३ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विगतमा मुलुकलाई हर क्षेत्रमा लुटिएको र ठगिएको बताएका छन् ।
सार्वजनिक खरीद अनुगमन कार्यालयको आठौं स्थापना दिवसको अबसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भएपनि भ्रष्ट्राचार नरोकिएको बताए । उनले भने-‘मुलुकमा कति काण्ड भए । सजाय कसैलाई भएन । खरिदार, मुखिया र उपसचिव जस्ता तल्लो तहका कर्मचारीलाई कारवाही गरेर झारा टारियो ।’
सार्क सम्मेलन आउन लाग्यो । बत्ति छैन । उसैलाई थप बिद्युत देऊ भनेर गुहार माग्नु परेको छ । तर, नेपालमा उत्पादित बिजुली पैसा तिरेर किन्छु भनेर आउँदा हामीकहाँ शंका हुन्छ ।
मुलुक बदल्ने अठोट लिएका मन्त्रीहरु पनि बहकिएर भ्रष्ट्राचारमा फसेको भन्दै उनले भने-‘प्रजातन्त्रको लडाई सुख सयल, घर बंगलाको लागि हैन, देश र जनताको कल्याण गर्न सकिएला भनेर हो ।’ प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार दुई तिहाइ बहुमतले निर्वाचित भएको भन्दै केही काम गरेरै देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘मैले ठूलो कमिटमेण्ट लिएर आएको छु, पूरा गरेरै छोड्छु’-उनले भने ।
प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुले सही र सत्य कुरामा अडेर नियमानुसार काम गरेमा मुुलुक बन्न समय नलाग्ने बताए । उनले-‘कर्मचारी भनेको मन्त्रीको दास होइन । व्यवसायिक रुपले काम गर्नुस् । नियम कानुनले मिल्दैन भने गलत काम गर्न बाध्य नपार्नुस् भनेर जिद्धि पनि गर्नुहोला ।’
नेपाललाई तल पारेर कुनै सम्झौता गर्दिन
प्रधानमन्त्री कोइरालाले भारतले सहयोगको हात बढाएको भन्दै भने-‘नेपाललाई तल पारेर म कुनै सम्झौता गर्दिन । तर, राष्ट्रिय हितका लागि समानताका आधारमा गरिने संझौता गरेरै छाड्छु ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धको जन्मभूमि नेपालको नाम लिएर भारतमा पनि शान्ति र अहिंसाको सन्देश फैलाएको भन्दै कोइरालाले भने-‘हामीले किचकिच गर्नुभन्दा के गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ ।’ दुवै मुलुकको हित हुने गरी काम गर्न सकिने भन्दै काइरालाले कुनै पनि नेपालीको टाउको निहुर्याउने काम नगर्दिने प्रतिवद्धता जनाए ।
जलस्रोतको अपार सम्पदा भएको मुलुकमा लोडसेडिङको समस्या रहेको भन्दै कोइरालाले भने-सार्क सम्मेलन आउन लाग्यो । बत्ति छैन । उसैलाई थप बिद्युत देऊ भनेर गुहार माग्नु परेको छ । तर, नेपालमा उत्पादित बिजुली पैसा तिरेर किन्छु भनेर आउँदा हामीकहाँ शंका हुन्छ । कस्तो हृयुमिलियटिङ्ग अवस्था छ ।’