News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरास्थित नेपाल राष्ट्रिय माविका शिक्षकले जेनजी आन्दोलनपछि विद्यार्थीले स्कुल जलाउने धम्की दिन थालेको गुनासो गरेका छन्।
- मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाले जेनजीको उमेर समुहमा हुने संवेग नियन्त्रण गर्न सबैले अभिभावकीय भूमिका निभाउन आग्रह गरेका छन्।
- जेनजी आन्दोलनले उद्योग व्यवसाय र पर्यटन क्षेत्रमा नराम्रो असर पारेको भन्दै स्थानीय व्यवसायीले प्रहरीको भूमिका कमजोर भएको गुनासो गरेका छन्।
८ मंसिर, बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माविका शिक्षकले जेनजी आन्दोलन पछि विद्यार्थीले स्कुल जलाउने धम्की दिन थालेको गुनासो गरेका छन् ।
सोमबार ईलाका प्रहरी कार्यालय सिमरामा मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको उपस्थितीमा आयोजित प्रहरी–स्थानीय अन्तरक्रिया कार्यक्रममा बोल्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १०+२ इन्चार्ज डम्बर खड्काले जेनजी आन्दोलनपछि विद्यार्थीसँग शिक्षक डराउनुपर्ने अवस्था बनेको गुनासो गरे ।
‘जेनजीको उमेर समुहलाईनै हामीले पढाउनुपर्छ, विद्यार्थीलाई कक्षा कोठामा पढाउँदा पनि डराउनुपर्ने अवस्था बनेको छ,’ खड्काले प्रहरी प्रमुख थपलियासँगको अन्तरक्रियामा भने ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयमा दुईसाता अघिको एउटा घटना सम्झँदै शिक्षक खड्काले एउटा विद्यार्थीका कारण एकजना अंग्रेजीको पुराना शिक्षकले जागिरै छाडेको बताए ।
‘वीरगञ्जबाट हामीकहाँ पढाउन आउने एकजना शिक्षकले स्कुलै छोड्नुभो,’ उनले भने । यसैबर्ष ११ मा भर्ना भएको एउटा विद्यार्थीलाई पढाईका विषयमा सम्झाउँदा स्कुलै जलाईदिने क्षमता आफूसंग भएको धम्की विद्यार्थीले दिएको खड्काको भनाइ छ ।
‘कोठा नम्बर १० मा बस्नुपर्ने विद्यार्थी ९ मा गएछ, ९ को शिक्षकले कोठा नम्बर १० मा पठाउनु भो त्यतिकैमा विद्यार्थी रिसाएर ढोका पनि फुटाइदिएछ, मैलेपनि पछि थाहा पाएँ, शिक्षकसँग रिसाएर उक्त विद्यार्थीले स्कुलै जलाउने धम्की दिएछ । अहिले उक्त शिक्षक वीरगञ्जमै बस्नुहुन्छ पढाउन बोलाउँदा त्यहाँको वातावरण खराब छ भन्नुहुन्छ,’ शिक्षक खड्काले कार्यक्रममा भने ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले भदौ २३ पछि यहाँको व्यावसायिक वातावरण बिग्रिएको भन्दै औद्यागिक तथा व्यावसायिक सुरक्षाका लागि प्रहरीले राम्रो भूमिका नखेलेको गुनासो गरे ।
‘जेनजी आन्दोलनले सबै उद्योग व्यवसाय र खासगरी पर्यटन क्षेत्रलाई नराम्रो असर पारेको छ, सुरक्षा निकायले त्यसलाई ध्यान दिएको देखिन्न,’ उनले भने । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलियाले हरेक व्यक्ति समस्या लिएर सडकमा आउने प्रवृतिको अन्त्य गर्न समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
गएको बुधबार सिमरामा भएको जेनजी आन्दोलनको कारण र अवस्था बुझ्न सिमरामा स्थानीयसँग भएको छलफलमा डिआईजी थपलियाले जेनजीको उमेर समुहमा हुने संवेगलाई नियन्त्रण गर्न सबैले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरे ।
‘जेनजीको उमेर समुहमा रहने संवेगलाई नियन्त्रण गर्न सबैले आफ्नो भूमिका राम्रोसंग निभाउन आवश्यक छ,’ डिआईजी थपलीयाले भने ।
भदौ २३ को घटनापछि युवामा बढेको आक्रोशलाई अरूले दुरुपयोग गर्ने सम्भावना बढेको डिआईजी थपलियाको भनाइ थियो ।
‘भदौ २३ मा युवाको डिमाण्डनै नभएको अवस्था सिर्जना भयो नि, त्यसरीनै हरेक भीडलाई अनियन्त्रित बनाउने चलखेल भईरहन्छ,’ उनले भने ।
‘जेनजी भनेका हामी सबैका कसैका भाइ कसैका भतिजा छोराहरू हुन्, हामीले उनीहरूलाई नियन्त्रित भएर आफ्ना कुरा राख्न सिकाऔं,’ उनले सरोकारवालालाई आग्रह गरे ।
कार्यक्रममा स्थानीय व्यवसायी, शिक्षा क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी तथा उद्योगहरूका प्रतिनिधि, पत्रकार र संघसंस्थाका प्रमूखहरूले कार्यक्रममा पछिल्लो अवस्थाका विषयमा आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया 4