलबाट उम्मेदवार बने । जेपी आन्दोलनसँग जोडिएका नेताहरू यही दलको छातामुनी थिए । कंग्रेस विरोधी माहोलकाबीच नालन्दाको हरनौत विधानसभा सिटमा उम्मेदवार बनेका नितिश कंग्रेस प्रत्यासी भोला प्रसादसँग पराजित भए ।

सन् १९८० मा पुनः हरनौत विधानसभाबाट चुनाव लडेका नितिश ५ हजार भोटले हारे । सन् १९८५ मा सोही विधानसभाबाट ‘गर वा मर’ को स्थितिमा चुनाव लडेका नितिश २२ हजार भोटसहित विजयी भए ।

सन् १९८९ मा बाढ र नालन्दा गरी दुई क्षेत्रबाट लोकसभा चुनाव लडेका उनी बाढमा भने पराजित भए ।

त्यसयता नितिशले प्रत्यक्ष विधानसभा चुनावमा उम्मेदवारी दिएका छैनन् । उनी विधान परिषद्को सदस्य हुँदै सत्ताको केन्द्रमा रहिरहे । बिहारमा राज्यपाल (प्रदेश प्रमुख) वा विधानसभा सदस्यहरूले मनोनित गर्ने कोटाबाट विधान परिषद् सदस्य बन्दै आएका छन् ।

१९९० मा जनता दलबाटै लालु यादव मुख्यमन्त्री बने भने नितिश त्यतिबेला छाया मुख्यमन्त्रीको भूमिकामा थिए । सन् १९९० देखि २००५ सम्मको लालु यादवको शासनकाललाई जंगलराज भनेर टिप्पणी गरिन्छ ।

कमजोर शासन, सामाजिक अव्यवस्था, हत्या, अपहरण, चोरी डकैतीका शृङ्खला बिहारमा चरम सीमामा थियो । लालुको कमजोर शासनको परिणाम नेपालका सीमावर्ती क्षेत्रमा समेत देखिन्थ्यो ।

सीमापार अपहरण, हत्या जस्ता नियती नेपालीले पनि भोग्नुपर्‍यो । कछुवा गतिको विकास र कूशासनले बिहारमा लालु सरकारप्रति असन्तुष्टि बढाउँदै गएको थियो ।

यतिबेलासम्म लालु र नितिशबीच वैचारिक मतभिन्नता सुरु हुन थालिसकेको थियो । त्यसताका जनता दलमा फुट सुरु भयो । भाजपाका जर्ज फर्नान्डिजले सन् १९९४ मा समता पार्टी गठन गरे । नितिश पनि समता पार्टीमै सामेल भए ।

जनता दल फुटाएर लालु यादवले भने सन् १९९७ मा राष्ट्रिय जनता दल (आरजेडी) गठन गरे ।

अटल बिहारी वाजपेयी नेतृत्वको सन् १९९८–१९९९ सरकारमा नितिश रेल मन्त्री बने । रेलमन्त्री हुँदा नितिशले रेल काउन्टर संख्यामा वृद्धि गरे तत्कालै स्कीम समेत सुरु गरेका थिए ।

सडक विस्तारदेखि मदिरा प्रतिबन्धसम्म

सन् २००५ अघिसम्म बिहारमा सडक विस्तार वा स्तरोन्नति, विद्युतीकरण, खानेपानीको वितरण असमान र ठप्पप्रायः थियो ।

भारतकै सबभन्दा गरिब राज्यका मुख्यमन्त्री बनेका नितिशले यिनै कुरामा सुधार ल्याए । नितिशले ग्रामिण सडकको विस्तारमा जोड दिए ।

फलतः २००५ अघिसम्म १४ हजार किलोमिटर हाराहारी सडक रहेको बिहारमा नितिशको शासनकालमा झण्डै दोब्बर २६ हजार किलोमिटर सडक विस्तार भयो । विशेषतः सन् २००५ पछि ६४ हजार किलोमिटर ग्रामिण सडक विस्तार भएको छ ।

यसबीच बिहारका धेरै गाउँमा विद्युतीकरण भयो । भौतिक पूर्वाधारमा तीव्रताका साथ भएको विकासले नितिशप्रति जनसमर्थन बढ्दै गयो । सन् २०१६ को अप्रिलमा बिहारमा मदिरा उत्पादन, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइयो ।

२ अक्टोबर २०१६ मा ‘बिहार निषेध तथा मदिरा कर ऐन, २०१६’ जारी गर्दै मदिरामाथिको प्रतिबन्ध थप कडा पारियो । नितिशले चुनाव प्रचारकै दौरान महिलाहरूसँग मदिरामाथि प्रतिबन्ध लगाउने बाचा गरेका थिए ।

प्रतिबन्ध नै घोषणा गरेपछि महिला र युवा उमेर समूहमा नितिशको प्रशंसा झन् बढ्न थाल्यो । यद्यपि प्रतिबन्धले बिहारमा झन् मदिरा तस्करी बढेको छ भने विषाक्त मदिराका कारण मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

गरिब राज्य बिहारमा अधिकांश घरेलु हिंसा, आपराधिक घटनामा मदिरा मुख्य जड थियो । मदिरामाथिको प्रतिबन्धले नितिशको निकै प्रशंसा भयो ।

दीर्घकालीन योजनाबिनै मदिरा प्रतिबन्ध गरेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । अवैध मदिराको बिक्री वितरणले प्रहरी र कर्मचारी भ्रष्ट हुँदै गएका छन् ।

नितिशले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा पनि जनमत रिझाउने काम गरे । विद्यार्थीहरूलाई छात्रवृत्ति, साइकल योजना, पोशाक वितरण जस्ता कार्यक्रम सुरु गरेर विद्यालय छाड्ने विद्यार्थीको संख्या घटाए । तथापि बिहारका सरकारी विद्यालय, विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर खासै सुधारिएको छैन ।

बालिका शिक्षा प्रोत्साहन कार्यक्रम, पिछडिएका र दलित वर्गलालाई आरक्षण तथा विभिन्न कल्याणकारी योजनाहरूमा समेटेर नितिशले जनमतको आधार बलियो बनाएको देखिन्छ । सामुदायिक स्वास्थ्य केन्द्रहरूको संख्या बढाउँदै लगे पनि ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरूको अवस्था दयनीय छ ।

राज्यमा रोजगारी सिर्जनामा नितिशले पनि उल्लेख्य प्रगति गर्न सकेनन् । बिहारका युवाहरू अझै पनि अन्य राज्य र वैदेशिक रोजगारीमा जान बाध्य छन् । औद्योगिकरणको नीति अवलम्बन नगर्दा बेरोजगारीको समस्या उस्तै छ । बिहार उत्तरी क्षेत्र वर्षेनी बाढीको चपेटमा पर्दै आएको छ । बाढी नियन्त्रणमा अर्बौं खर्च गर्दा पनि दिगो समाधान खोज्न नसकेको भन्दै नितिशको आलोचना हुने गर्छ ।

गठबन्धन फेरबदल गरिरहने कारण राजनीतिक वृत्तमा पल्टुरामको उपमा दिइएपनि जनमत रिझाउन भने नितिश अझै सफल देखिए ।

नितिशलाई किन भनिन्छ ‘पल्टुराम’ ?

सन् २००० मा नितिशकुमार पहिलो पटक बिहारको मुख्यमन्त्री बने । तर, बहुमत नपुग्दा ६ दिनमै राजीनामा दिनुपर्‍यो ।

समता पार्टीमा बिग्रहका बीच शरद यादवको जनता दलसँग एकीकरण गरी नितिशले २००३ मा जनता दल यूनाइटेड (जेडीयू) गठन गरे । सन् २००१ देखि २००४ सम्म नितिश कृषिमन्त्री बने ।

२००४ मा उनले नालन्दा लोकसभा सिटमा चुनाव जिते तर, अटल बिहारी वाजपेयीको सरकार ढल्यो ।

२४ नोभेम्बर २००५ मा नितिशले दोस्रो पटक मुख्यमन्त्री पदको शपथ लिए । बिहारमा पहिलो पटक भाजपा र जेडीयू गठबन्धनले पूर्ण बहुमतसहित सरकार बनायो । भारतीय जनता पार्टी (भाजपा) र जनता दल यूनाइटेड (जेडीयू)को गठबन्धनले लालु यादव १५ वर्षे शासन अन्त्य गर्‍यो ।

पहिलो पटक मुख्यमन्त्री बनेका नितिशले बिहारमा खस्कँदो कानुनी शासन (जंगलराज), हत्या, अपहरण, चोरी डकैती नियन्त्रणका लागि आम्र्स एक्ट लागू गरे । नरसंहार जस्ता मामिला जाँचका लागि फास्ट ट्र्याक कोर्ट गठन गरे ।

नक्सलीविरुद्ध लड्न विशेष सैन्य दल बनाए । अति पिछडिएका वर्गलाई समेट्न पञ्चायत चुनावमा ५० प्रतिशत महिला सहभागीता अनिवार्य गरिनुलाई नितिशको ‘मास्टरस्ट्रोक’ मानिन्छ ।

जितनराम माँझीको ९ महिने कार्यकालबाहेक हेर्ने हो भने नितिश झण्डै २० वर्षदेखि लगातार मुख्यमन्त्री पदमा छन् ।

बिहारमा बिहीबार पुनः मुख्यमन्त्रीको पदको शपथ लिएका नितिशलाई कहिले दुई फरक विचाधारा भएका भाजपा र लालु यादवको राष्ट्रिय जनता दल (आरजेडी)सँग गठबन्धन गरी सत्तामा टिकिरहेको भन्दै आलोचकले पल्टुराम भन्ने गर्छन्, जसको पृष्ठभूमि रोचक छ ।

सन् २०१० को बिहार विधानसभा निर्वाचनमा भाजपा र जेडीयूले पुनः बहुमत हासिल गर्‍यो, नितिश तेस्रो पटक मुख्यमन्त्री बने । सन् २०१३ मा नितिशले भाजपासँगको १७ वर्षे गठबन्धन तोडे । तर, सन् २०१४ मा लोकसभा चुनावमा जेडीयूको खराब प्रदर्शन रह्यो ।

पार्टीको अस्वाभाविक हारलाई कारण देखाउँदै मुख्यमन्त्री पदबाट राजीनामा दिए । त्यो साल जितन राम माँझी मुख्यमन्त्रीमा नियुक्त भए ।

सन् २०१५ मा भाजपासँग जितन राम माझी नजिक भएका कारण जेडीयूमा नितिशकुमारलाई पुनः मुख्यमन्त्री बनाउने दबाब बढ्यो ।

त्यसबेला लालु यादवको राष्ट्रिय जनता दल (आरजेडी) को समर्थनमा २२ फेब्रुअरी २०१५ मा पुनः नितिश चौंथो पटक मुख्यमन्त्री बने ।

तर, त्यसको दुई वर्षपछि सन् २०१७ मा नितिशकुमारले लालु यादवको आरजेडीसँगको गठबन्धन तोडे र भाजपा, जितन राम माझी लगायतका साना दलसमेत रहेका राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मै फर्किए र छैंठौ पटक मुख्यमन्त्री चयन भए ।

नितिशले कहिले आरजेडी र कहिले एनडीए गठबन्धनमा हेरफेर गरिरहे । सन् २०२० मा नितिश एनडीए गठबन्धनबाट सातौं पटक मुख्यमन्त्री बने ।

तर, सन् २०२२ मा आरजेडीसँग मिलेर नितिश ८औं पटक मुख्यमन्त्री बने भने २०२४ मा आरजेडीसँग गठबन्धन तोडेर भाजपा र जेडीयू गठबन्धनबाट ९औं पटक मुख्यमन्त्री बने ।

बिहीबार पटनाको गान्धी मैदानमा १०औं पटक मुख्यमन्त्रीको शपथ लिएसँगै नितिशकुमार किर्तिमान कायम गरेका छन् ।

यो पाँच वर्षे कार्यकाल बिना अवरोध पूरा भए भारतको इतिहासमै नितिश सर्वाधिक लामो समय मुख्यमन्त्री बन्ने सूचीको अग्रस्थानमा आउनेछन् ।

लेखक
विशाल सापकोटा

अनलाइनखबरका सह सम्पादक सापकोटा राजनीति, अन्तर्राष्ट्रिय मामिला र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?